
कैलाली : पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सँगको सम्झौता हुबहु पारित हुनुपर्ने बताएका छन्। नेपाल प्रेस युनियन कैलालीले बुधवार बिहान धनगढीमा गरेको पत्रकार सम्मेलनमा देउवाले यस्तो बताएका हुन्।
'एमसिसीसँगको सम्झौता जस्तोको त्यस्तै पास हुनुपर्छ यसले नेपाललाई ठूलो पैसा दिएको छ र दिइरहनेछ,' देउवाले भने 'यसमा हाम्रो विरोध छैन।'
यस विषयमा आफूहरुको सहमति रहेको बताउँदै देउवाले सरकारसँग पटक-पटक सल्लाह गरौँ भन्दा पनि हुन नसकेको बताए।
देउवाले पछिल्लो समय देशमा भष्ट्राचार मौलाएको बताए। सुदूरपश्चिम सरकारले समेत कुनै काम गर्न नसकेको उनको आरोप छ।
अहिले विश्वलाई नै आतङ्कित बनाउने किसिमले फैलिएको कोराना भाइरसबाट जोगिन सबैले सचेतता अपनाउनुपर्ने आग्रह समेत उनले गरे।
'अहिले खतरानाक रोगका रुपमा कोराना भाइरसले धेरैको ज्यान लिइरहेको छ। नेपालमा पनि आउने सम्भावना रहेको छ। हामी सबै नेपालीहरुले पनि यसमा सतर्कता अपनाउनुपर्छ।' देउवाले भने।
उनले मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरे।