PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

कोरोनाको जोखिम नियन्त्रणका लागि ‘एक्सन टिम’ बनाउन पर्यटनमन्त्रीको निर्देशन



रासस

कोरोनाको जोखिम नियन्त्रणका लागि ‘एक्सन टिम’ बनाउन पर्यटनमन्त्रीको निर्देशन
फाइल फोटो।

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोरोना भाइरस (कोभिड-१९)ले पर्यटन क्षेत्रमा पार्नसक्ने प्रभाव र चाल्नुपर्ने कदमबारे अध्ययन गर्न नेपाल नागरिक उडड्यन प्राधिकरण र नेपाल पर्यटन बोर्डमा ‘एक्सन टिम’ बनाउन निर्देशन दिएका छन्।

कोरोना भाइरसले पर्यटन उद्योगमा पार्नसक्ने असर र चाल्नुपर्ने कदमबारे सरोकारवाला निकायसँग आज मन्त्रालयमा गरिएको छलफलमा मन्त्री भट्टराईले उक्त निर्देशन दिएका हुन्। उनले कुनै नीतिगत निर्णय गर्नुपरे मन्त्रालयमा लेखी पठाउनसमेत निर्देशन दिँदै आवश्यक निर्णयका लागि मन्त्रालयमा सचिवको नेतृत्वमा एउटा टिम बनाइने बताए।

उनले पर्यटन क्षेत्रसँग आबद्ध सबै संघसंस्था तथा विज्ञलाई कोरोना भाइरसले पार्नसक्ने प्रभाव र सरकारकोतर्फबाट चाल्नुपर्ने कदमबारे तीनदिनभित्र सुझाव दिन पनि आग्रह गरे। साथै विमानस्थलमा यसबारे सजगता बढाइएको जानकारी गराउँदै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक पर्यटकको धेरै आवतजावत हुने काठमाडौं बाहिरका विमानस्थलमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर ‘हेल्थ डेस्क’ राख्ने प्रक्रिया पनि अघि बढाइएको बताए।

अभिभावकका रुपमा राज्यभएकाले अहिले धेरै नआत्तिइ आफ्ना व्यवसाय सञ्चालन गर्न पनि उनले पर्यटन व्यवसायीसँग आग्रह गरेका छन्। कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले कोरोना भाइरसको अहिलेसम्मको अवस्थाबारे जानकारी गराएका थिए।

प्राधिकरणका महानिर्देशक राजन पोखरेल, बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मी, वायुसेवा सञ्चालक सङ्घ, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल (नाट्टा), होटल एसोसिएसन अफ नेपाल (हान)लगायतका संस्थाका प्रमुख तथा प्रतिनिधिले पर्यटन उद्योगमा परेको असरबारे जानकारी गराउँदै राज्यले यो उद्योगलाई बचाइ राख्न बैंकको ब्याजदरलगायतका विभिन्न विषयमा सहुलियत दिनुपर्ने उनीहरुको माग थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell