PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

प्रहरीमा पनि कोरोनाको असर : सुरक्षा गोष्ठी रद्द, 'मुख-मुख' चेकिङ नगर्न निर्देशन



सविन ढकाल

प्रहरीमा पनि कोरोनाको असर : सुरक्षा गोष्ठी रद्द, 'मुख-मुख' चेकिङ नगर्न निर्देशन

काठमाडौं : चीनको वुहान आउटब्रेक भएर फैलिएको कोरोना भाइरस(कोभिड १९) संक्रमण हुने आशंकामा सरकारले सचेतना अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ। सार्वजनिक कार्यक्रम तथा भिडभाडबाट टाढै रहन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको हो।

उपराष्ट्रपति नन्दबहादुर पुनले सार्वजनिक कार्यक्रममा सहभागी नहुने घोषणासमेत गरिसकेका छन्। त्यस्तै नेपाल प्रहरीले समेत सार्वजनिक कार्यक्रम नगर्ने भएको छ। फागुन २३ र २४ गते धनगढीमा हुने भनिएको सुरक्षा गोष्ठी रद्द भएको छ। सुरक्षालाई ध्यानमा राख्दै धनगढीमा हुन लागेको सुरक्षा गोष्ठी रद्द गरिएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी शैलेस थापा क्षेत्रीले जानकारी दिए। 'सुरक्षालाई ध्यानमा राख्दै हामीले गोष्ठी नगर्ने निर्णय गरेका हौं।'

प्रहरी जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्ने संस्था हो। त्यस्तै दैनिक हरेक मानिससँग सम्पर्कमा रहनुपर्ने भएकाले जोखिम धेरै हुन्छ। प्रहरी प्रधान कार्यालय नक्सालले प्रहरीलाई कोरोनाको संक्रमणबारे जानकारी दिन स्वास्थ्यसम्बन्धी कक्षा सञ्चालन गरिरहेको छ। थप कक्षा सञ्चालन गर्ने तयारी गरेको डिआइजी थापाले जानकारी दिए। 'हामीले अहिले पनि कक्षा लिइरहेका छौं। हेडक्वाटरमा पनि चिकित्सक बोलाएर कक्षा लिन्छौं। त्यस्तै जनतामा पनि जनचेतनासम्बन्धी काम गरिरहेका छौं,' डिआइजी थापाले भने।

देशभर झन्डै ८० हजार प्रहरी छन्। उनीहरु समूहमा नै बस्ने गर्दछन्। एक जनलाई संक्रमण भएको खण्डमा अरुलाई पनि सर्ने सम्भावना झनै धेरै हुन्छ। त्यस्तैले नेपाल प्रहरीले प्रहरी कसैलाई रुखाखोकी, ज्वरो देखिएमा तत्कालै जानकारी गराउन र अस्पतालमा गएर चेक गर्न आह्वावन गरेको छ। 'हामीले रुघाखोकी देखिएमा तत्कालै जानकारी दिन भनिसकेका छैन। त्यस्तै समूहमा बस्दा माक्सको प्रयोग गर्न भनेका हौं,' प्रवक्ता डिआइजी थापाले भने।

प्रहरीले दैनिक सडकमा रहेर काम गर्नुपर्ने हुन्छ। दैनिक जाँचको क्रममा मानिससँग सम्पर्क हुन्छ। ट्राफिक प्रहरीले मापसेदेखि कागजपत्र समेत हेर्ने हुँदा सावधानि उपनाउनु पर्ने देखिएको छ। त्यसैले प्रहरीले अत्याआवश्यक चेकिङबाहेक अन्य चेकिङ कम गर्ने र सरलीकरण गर्न निर्देशन दिएको छ। 'चेकिङमा केही सरलिकरण भएको छ। मास्क र सेनिटाइजर लगायत सामाग्री प्रयोग गरेर काम गर्न भनेका छौं,' डिआइजी थापाले भने।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मापसे चेकिङ गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ। मापसे चेकिङमा ट्राफिक प्रहरीले मुखले सुँघेर पनि गर्न गर्दछ। सबै स्थानमा ब्रेथलाइजर छैनन्। ब्रेथलाइजर नभएको अवस्थामा मुखले सुँघेर मात्र चेकिङ नगर्न निर्देशन दिएको छ। 'मुख मुख गरेर चेकिङ नगर्नु भनेका छौं। माक्सको प्रयोग अनिवार्य गर्न निर्देशन दिएका हौं,' महाशाखाका प्रमुख एसएसपी भीम ढकालले भने।

नेपाल प्रहरीले प्रहरी अस्पतालमा सक्रमण भइहालेको अवस्थामा वा आशंकामा रहेका विरामीलाई राख्ननको लागि आइसोलेसन वार्ड समेत तयार पारिसकेको जानकारी दिएको छ। प्रहरीले थुनामा राखेका थुनुवालाई समेत ध्यानमा दिँदै ज्वरो, रुघाखोकी लगायतका समस्या देखिएमा तत्काल अस्पताल लैजान निर्देशन दिएको छ।

विभिन्न जिल्लाका सुरक्षा समन्वय समितिको बैठक बसेर कोरोनाको संक्रमणबाट बच्न पूर्ण तयारीका काम गर्ने निर्णय समेत भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell