PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

भित्र प्रधानमन्त्री ओलीको अपरेसन : बाहिर अनेरस्ववियूको 'गेट वेल सुन'देखि सत्यनारायण पूजासम्म,  मन्त्रीदेखि नेता पुगे अस्पताल

भित्र प्रधानमन्त्री ओलीको अपरेसन : बाहिर अनेरस्ववियूको 'गेट वेल सुन'देखि सत्यनारायण पूजासम्म, मन्त्रीदेखि नेता पुगे अस्पताल

कुञ्जरमणि भट्टराई/पहिलोपोस्ट


काठमाडौं :  सोमवार नै अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यपरोणको अप्रेसन आज बिहान ९ बजेबाट हुने चिकित्सकहरुले बताएका थिए।

नेता, मन्त्री,पार्टीका कार्यकर्ता, शुभेच्छुक, सर्वसाधारण, सञ्चारकर्मी सबैको ध्यान तानिएको थियो, त्रिभुवन विश्वविद्याल शिक्षण अस्पतालमा। सामान्य विरामी हुँदा त चासो राखिने ओली प्रधानमन्त्री भएका दोस्रोपटक मिर्गौला प्रत्यारोपणको उपचार सुरु हुँदा चासोको बिषय बन्ने नै भयो।

त्यसै ९ बजेअगावै हामी पनि पुग्यौं टिचिङ।

अस्पताल पुगेको केही समयपछि मन्त्रीहरु पार्वत गुरुङ, बसन्त नेम्वाङ अस्पताल आइपुगे। त्यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल अस्पताल पुगिसकेका रहेछन्।

त्यसको केही समयपछि अस्पतालमा नारा घन्कियो। धेरैको ध्यान त्यसैतर्फ केन्द्रीत। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्याथी संगठन अनेराश्ववियु 'गेट वेल सुन पिएम केपी ओली' नारा लगाउँदै अस्पताल पस्दै रहेछन्। हातमा प्रधानमन्त्री ओलीको तस्विर लिएका विद्यार्थीहरु लामबद्ध भए, प्रमको स्वास्थ्य लाभको कामना गर्दै। अनेरास्ववियुले केही बेर अस्पताल परिसरमा नै प्रमको तस्विर भएको प्लेकार्ड प्रदर्शन गरे।

उक्त प्रदर्शनमा मिर्गौला पीडित सरोकार समाज पनि सामेल भयो। सरोकार समाजले प्रमले देशमा नै मिर्गौला प्रत्यारोपण गरेको खुसी देखिन्थ्यो उनीहरुको अनुहार र अभिव्यक्तिमा।

विहान ९ बजे नै अप्रेसन सुरु गर्ने भनिएपनि केही ढिला भयो। एक घन्टापछि अप्रेसन सुरु भएको जानकारी दिए अस्तालका कार्यकारी निर्देशक प्रेम खड्काले।

उनले १० बजे प्रधानमन्त्रीलाई अप्रेसन थ्रिएटरमा सारिएको जानकारी दिए।

अब चासोको विषय रह्यो - अप्रेसन थ्रिएटरमा रहेका प्रधानमन्त्री ओलीको अप्रेसनको नतिजाको। सामान्य उपचारका लागि विदेशमा दौडिने गरेका नेताहरुलाई नेपालमा नै उपचार सम्भव छ भन्ने सन्देश दिएको बताउँदै आएकाहरुमा पनि एक किसिमको त्रास कायमै थियो।

दोस्रो पटकको प्रत्यारोपणको नतिजा कस्तो आउँला?

प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार विष्णु रिमाल प्रधानमन्त्रीले केही समय अघि गरेको एपेन्डिसाइटिक्सको अप्रेसनभन्दा पनि अहिलेको अप्रेसनलाई सहज रुपमा लिएको सुनाउँदै थिए।

परराष्ट्र सल्लाहकार राजन भट्टराई प्रधानमन्त्रीले मिर्गौलाको बारेमा सबै अध्ययन गरेर नै प्रमले प्रत्यारोपणका लागि यही अस्पताल छनोटको निर्णय लिएको बताए।

प्रधानान्त्रीको स्वास्थ्यबारे चिकित्सकहरुसँग जानकारी लिन नेताहरुको आउने जाने क्रम चलिरह्यो।

उता अस्पतालको भित्रै मृत्युन्जयेश्वर महादेवको मन्दिरमा प्रमको सफल मिर्गौला प्रत्यरोपणको कामना गर्दै सत्य नारायणको पुजा आरधना भइरहेको थियो। मिर्गौला पीडित सरोकार समाजले प्रमको सफल प्रत्यारोपणको कामना गर्दै सत्यनारायणको पूजा लगाएको समाजका अध्यक्ष बलराम सुवेदी बताउँदै थिए। 

चिकित्सकहरुले अप्रेसन सकिँदा ४ बज्ने बताए पनि तीन बजे नै प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल भएको जानकारी आयो। तर औपचारिक रुपमा जानकारी भने चार बजेमात्र दिइयो।

त्यसपछि खुसीको माहोल बन्यो मन्त्रीहरु, मुख्यमन्त्री नेकपाका सांसदहरु, विभिन्न निकायका व्यक्तिहरु अस्पताल पुगे। एकआपसमा बधाई साटासाट पनि गरे।

वरिष्ठ चिकित्सक अरुण सायमीले प्रधानमन्त्रीमा जति विश्वास आफूहरुमा नरहेको बताए। प्रधानमन्त्रीले मंगलवार एक हप्तामा क्याबिनेट डाक्छु भन्दै गर्दा आफूमा भने त्यतिबेला डर लागेको सुनाए। तर अब एक हप्तामा प्रधानमन्त्री बालुवाटार जान सक्नेमा आशावादी देखिए उनी।

प्रमको मिर्गौला प्रत्यारोपण सफल भएपछि देशमा नै नेताहरुले उपचार गर्न सक्ने वातावरणको सिर्जना भएको र सरकारी अस्पतालप्रतिको विश्वास बढेको नेताहरूले बताए।

झण्डै साँझ ७ बजे अनेरास्ववियुले अस्पताल परिसरमा प्रधानमन्त्रीको मिर्गौला सफल रुपमा प्रत्यारोपण भएकोमा खुसी साट्दै दीप प्रज्वलन गर्‍यो।

साँझ ७: ३० मा नेकपाका वरिष्ठ नेता माधव नेपाल, सुवाष नेम्वाङलगायतका नेताहरु ओलीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell