
काठमाडौं : पछिल्लो समय नेपाली रजतपटमा फिल्मको सिरिज निर्माण गर्ने ट्रेन्ड बढ्दो छ। गतवर्षको तुलनामा यो वर्ष हेर्ने हो भने निर्माण भएका फिल्महरु मध्ये हिट फिल्मका सिरिज नै बढी छन्। फिल्म ‘छक्का पञ्जा’देखि ‘ए मेरो हजुर’ लगायतका हिट फिल्मका सिरिजहरु धमाधम बनिरहेका छन्।
त्यस्तै नाम चलेका अनमोल केसीदेखि प्रदीप खड्का लगायतका अभिनेताहरु पनि सिरिजकै भरमा छन्। प्रेम गीतबाट फिल्मी करियर शुरु गरेका प्रदीप खड्का यति बेला हिट फिल्म ‘प्रेम गीत’कै तेस्रो सिरिजमा व्यस्त छन्। यति बेला फिल्मको छायांकन चलिरहेको छ। त्यसो त प्रेम गीतको तेस्रो सिरिजलाई यो वर्षकै बहुप्रतिक्षित फिल्मको रुपमा हेरिएको छ।
डेब्यू फिल्म ‘प्रेम गीत’बाटै चर्चामा आएका प्रदीप अभिनित ‘लभ स्टेसन’, ‘रोज’ लगायतका फिल्म नेपाली बक्स अफिसमा व्यापारिक रुपमा सफल भएनन्। त्यसपछि उनी आफ्नै फिल्मको सिरिज तिर लागेका छन्।
यो फिल्मबाट प्रदीप निकै आशावादी छन्। उनले ‘बडी बिल्डिङ’देखि लिएर आफ्नो सबै समय यहि फिल्मको लागि खर्च गरेका छन्। यो फिल्ममा उनी फरक गेटअपमा देखिएका छन्। निर्माण टिमले फिल्मको प्रचारात्मक सामग्रीको रुपमा टिजर सार्वजनिक गरिसकेको छ। जसमा प्रदीप एक योद्धाको रुपमा प्रस्तुत भएका छन्।
सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशन रहेको यस फिल्ममा प्रदीपसँगै सुनिल थापा, प्रेम पुरी अनुभव रेग्मी योगिशा खत्री जीवन भट्टराई लक्ष्मी वर्देवा लगायतका कलाकारहरुको अभिनय रहेको छ।