
काठमाडौँः राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यहरुको आज पद तथा गोपनीयताको शपथ हुँदैछ। संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे शपथ हुनेछ। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदस्यहरुलाई शपथ गराउनेछन्।
राष्ट्रियसभाका एक चौथाइ सदस्यहरुको मंगलबार बिदाइ भएको थियो। दुई वर्षको कार्यकाल पूरा गरेका १९ सदस्यको बिहीबार बिदाइ भएको हो।
माघ ९ गतेको निर्वाचनबाट निर्वाचित १८ सदस्यको शपथ भए पनि सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने एक सदस्यको स्थान रिक्त नै छ। सरकारले सदस्य सिफारिस गरिसकेको छैन। सत्तारुढ दलभित्रको आन्तरिक विवादका कारण सदस्य सिफारिस नभएको हो।
बुधबार प्रदेश १ बाट निर्वाचित इन्दिरा देवी गौतम, गोपीबहादुर सार्की अछामी र देवेन्द्र दाहालको शपथ हुनेछ। यस्तै, प्रदेश २ बाट निर्वाचित तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, शेखरकुमार सिंह, र मृगेन्द्रकुमार सिंह यादवको पनि शपथ हुनेछ।
यस्तै बागमती प्रदेशबाट निर्वाचित गंगाकुमारी बेल्वासे, बेदुराम भुसाल तथा गण्डकीबाट निर्वाचित नारायणकाजी श्रेष्ठ र भगवती न्यौपानेको पनि शपथ हुनेछ।
यस्तै, प्रदेश ५ बाट निर्वाचित विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई तथा कर्णालीबाट निर्वाचित सुमित्रा विसी र मायाप्रसाद शर्माले पनि शपथ ग्रहण गर्नेछन्।
यस्तै, सुदूरपश्चिम प्रदेशबाट निर्वाचित शारदादेवी भट्ट र तारामान स्वाँरको पनि शपथ हुनेछ।
माघ ९ मा भएको निर्वाचनमा १८ मध्ये १६ सिटमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जित हासिल गरेको थियो। यस्तै, दुई सिट राष्ट्रिय जनता पार्टी (राजपा) ले जितेको थियो। प्रदेश २ का चार सिटमध्ये नेकपा र राजपाले दुई/दुई सिट जितेका थिए। जहाँ दुई दलबीच चुनावी तालमेल भएको थियो।