PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

एसियाली मुलका नागरिकमाथि पश्चिमा मुलुकमा किन फैलिँदै छ 'सिनोफोविक' आक्रमण?



विधुर ढकाल

एसियाली मुलका नागरिकमाथि पश्चिमा मुलुकमा किन फैलिँदै छ 'सिनोफोविक' आक्रमण?

काठमाडौं : चीनबाट सुरु भएको कोरोना भाइरसको प्रकोप अहिले विश्वभर फैलिँदै गएको छ। कोरोना भाइरसको संक्रमण फैलिँदै जाँदा युरोपेली मुलुकमा चिनियाँ मुलका नागरिकमाथि आक्रमणका घटना बढ्न थालेका छन्।

लण्डनको महानगरीय प्रहरीले नश्लीय ढंगबाट सिंगापुरका विद्यार्थीमाथि अनुसन्धान गरिरहेको छ। सिंगापुरका एक विद्यार्थीमाथि एक समूहले आक्रमण गरेको छ। कोरोना भाइरसकै कारण उनीमाथि आक्रमण भएको हो।

टोटन ह्याम अदालत रोड स्टेसनस्थित अक्सफोर्ड सडक नजिकै फेब्रुअरी २३ साँझ सवा ९ बजे एक समूहले आक्रमण गर्‍यो। २३ वर्षीय विद्यार्थीको मुखमा चोट लागेको छ। प्रहरीले पीडितको बारेमा सार्वजनिक नगरे पनि लण्डनमा दुई वर्षदेखि अध्ययन गरिरहेका जोनाथन मोकले फेसबुकमार्फत मार्च ३ मा दुई वटा फोटो सार्वजनिक गरे। उनले पोस्ट गरेका दुई तस्विरमा चिनियाँ मुलका देखिने ती विद्यार्थीका मुखमा चोट प्रस्ट रुपमा देखिन्छ।

उनीमाथि आक्रमण हुँदा उनले नजिकै हेरे। कसैले भनिरहेको थियो 'कोरोना भाइरस'। त्यो मानिस चिच्यायो, 'मलाई नहेर।' अनि मुखमा मुक्का बर्सायो। 

पीडितको मुहारमा अर्को मुक्का बजार्नु अगाडि अर्को एक जना चिच्यायो, 'म तेरो कोरोना भाइरस मेरो देशमा चाहन्न्।' यो समूह प्रहरी घटनास्थलमा आइपुग्नु अगाडि भागिसकेको थियो।

प्रहरीले हालसम्म कुनै पनि व्यक्ति पक्राउ गर्न सकेको छैन। उनको मुखको शल्यक्रिया गर्न चिकित्सकहरुले सुझाव दिएका छन्।

'किन कोही एक जना छालाकै रंगका कारणले दुर्व्यवहारको सिकार बन्नुपर्छ, चाहे त्यो मौखिक होस या शारीरिक? म माथि कसैले नश्लीय टिप्पणी गर्दा म किन चुप बस्नुपर्ने?' मोकले फेसबुकमा प्रश्न गर्दै लेखेका छन्, 'नश्लीयता मूर्खता होइन्, यो घृणा हो। नश्लीय चिन्तन बोकेकाहरुले घृणा बोकेकै कारण माफी पाइरहेका हुन्छन् र अहिले कोरोना भाइरसकै कारण माफीको लागि अर्को बहाना भेटेका छन्।'

उनी मात्र होइन पछिल्लो समय नश्लीय चिन्तन युरोप र पश्चिमा मुलुकहरुमा हावी हुँदै गएको छ। रोमको आइकोनिक ट्रेभी फाउन्टेन अगाडिको सिसाको ढोकामा चिनियाँ तथा अंग्रेजी भाषामा लेखिएको छ, 'अन्तर्राष्ट्रिय सुरक्षा संवेदनशीलताका कारण चीनबाट आउने सबैलाई प्रवेशमा रोक लगाइएको छ।'

युरोपका अधिकांश होटेलहरुमा एसियाली मुलुकबाट मुख्यतया चीनका नागरिकलाई प्रवेश दिइएको छैन। इटालीको रोममा एउटा सानो व्यवसाय सञ्चालन गरिरहेकी चिनियाँ महिला १० वर्षदेखि चीन गएकी छैनन्। तर, पनि उनलाई शंकाकै दृष्टिमा हेर्ने गरिएको छ। '१० वर्षदेखि म चीन गएकी छैन। तर, पनि मानिसहरु हामीसँग डराइरहेका छन्,' उनले भनेकी छन्।

यस्तै किसिमको त्रास फ्रान्समा पनि फैलिएको छ। यहाँ चिनियाँ नागरिकहरुले सामाजिक सञ्जालमा अभियान चलाएका छन् 'म भाइरस होइन'। त्यहाँको एक स्थानीय पत्रिका कुरियर पिकार्डले सेतो सर्जिकल मास्क लगाएकी एक चिनियाँ महिलाको तस्विर छाप्दै हेडलाइनमा 'एलो अलर्ट' राखेसँगै त्यहाँका चिनियाँ मुलका नागरिकहरु डरमा छन्।

फ्रान्समा चिनियाँ नागरिक मात्र होइन सम्पूर्ण एसियाली मुलका नागरिकमाथि यस्तै व्यवहार गरिएको छ।

पेरिसमा बसिरहेका भियतनाम तथा कम्बोडियाली मुलका १७ वर्षिय सान चङले यस्तै दु:खद अनुभव बीबीसीलाई सुनाएका छन्। पेरिसमा सार्वजनिक बसमा उनीमाथि दुर्व्यवहार भएको छ। 'यो चिनियाँ हो। यसले हामीलाई संक्रमित गर्न खोज्दै छ। उ घर जानुपर्छ,' दुई जना यात्रुले यस्तो भनिरहेका थिए, लाग्थ्यो उनी नै भाइरस हुन्।

अर्की एक महिलाले फ्रेन्च भाषामा ट्वीट गरेकी छन्, 'सबै एसियालीहरु चिनियाँ होइनन्। सबै चिनियाँहरु चीनमा जन्मिएका पनि होइनन्। र उनीहरु सबै चीनमा गएका छन् भन्ने पनि छैन। कोही एसियाली खोक्छ भने यसको मतलब यो होइन की उ कोरोना भाइरसबाट संक्रमित छ। भाइरसकै कारण एसियालीमाथि दुर्व्यवहार गर्नु भनेको बम विस्फोट हुँदा मुसलमानलाई गाली गर्नु जस्तै हो।'

चीनमा कोरोना फैलिएसँगै युरोपमा चिनियाँ नागरिकहरुको व्यवसायमा पनि मन्दी आएको छ।

भेरोनिका लीले एउटा चिनियाँ रेष्टुरेन्ट चलाइरहेकी छन्। सामान्यतया उनको रेस्टुरेन्टमा खाना खान आउनेहरु ५०-६० जना हुन्थे। कोरोनाको हल्लाका कारण उनको रेस्टुरेन्टमा खाना खानेहरु एक-दुईमा झरेको बीबीसीले जनाएको छ।

रोममा रहेको एक संगीत विश्वविद्यालयले पूर्वी एसियाका विद्यार्थीहरुलाई कक्षामा नआउन सूचना जारी गर्यो। मानवअधिकारवादी संगठन एम्नेस्टी इन्टरनेशनलले यस्ता घटनालाई लज्जाजनक सिनोफोवियाको हल्ला भनेको छ। यस्ता हल्लालाई 'फेक न्यूज' र कतिपय राजनीतिक नेतृत्वको अनुत्तरदायी अभिव्यक्तिले बढावा दिइरहेको उसले जनाएको छ। इटालीमा तीन लाखको हाराहारीमा चिनियाँ नागरिकहरु बसोबास गर्दै आएका छन् र पचास लाखको हाराहारीमा चिनियाँ पर्यटकहरु प्रत्येक वर्ष भ्रमण गर्दै आएका छन्।

रोमकै होटल प्लाटिनोमा दुई चिनियाँ पर्यटकहरु बसिरहेका थिए। यहाँका कर्मचारीहरुले 'कोरोना भाइरस' बसिरहेका छन् भन्दै थिए।

यस होटलमा चिनियाँ पर्यटकहरुको बुकिङ क्यान्सिल भइरहेको छ। बीबीसीका पत्रकारले ती चिनियाँ पर्यटकहरुसँग कुरा गरे। तर, उनीहरु नश्लीयताको सिकार हुने डरले खुलेर बोल्न चाहेनन्।

न्यूयोर्कमा मास्क लगाइरहेकी एक महिलालाई एक पुरुषले 'रोगी बोक्सी' को नामले बोलाए। लस एन्जल्सको सववेमा एक पुरुषले एक चिनियाँ नागरिकमाथि लक्षित गरी भने, 'सबै रोगहरु चीनबाट आएका छन्।'

कोरोना भाइरस सम्बन्धी गलत सूचनाका कारण नश्लीयता बढीरहेको छ र चिनियाँ नागरिक वा पूर्वी एसियाली मुलुकका नागरिकमाथि 'सिनोफोविक' आक्रमण बढ्दै गएको सीएनएनले जनाएको छ।

'कोरोना भाइरस सम्बन्धी समाचार आएसँगै हामीले यस्ता मानिस (चिनियाँ वर्णका) हरुमा यस्तो डर देखा परेको छ,' जर्जिया स्टेट युनिभर्सिटीका समाजशास्त्रका प्रध्यापक रोसालिन्ड चोउले भने, 'वास्तवमा मानिसहरु यसबाट पीडित छन्।'

यसको पीडा शारीरिकसँगै मानिसक र आर्थिक रुपमा पनि देखिँदै छ।

'हामी एसियाली मुलककाहरु आक्रमणको त्रासमा छौँ,' लस एन्जल्समा जन्मिएका टानी जिराप्रापासुकेले भने। उनी चिनियाँ पनि होइनन्। तर, सववेमा एक जना पुरुष उनीसामु मुस्कुराएर बोले, सबै रोगहरु चीनले ल्याएको छ।

उनी थाइ-अमेरिकन नागरिक हुन्। ती पुरुष अर्का पुरुषसँग कुरा गरिरहेका थिए, 'सबै रोगहरु चीनबाट आएका हुन्। सबै चीनबाट आएका छन्। उनीहरु चि** जस्ता हुन्छन्। उनीहरु आफूलाई खुब चलाख ठान्छन्। यो बनाए त्यो बनाए भनेर धाक लगाउँछन्। तर चा*'

न्यूयोर्कको सववे स्टेसनमा एक महिलामाथि फेब्रुअरी २ मा भौतिक आक्रमण नै भयो। ती महिलाले मास्क लगाइरहेकी थिइन्। एक प्रत्यक्षदर्शीले उनीमाथि आक्रमण भइरहेको भिडियो खिँचेका छन्। एक पुरुषले उनलाई 'डिजिज बी****' भनेर बोलाए। ती महिलाले ठिक छ आफ्नो बाटो लाग न भन्दै अगाडि बढ्दै थिइन्। त्यत्तिकैमा ती पुरुषले महिलामाथि आक्रमण गर्न थाले।

नोवेल कोरोना भाइरसले ८० हजार बढीलाई संक्रमित बनाएको छ भने तीन हजार बढीको ज्यान लिएको छ। यद्यपि यो फ्लुले ज्यान लिएको भन्दा कम हो। विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार दुई लाख ९० हजार देखि ६ लाख ५० हजार मानिसको ज्यान लिइरहेको छ।

यो तथ्यांक हेर्ने हो भने फ्लुका कारण अमेरिकामा मात्र १२ हजार मानिसको मृत्यु भएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रको पछिल्लो तथ्यांकमा उल्लेख छ।

अब विश्वभर भएका यस्ता केही महामारीका केही उदाहरण हेरौँ। २०१३ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको महामारीले ११ हजार ३२३ जनाको ज्यान लियो। यसको संक्रमण युरोप र अमेरिकासम्म फैलिएको थियो।

२००९ मा विश्वभर महामारीको रुपमा फैलिएको २००९ फ्लु पाण्डेमिकले विश्वभर १४ हजार २८६ जनाको ज्यान लिएको थियो। जसमध्ये सबै भन्दा बढी उत्तर अमेरिकामा तीन हजार ४३३ जनाको मृत्यु भएको थियो। २००९ को मार्चमा मेक्सिकोमा दुई अमेरिकी बच्चामा देखिएको थियो। स्वाइन फ्लुको रुपमा चिनिने इन्फ्लुएन्जा ए/एच वान एन वानले अमेरिकामा एक लाख १५ हजार बढी संक्रमित भएका थिए।

२०१५ मा भारतमा फैलिएको स्वाइन फ्लुले दुई हजार बढीको मृत्यु भएको थियो। ३३ हजार बढी यस संक्रमणको चपेटामा परेका थिए।

रोग कहिँबाट पनि फैलिन सक्छ। तर, रोगकै उत्पति भएको क्षेत्रका आधारमा मानिसहरुलाई नश्लीय ढंगले आक्रमण हुने दुर्भाग्य हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell