
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीको आज मिर्गौला प्रत्यारोपण हुँदैछ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि सोमबारदेखि भर्ना भएका छन्।
यसबीचमा प्रधानमन्त्रीलाई भारतीय समकक्षी नरेन्द्र मोदी, भुटानका प्रधानमन्त्री डा लोट्टी छिरिङले सफल शल्यक्रियाको कामना गरेका छन्। यस्तै नेपालका लागि जापानी राजदूत मासामिची साइगोले पनि ओलीको सफल मिर्गौला प्रत्यारोपणसहित शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
प्रत्यारोपणका दिन शिक्षण अस्पताल परिसरमा शुभेच्छुकहरु आउने क्रम जारी छ। नेपाल सरकारका मन्त्रीहरु वसन्तकुमार नेम्वाङ, पार्वत गुरुङलगायत शिक्षण अस्पताल पुगेका छन्।
यस्तै नेकपा निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियुले अस्पताल परिसरमा ‘गेट वेल सुन पिएम’ लेखिएका प्लेकार्डसहित उपस्थित भएका छन्। अस्पताल परिसरमा विद्यार्थीहरु लामवद्ध भएर बसेका छन्।
अन्य शुभेच्छुकहरुको उपस्थिति बढ्दो क्रममा छ।