PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

चीनसँग सीमा जोडिएको कर्णाली प्रदेशमा कोरोना फैलिन नदिन यस्तो छ तयारी



पी बी खड्का

चीनसँग सीमा जोडिएको कर्णाली प्रदेशमा कोरोना फैलिन नदिन यस्तो छ तयारी

सुर्खेत : चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसले विश्वभरमा प्रकोपको रुप लिँदै गएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ। उत्तरी छिमेकी मुलुक चीनसँगै सिमाना जोडिएको कर्णाली प्रदेशमा पनि कोरोनाको त्रास बढ्न थालेको छ। प्रदेशको तीन वटा जिल्ला हुम्ला, मुगु र डोल्पा जिल्ला चीनको नाकासँग सिधा जोडिएकाले कर्णालीमा कोरोना नभित्रिएला भन्न सकिन्न।

यस क्षेत्रका नागरिक पनि सहजै चीन आवात जावत गर्ने हुँदा पनि यहाँ जोखिम बढी देखिन्छ। सीमा जोडिएका जिल्लाका नागरिक दैनिक उपभोग्य सामानदेखि मजदुरीका लागि समेत चीन जाने हुँदा कर्णाली प्रदेशपनि कोरोनाको उच्च जोखिममा छ। प्रदेश सभा बैठकमा समेत सांसदहरुले विश्वमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक तयारी थाल्न सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्। भौगोलिक विकटता र सेवा प्रवाहका हिसाबले पछाडि रहेको प्रदेशमा कर्णाली सरकारले कोरोना संक्रमण हुन नदिन आवश्यक तयारी थालेको जनाएको छ।

प्रदेश सरकारले पनि कोरोनाको त्रास बढ्दै गएकाले कर्णालीको चार स्थानमा जाँच स्थल ‘हेल्थ डेस्क’ खडा गर्ने भएको छ। प्रदेश सरकारले सीमा जोडिएको हुम्लाको हिलसा, प्रदेश ५ सँग सीमा जोडिएको बबई, सल्यानको कपुरकोट र काठमाडौंबाट सुर्खेत भित्रिने नागरिकको जाँचका लागि सुर्खेत विमानस्थलमा ‘हेल्थ डेस्क’ राख्ने तयारी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

कोरोना भाइरसका बारेमा प्रदेशका सबै जिल्लाहरुमा जनचेतनामूलक अभियान चलाइको भन्दै आमसर्वसाधारण नागरिकलाई कोरोना प्रभावबाट बच्न समेत सचेत हुन सबैमा आग्रह गरेको छ। मन्त्रालयले प्रचारप्रसारदेखि लिएर यसबाट जोगिने तरीकाका बारेमा नागरिकस्तरसम्म पुग्न सबै सरोकारवाला निकायलाई आग्रह गरेको छ।

सरकारले जनचेतनामूलक अभियान सञ्चालनसँगै कोरोना भाइरस जोखिम न्यूनीकरणका लागि समितिनै गठन गरेर आवश्यक काम अघि बढाएको जनाएको छ।

कोरोना संक्रमणका बिरामी फेला परे प्रदेश अस्पतालमा दुई वटा छुट्टै बेडको व्यवस्था गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार कोरोनाको संक्रमण हुन नदिनका लागि आवश्यक स्रोत साधनको व्यवस्थापन र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन समेत निर्देशन दिइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell