PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

दोस्रो इनिङ सुरु गर्दै अर्थ मन्त्री खतिवडाले भने : म अथक योद्धा हुँ



पहिलोपोस्ट

दोस्रो इनिङ सुरु गर्दै अर्थ मन्त्री खतिवडाले भने : म अथक योद्धा हुँ

 

काठमाडौं : मन्त्री पदबाट राजीनामा दिनुअघि अर्थमन्त्री डाक्टर युवराज खतिवडाले कर्मचारीसँग भनेका थिए - राजनीति हो, जे पनि हुन सक्छ।

राजीनामाको भोलिपल्टै बुधवार मन्त्री पदको सपथपछि खतिवडाले भने - 'म त फेरि आएँ है साथी हो।'

श्रीमती र परिवारका सदस्य सहित राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनी निक्कै प्रफुल्लित देखिएका थिए आज। 

हिजो छाडेर गएको अर्थमन्त्रालय पुगेपछि उनले सबैभन्दा सुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरे। उनी प्रधानमन्त्रीको स्वास्थप्रति चिन्तित देखिन्थे। त्यही भएर प्रधानमन्त्रीको विषय उठान गर्दा उनी केही मलिन देखिए। 

पहिलो 'इनिङ' मा अपेक्षाअनुसार काम नगरेको आरोप लागेका खतिवडालाई दोस्रो 'इनिङ' मा के गर्नुहुन्छ भनेर पत्रकारले प्रश्न गरेका थिए। उनले उत्तर फर्काए- 'म अथक योद्धा हुँ। कमान्डरले चाहँदासम्म मैदानमा रहने छु।'

उनलाई राष्ट्रियसभाको दुई वर्षे कार्यकाल सकिएपछि पनि प्रधानमन्त्रीले पुन: अर्थमन्त्रीमा नियुक्त गरेका हुन्।

खतिवडाले बजेट निर्माण, आर्थिक सुशासन, आर्थिक नीति अघि बढाउँदै विकास, सुशासन, सामाजिक न्याय र समानताको पक्षको लडाई लड्ने बताए। 

'योद्धा मैदानमा त्यो बेलासम्म रहन्छ, जतिबेलासम्म कमान्डरले फिर्ता आउ भन्दैन या युद्ध जित्दैन,' उनले भने, 'मेरो कार्याकाल पनि त्यही हो। जबसम्म युद्ध जितिँदैन वा फिर्ता बोलाइँदैन म मैदानमै हुनेछु।'

उनले अगाडि थपे - 'यो गरिबी, असमानता, रोग, भोकसँग लडिरहने प्रकृया हो। यसो हुनाले यसको कुनै समय सीमा हुँदैन।' 

उनले विश्वब्यापी रुपमा फैलिएको कोरोनाका कारण अर्थतन्त्रलाई प्रभाव पार्ने बताए।

'विश्वव्यापी रुपमा कोरोनाले कति क्षति गर्‍यो भनेर आज आँकलन गर्न सकिँदैन। यसको असर भोलि देखिन सक्छ,' उनले भने, 'आज कच्चा पदार्थ उत्पादन नहुँदा भोलिको आपूर्ति ब्यवस्थाम असर पर्न जान्छ। यसले समग्र विश्वको आर्थिक प्रणालीलाई नै असर पर्न जान्छ। हाम्रो निर्भरता अन्तर्राष्ट्रिय बजारमा रहेकोले यसको असरमा हामीमा झनै देखिन्छ। यसले चुनौती बढेको छ।'

खतिवडाले कोरोनाको असर नेपालको अर्थतन्त्रमा देखिन थालिसकेको बताउँदै सबै मिलेर यसको सामना गर्नु पर्ने बताए।

'यस बीचमा हामीले नियमित कार्यक्रम अघि बढउने नै छौं,' उनले भने, 'आर्थिक वर्ष २०७७/०७८ को बजेट निर्माण र चालु वर्षको बजेट कार्यान्वयन छँदैछ।' 

कर्मचारीहरुसँग पनि खतिवडाले कुराकानी गरेका थिए।

'म फेरि आएको छु। हामीले गर्नुपर्ने धेरै छ। गरिरहेका पनि छौं,' उनले भने, 'म २४ घण्टा क्वारेनटाइनमा बसेर पुन फर्किएको छु। हामी गरीब मुलुक हौं। अबको हाम्रो कार्यदिशा विदेशी दाताले पत्याउने किसिमको हुनु पर्नेछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell