
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक आज मिर्गौला प्रत्यारोपण हुँदैछ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण हुन लागेको हो। प्रत्यारोपणका सम्पूर्ण तयारी पूरा भइसकेको चिकित्सकहरुले जनाइसकेका छन्।
शिक्षण अस्पतालमा प्रा. डा. प्रेमराज ज्ञवालीको नेतृत्वको टोलीले ओलीको मिर्गौला प्रत्यारोपण गर्नेछ। प्रत्यारोपणका लागि आवश्यक पर्ने औषधि मंगलबारदेखि नै दिइएको छ।
यस्तै प्रत्यारोपण अघिका सम्पूर्ण स्वास्थ्य जाँच पनि सकिएको छ। जाँचमा प्रधानमन्त्रीको स्वास्थ्य राम्रो रहेको र निरन्तर विशेषज्ञ चिकित्सककै निगरानीमा रहेको जनाइएको छ।
प्रत्यारोपणमा सहयोग पुर्याउन भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालबाट पनि चिकित्सक आइसकेका छन्। एपोलोमा पहिलो पटक प्रधानमन्त्री ओलीले २०६४ सालमा मिर्गौला प्रत्यारोपण गरेका थिए।
बिहान ९ बजेदेखि ओलीको मिर्गौला प्रत्यारोपणको काम सुरु गर्ने तयारी चिकित्सकहरुको छ। ओलीलाई नाता पर्ने भाञ्जीले मिर्गौला दिन लागेकी हुन्।
मिर्गौला प्रत्यारोपणको तयारी गत मंसिरबाटै गरे पनि स्वास्थ्यमा आएका अन्य समस्याले ढिलाइ भएको थियो। प्रधानमन्त्रीले सम्पूर्ण आन्तरिक तयारी पूरा यही सातामात्र पार्टी सचिवाललाई प्रत्यारोपणको तयारीबारे जानकारी गराएका थिए।
सो जानकारी अनुसार सोमबारदेखि प्रधानमन्त्री अस्पताल भर्ना भएका हुन्। चिकित्सकहरुको परामर्श अनुसार नै आज प्रत्यारोपण गर्न लागिएको हो।