
- प्रकाश सिलवाल/शरद शर्मा -
काठमाडौँ : शल्यक्रिया कक्षमा चिकित्सक प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणमा व्यस्त भएका बेला महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा उनका शुभेच्छुक प्रत्यारोपण सफलताको कामना गरिरहेका थिए।
स्वदेशी अस्पतालमा नेपाली अनुभवी चिकित्सकले मुलुकको कार्यकारी प्रमुखको मिर्गौला प्रत्यारोपण गरेको यो विशेष क्षणलाई स्वदेश र विदेशबाट समेत चासो र प्रतीक्षाका साथ हेरिएको थियो। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको चिकित्सक टोलीबाट जानकारी आएपछि अस्पताल परिसरमा उपस्थित मन्त्रीगण, नेता, कार्यकर्ता र समर्थकको अुनहारमा बेग्लै खुशी छाएको थियो। शुभेच्छुकले प्रधानमन्त्री ओलीको तस्वीर र राष्ट्रिय झण्डा अङ्कित व्यानर र पोष्टरमा ‘गेट वेल सुन’ लेखेर स्वास्थ्यलाभको कामना गरेका थिए।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पतालमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णुप्रसाद पौडेललगायत मन्त्रीगण पुगेका थिए। बिहान १० बजे शल्यक्रिया कक्षमा लगिएका प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण दिउँसो ३ बजे सकिएको थियो।
अस्पतालका तर्फबाट औपचारिक जानकारी दिइएसँगै यो सुखद् खबर करिब ४ बजे सञ्चारकर्मीलाई प्राप्त भएको थियो। सञ्चारकर्मी आफ्नाआफ्ना सञ्चारमाध्यममा ‘समाचार ब्रेक’ गर्न व्यस्त भएका थिए भने उपस्थित मन्त्रीगण, नेता, कार्यकर्ता र समर्थक एकापसमा बधाई साटासाट गरिरहेका थिए। प्रधानमन्त्री ओली स्वयंले दह्रो आत्मबल र आत्मविश्वासका साथ भिडियो सन्देश दिएर अस्पताल भर्ना हुनुभएको भए पनि उनको उमेरगत अवस्था र दोस्रो पटकको मिर्गौला प्रत्यारोपण भएकाले कतै जोखिम हुने त होइन भन्ने सन्देहलाई सफल प्रत्यारोपणले सुखद् जवाफ दिएको छ।
यसले नेपालको अस्पताल चिकित्सक टोली विशिष्ट व्यक्तिको जटिल शल्यक्रिया गर्न/गराउन सक्षम रहेको भन्ने स्पष्ट सन्देश दिएको छ। नेकपाका सांसद पूर्णाकुमारी सुवेदीले देशको प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे सबैलाई चिन्ता र चासोको विषय रहेकाले यहीँकै चिकित्सकले सफलतापूर्वक सम्पन्न गरेकामा खुशी लागेको बताइन्।
अस्पतालका अनुसार प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीको शरीरका मुख्य सूचक राम्रो अवस्थामा रहेको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति स्थिर रहेको र प्रत्यारोपित मिर्गौलाले काम गर्न थालिसकेको जानकारी दिएको थियो। हाल उनलाई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइएको अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले जनाए।
कार्यकारी निर्देशक प्रा डा खड्गाले मिर्गौलाको शल्यक्रियापछि सङ्क्रमणबाट जोगाउनका लागि आइसोलेशन (एक्लाएर) मा राखिएको जानकारी दिए।
'अङ्गमा सङ्क्रमण नहुनका लागि औषधि शुरु गरिएको छ। सकेसम्म मान्छेको भीडबाट टाढा राखिएको छ, बिहीवार चिकित्सकले स्थिति हेरेर अन्य उपचारका काम गर्नेछन्,' उनले भने, 'अहिले उहाँलाई अति सघन कक्षमा सारिएको छ, उहाँ कुराकानी गर्नसक्ने अवस्थामा हुनुहुन्न। होस् भने खुलेको छ तर उहाँलाई सेडिक्सनमा रहेकोले उहाँ अहिले बोल्नुहुन्न, सम्भवतः बिहीवारदेखि बोल्न थाल्नुहुनेछ।'
प्रधानमन्त्री ओली पाँच–छ दिन अस्पतालमा रहने र १०–१५ दिनपछि नियमित काम गर्नसक्ने डा खड्गाले बताए। हाल मिर्गौला प्रत्यारोपण गर्ने टोलीबाहेक अरुलाई ५/६ दिनसम्म भेट्न दिइने छैन। प्रधानमन्त्री ओलीको मिर्गौला शल्यचिकित्सा टोलीमा उपचार टोलीमा शल्यक्रिया टोलीमा प्रा डा उत्तमकुमार शर्मा, प्रा डा प्रेम ज्ञवाली, प्रा डा अनन्द कुमार, डा पवनराज चालिसे, डा सुमन चापागाईं, डा सुजित पौडेल तथा मिर्गौला प्रत्यारोपण चिकित्सा टोलीमा प्रा डा दिव्या शाह, डा महेश सिग्देल, डा मुकुन्द काफ्ले, डा मिधन श्रेष्ठ, डा रविन नेपाली र डा सन्तोष क्षेत्री थिए। एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा अनिल श्रेष्ठ, प्रा डा सुवास आचार्य, डा अमित शर्मा भट्टराई र डा विगेनमान शाक्य थिए।
प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गर्ने उहाँकी भान्जी समीक्षा सङ्ग्रौलाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। मिर्गौला प्रत्यारोपणअघि उनको मङ्गलबार विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको थियो। प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए । यसअघि प्रधानमन्त्री ओलीको विसं २०६४ साउनमा भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।
कार्यकारी निर्देशक खड्गाका अनुसार प्रधानमन्त्रीको आग्रहमा उनलाई पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्ने भारत नयाँदिल्लीका चिकित्सक डा अनन्तकुमार आएका छन्।
'पहिलाको प्रत्यारोपण उहाँले गरेको हुनाले दोस्रो पटक पनि प्रधानमन्त्रीको आग्रहमा उहाँलाई बोलाइएको हो,' उनले भने, 'अनन्तकुमार शल्यक्रिया कक्षमा रहनुभएको थियो, अनन्तकुमारले आवश्यक सहयोग गर्नुभएको थियो।' डा खड्गाले अनन्तकुमार आएकाले स्वदेशी चिकित्सकको हौसला बढेको बताए। दोस्रो पटक मिर्गौला प्रत्यारोपण ९८ प्रतिशत सफल हुने उनको भनाइ थियो।
पहिलो पटक प्रधानमन्त्रीलाई मिर्गौला दान दिएकी अञ्जान घिमिरेले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल भएकाले खुशी भएको बताइन्।
'पहिलोपटक शल्यक्रिया गर्दा जस्तो खुशी भएको थियो, अहिले पनि मलाई त्यस्तै खुशी लागेको छ,' उनले भनिन्, “त्यतिबेला पनि शल्यक्रिया गर्दा पनि चाँडै नै होसमा आउनुभएको थियो, अहिले पनि उहाँ चाँडै होसमा आउनुभएको छ भन्ने खबर पाएँ, झन् खुशी लाग्यो।'
घिमिरेले दुईमध्ये एउटाले काम गर्ने भएपछि अर्को मिर्गौलाले प्रधानमन्त्रीलाई बचाउन सक्छु भनेर त्यतिबेला मिर्गौला दिएको भन्दै अहिले आफू स्वस्थ्य रहेको बताइन्। शिक्षण अस्पतालले चिकित्सक, सम्बन्धित विभागका नर्सिङ, प्राविधिक तथा प्रशासनिक कार्यमा संलग्न सबैलाई धन्यवाद दिएको छ।