काठमाडौं : सुन्धाराको सिभिल मलमा लगानी गरेका इच्छाराज तामाङका अर्का साझेदार लालकाजी गुरुङको सम्पत्ति लिलाम हुने भएको छ। इच्छाराजले खोलेको सिभिल सेभिङ्स एण्ड क्रेडिट सहकारी संस्थाले गुरुङको सम्पति ३५ दिनभित्र लिलाम गर्ने भएको हो।
सहकारीले सिभिल बिजनेस कम्प्लेक्सको ७ लाख ९९ हजार कित्ता सेयर लिलाम गर्ने तयारी गरेको छ। यसको कुल मूल्य कति हो खुलाइएको छैन। यसअघि उनले ऋण तिर्न नसकेपछि सार्वजनिक सूचना जारी गर्दै सहकारीले ३५ दिनको समय दिएको थियो। यस बीचमा पनि उनले ऋण नतिरेपछि सेयर लिलाम गर्न लागिएको हो।
पोखराका लालकाजीको कुल ७ लाख ९९ हजार कित्ता सेयर सिभिल सेभिङ्स एण्ड क्रेडिट सहकारी संस्थामा धितोमा छ। सिभिल मल सिभिल बिजनेस कम्प्लेक्स प्रालि अन्तर्गतको कम्पनी हो। यसमा लालकाजी र इच्छाराज तामाङको ५०/५० प्रतिशत सेयर साझेदारी छ। उनीहरूबीच दुई दशकदेखि ब्यवसायिक साझेदारी चल्दै आएको छ।
स्रोतहरुका अनुसार, दुई जनाबीच ब्यवसायी कारणले बेमेल भएपछि सेयर लिलाम गर्ने चरणमा पुगेको हो। इच्छाराजको सिभिल होम्स ग्रुपमा पनि गुरुङ साझेदार छन्। यो ग्रुपले सिभिल सहकारीबाट सात अर्बभन्दा बढी ऋण लिएर तिर्न सकेको छैन।
रियल स्टेट कारोबारमा समस्या आएपछि उनीहरू पनि अप्ठेरोमा परेको स्रोतहरुको दाबी छ। आर्थिक संकट पर्दै गएपछि दुवैजना बीच झगडा सुरू भएको बताइन्छ।
'दुई जनाको झगडाका कारण ३५ दिने सूचना जारी गर्नुपर्ने अवस्था आएको हो,' स्रोतले भन्यो, 'एकले अर्कालाई दोष लगाउँदा समस्या उत्पन्न भएको छ।'