
काठमाडौं : हङकङमा घरपालुवा कुकुरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमित व्यक्तिले पालेको कुकुरमा कोरोना पोजेटिभ पुष्टि भएको यहाँको कृषि, मत्स्यपालन तथा संरक्षण विभाग (एएफसिडी)ले जनाएको छ।
एएफपीलाई उद्धृत गर्दै समाचार एजेन्सी पिटिआईले उल्लेख गरेअनुसार हङकङमा एक ६० वर्षीया महिलाको घरपालुवा कुकुरमा कोरोनाको पुष्टि भएको हो। ती महिला आफै संक्रमित छिन्। मानिसबाट जनावरमा कोरोना सरेको यो पहिलो घटना भएको अधिकारीहरुले बताएका छन्।
गत शुक्रबार ती महिलाको कुकुरमा कोरोनाका लक्षण देखिएपछि पशु क्वारेन्टाइनमा राखिएको थियो। बुधवार उक्त कुकुरमा कोरोना संक्रमण पोजेटिभ पाइएको तर कम मात्रामा रहेको एएफसिडीले जानकारी दिएको छ। अहिले उक्त कुकुरलाई एक अलग्गै पशु क्वारेन्टाइनमा राखेर उपचार भइरहेको छ।
कृषि, मत्स्यपालन तथा संरक्षण विभागले भनेको छ, 'उक्त घरपालुवा कुकुरमा पटक पटकको जाँचपछि कोरोना संक्रमण पुष्टि भएको छ। जाँचमा कम मात्रामा संक्रमण पाइयो। विश्व पशु स्वास्थ्य संगठनले यसलाई मानवबाट जनावरमा भाइरस स्थानान्तरणको रुपमा स्वीकार गरेको छ।'
हङकङमा गत शुक्रवारदेखि कोरोनाको लक्षण देखिएको सबै कुकुरलाई क्वारेन्टाइमा राख्न थालिएको छ। दुई वटा कुकुरलाई आइसोलेसनमा राखिएको छ। हङकङमा कुकुरको निरन्तर जाँच गरिने र नेगेटिभ भेटिएमात्रै फिर्ता गर्ने बताइएको छ।
विभागले कुकुरलाई नछुन तथा चुम्बन समेत नगर्न सार्वजनिक अपिल समेत गरेको छ।
विश्वका ६० भन्दा बढी देशमा देखिएको कोरोनाबाट हालसम्म ३ हजार १ सयभ्दा बढीको मृत्यु भइसकेको छ। करिब एक लाख मानिस संक्रमित छन्।