PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कोरोनाको असर : सर्जिकल मास्कदेखि स्यानिटाइजरसम्म कालोबजारी, अस्पतालमा समेत प्रभाव



पहिलोपोस्ट

कोरोनाको असर : सर्जिकल मास्कदेखि स्यानिटाइजरसम्म कालोबजारी, अस्पतालमा समेत प्रभाव
फाइल फोटो

  • सरला सुवेदी -

काठमाडौं : कोरोनाबाट टाढा रहन चिकित्सकले दिएको सुझाव पछ्याउँदै बुधवार बिहान दरबारमार्गको ब्लुबर्ड मार्टमा पुग्दा ह्यान्ड स्यानिटाइजरको 'स्टक' नरहेको जवाफ मिल्यो।

जथाभावी छोएपछि स्यानिटाइजरको प्रयोग गरेर सुरक्षित रहने चिकित्सकले सुझाव दिएका छन्। त्यस्तै कोरोना भाइरस (कोभिड-१९) को बढ्दो त्रासबीच चिकित्सक मास्क लगाउन सल्लाह दिएका छन्। मास्क पनि सजिलै किन्न पाइँदैन यतिखेर, ह्यान्ड स्यानिटाइजरजस्तै। महँगोमा किनबेच सुरू भएपछि व्यापारीले स्यानिटाइजर र मास्क लुकाएका छन्। त्यसैले यस्ता वस्तुको खुद्रा बिक्री प्रभावित भएको छ।

मेडिकल र सर्जिकल स्टोरहरूमा सहजै उपलब्ध हुन्थ्यो मास्क। तर, अहिले रेडिमेड जवाफ छ - छैन, सकियो। कतै भेटियो भने भाऊ ह्वात्तै बढिसकेको हुने। तीन साता अघिसम्म प्रति गोटा ५ रूपैयाँ पर्ने मास्कको मूल्य कम्तिमा चार गुना बढेर २० देखि २५ रूपैयाँ प्रति पिस पुगेको छ। १० रूपैयाँ पर्ने मास्कको मूल्य ५० रूपैयाँ पुगेको छ। त्यतिमै बिक्री गरिरहेका खुद्रा व्यापारी अब थोक बजारमै अभाव भइसकेको बताउँछन्।

ह्यान्ड स्यानिटाइजरको मूल्य पनि उत्तिकै बढेको छ। मूल्य बढ्नु भन्दा पनि 'किन्नै नपाउने रोग'ले उपभोक्ता मारमा छन्।

चीनको वुहानबाट विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को महामारीपछि नेपाल सरकारले चीनलाई मास्क सहयोग गरेको थियो। गत माघ अन्तिम साता राजधानीमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई सहयोगस्वरुप एक लाख थान मास्क हस्तान्तरण गरे। त्यो मास्क वुहानमा रहेका नेपालीलाई लिन गएको नेपाल एयरलाइन्सको विमानमै पठाइयो। जसै मास्क चीन पठाइएको खबर बाहिर आयो बजारमा मास्क पनि हराउँदै गयो।

चीन र बंगलादेशबाट आयात हुन्छ नेपालमा मास्क। कोभिड-१९ को संक्रमण फैलिएको घटना अघिसम्म आयात पनि सहज थियो। यतिबेला चीनमै मास्क अभाव छ। एउटा डिब्बाको ३ सयदेखि ५ सय रुपैयाँ पर्ने सामान्य सर्जिकल मास्क यतिबेला सजिलै पाइँदैन, पाइहाले १७०० देखि दुई हजार रूपैयाँसम्म परिरहेको खुद्रा व्यवसायीहरु बताउँछन्।

लुकीछिपी बजारबाट बटुलेर चीन पठाउँदा राम्रो आम्दानी हात परिरहेकाले केही गिरोहले नेपाली बजारमा अभाव गराएको व्यवसायीको तर्क छ। नेपालले वार्षिक १० लाखभन्दा बढी मास्क आयात गर्दै आएको थियो। यतिबेला बंगलादेश र भारतमा पनि कोरोनाको त्रास छ। त्यसैले उताबाट नेपाल निर्यात हुने परिमाण घटाइएको औषधि व्यवसायी बताउँछन्।

गत माघको तेस्रो साता औषधि व्यवसायी संघ काठमाडौंले अभाव हुन नदिन व्यवसायीलाई आह्वान गर्दै सूचना जारी गरेको थियो। त्यसयता झन् कालोबजारी बढेर गयो। 

एकपटक लगाएर मिल्काउनु पर्ने डिस्पोजेवल मास्क सस्तो र सजिलो हुने भएकाले गत महिनासम्म सर्वसुलभ थियो। यतिबेला त्यो सस्तो र सजिलो मास्क त पाइँदै पाइँदैन, महँगो भए पनि सुरक्षित मानिएका एन-९५ लगायतका मास्क पनि किन्न पाइन्न। अस्पताल र स्वास्थ्य संस्थामा सधैं अनिवार्यजस्तै प्रयोग हुने मास्क पनि बजारमा अभाव हुँदा एक प्रकारको असुरक्षा बढेको सर्वसाधारण बताउँछन्।

'अन्तभन्दा पनि हाम्रा लागि त अनिवार्य हो। तर, स्टकमा अब निकै कम छ,' टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका एक कर्मचारीले भने, 'बेलामा पाइएन भने हामीले दिने सेवा पनि प्रभावित हुनसक्ने स्थिति बन्दैछ।' आफू असुरक्षित भएर स्वास्थ्यकर्मीले काम गर्न नसक्ने उनले बताए। त्यस्तै ट्रमा सेन्टरको इमजेन्सीमा कार्यरत कर्मचारीहरुको प्रयोगका लागि मास्क स्टकमा नभएको त्यहाँका कर्मचारीले बताए। 'बाहिरबाट महँगोमा किनेर काम चलाउँदैछौं, त्यो पनि सजिलै पाइँदैन,' उनले भने।

वानेश्वरस्थित सिभिल अस्पतालमा विरामी भेट्न पुग्नेहरु पनि मास्कविना छिर्न पाउँदैनन्। तर, एउटा विरामीका परिवारले दिनमा ४ वटामात्र यस्ता मास्क किन्न पाइरहेका छन्।

हाल राजधानीका अस्पतालहरूमा स्वास्थ्यकर्मी र कर्मचारीहरूले तुना बाँध्ने मास्क प्रयोग गरिरहेका छन्। एकपटक लगाएको मास्क बारम्बार प्रयोग गर्न योग्य नहुने अवस्थामा नयाँ किन्न नपाउनुले असुरक्षाको भावना बढाएको छ।

वीर अस्पतालको स्टोरमा यतिबेला ८ हजारवटा मात्रै पेपर मास्क बाँकी त्यहाँका कर्मचारीले बताए। स्वास्थ्यकर्मी, कर्मचारी र आवश्यकताअनुसार बिरामीलाई पनि उपलब्ध गराउनुपर्ने भएकाले उक्त स्टकले एक साताभन्दा बढी नधान्ने ती कर्मचारीले बताए। बागबजारको काठमाडौं मोडेल हस्पिटलको फार्मेसीले आपूर्ति हुन छाडेको भन्दै हप्तादिनदेखि  पेपर मास्क बिक्री गर्न छाडेको छ।

अब पाइने मास्क पनि स्टक गरेर राख्नुपर्ने अवस्था रहेको कलंकी पोलिक्निकका संचालक बुद्धि थापाले बताए। 'पूरै अभावको स्थिति छ, सजिलै पाइने मास्क पनि सप्लायरले दिन छाडेका छन्,' उनले भने, 'अत्यावश्यक स्थितिका लागि केही थान जोगाएर राख्नुपर्ने भएको छ।'

मास्कको कालोबजारी बढिरहँदा नियमनकारी निकायको सक्रियता भने बजारमा देखिएको छैन। अभाव देखाएर लुकाइछिपाइ महँगोमा बेच्न पल्किएकालाई केही अघि वाणिज्य विभागले अनुगमन गरी कारबाही गर्दा चिनियाँ व्यापारी पनि संलग्न रहेको खुलेको थियो। तर, विभागले अनुगमनलाई निरन्तरता दिएको नदेखिएको औषधि व्यवसायी बताउँछन्।

त्यसैले यतिखेर न मास्क मिल्छ न ह्यान्ड स्यानिटाइजर नै।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell