
पोखरा : जंगलको बीच भागस्थित चट्टान छिचोल्दै निस्केको शुद्ध पानीलाई सदुपयोग गर्दै यहाँको एउटा सामुदायिक बन समूहले व्यावसायिक पानी उद्योग सञ्चालन गर्न लागेको छ।
पोखरा महानगरपालिका-२५ हेम्जास्थित फुर्केटारी सामुदायिक वन समूह बन पैदावारको भरपुर उपयोगसँगै व्यावसायिक पिउने पानीको उद्योग सञ्चालनमा ल्याउने तयारीमा जुटेको हो।
वन संरक्षणको अभावमा कतिपय स्थानमा पानीको स्रोत सुक्दै गएको वास्तविकतामा यहाँ भने बनको संरक्षणका कारण पानीको स्रोत बढ्दै गएपछि पानी उद्योग सञ्चालन गर्ने जमर्को गरिएको फुर्केटारी सामुदायिक बन उपभोक्ता समूहका सचिव रमा त्रिपाठी बताउँछिन्।
उनका अनुसार बनको बीच भाग महभिरखोलामा रहेको स्रोतबाट धेरै पानी बगेर गयो, केही भाग मात्र घरायसी प्रयोगका लागि उपयोग गरिएको थियो, यतिखेर भने त्यही मूलको पानी बजारमा बिक्री गरेर थप आम्दानी गर्ने लक्ष्य समूहले लिएको छ।
जंगलदेखि लगभग चार किलोमिटरको दूरीबाट दुई इन्चको पाइप विस्तार गरेर बस्तीसम्म ल्याइएको पानी शुरुमा पिउनका लागि प्रयोग भए पनि विस्तारै थप आयआर्जन गर्न तरकारी खेतीमा समेत उपयोग गरिँदै आएको बताउँदै उनले पानी उद्योग सञ्चालनसँगै बजारमा बिक्री गरी आम्दानीको स्रोतमा परिणत गरिने जानकारी दिइन्।
सामुदायिक बनबाट खासै आम्दानी नभए पनि पानी बिक्रीबाट राम्रो आम्दानी गर्ने लक्ष्यका साथ सञ्चालन गर्न लागिएको पानी उद्योगमा समूहमा आबद्ध ५२ घरधुरीको लगानी रहेको सचिव त्रिपाठीले बताइन्।
फुर्केटारी एक्विफायर नामाकरण गरिएको पानी उद्योगमा हालसम्म दुई करोड रुपैयाँ लगानी भइसकेको महभिरखोला प्राकृतिक खानेपानी प्रालिका अध्यक्ष हुतराज त्रिपाठीले जानकारी दिए।
पछिल्लो समय उपभोक्तामा बोतल र जारको पानी उपयोग गर्ने बानी परिसकेको वर्तमान अवस्थामा बन समूहले उत्पादन गरेको मूलको पानी बजारको रोजाइमा पर्ने विश्वास व्यक्त गरे।
उनले भने, ‘पानी उद्योगमा सामुदायिक बन समूहका उपभोक्ताको २५ हजारदेखि पाँच लाख रुपैयाँसम्मको शेयर लगानी छ।’
समूहले एक लिटर र आधार लिटरको बोतल एवं २० लिटरको जार निर्माण गरेर बजारमा लैजाने तयारी गरेको छ।
प्रयोगशालामा पानीको नमूना परीक्षण गरी पिउन उपयुक्त भएको प्रमाणपत्र प्राप्त गरेको बताउँदै अध्यक्ष त्रिपाठीले भने, ‘सामुदायिक बन समूहले उत्पादन गरेको पानी आगामी चैत महिनाको पहिलो सात बजारमा पुर्याउने तयारी भइरहेको छ।’
वार्षिक एक करोड १२ लाख ६९ हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको सो सामुदायिक बनले सञ्चालन गरेको पानी उद्योगबाट बजारमा प्राकृतिक स्रोतको शुद्ध पानी उपलब्ध गराउनुका साथै १५ जनाले प्रत्यक्षरूपमा रोजगार प्राप्त गर्ने अध्यक्ष त्रिपाठीको जिकिर छ।
महभिरखोला खानेपानी तथा मुहान संरक्षण उपभोक्ता समितिका सचिव एवं खानेपानी सञ्चालक मित्रलाल त्रिपाठीका अनुसार खानेपानीको मुहान संरक्षणमा मात्र ५५ लाख रुपैयाँभन्दा बढी लगानी भइसकेको छ।
तरकारीखेतीमा प्रयोग भएको पानी जार र बोलतमा राखेर बजारमा बिक्री गर्न शुरु गरेपछि सो बन समूहले सिँचाइका लागि डिप बोरिङको समेत व्यवस्था गरेको छ। प्रतिसेकेण्ड १३ लिटर पानी आउने सो चार इञ्चको बोरिङमार्फत निकालिएको पानीबाट बन समूहका उपभोक्ताको १६६ रोपनी जमीनलाई सिँचाइको सुविधा पुग्ने समूहको विश्वास छ। ६५ लाख रुपैयाँमा बोरिङ खनेर सञ्चालनमा ल्याइएको हो।
बनको संरक्षण, प्रवर्द्धन र उपयोगसँगै वातावरणको संरक्षणमा सहयोग पुर्याउँदै आएका सामुदायिक वन समूहका उपभोक्ताका लागि प्राकृतिक स्रोतसाधन आम्दानी र रोजगारीको दरिलो माध्यम बन्दै गएको सामुदायिक बन उपभोक्ता महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीले बताए।
उनका अनुसार विश्वमा नै नेपालको सामुदायिक बनको अवधारणा अनुकरणीय बन्दै गएको वर्तमान अवस्थामा उपलब्ध प्राकृतिक स्रोत साधनको विविधतापूर्ण प्रयोगसँगै उपभोक्ता एवं मुलुकका लागि सामुदायिक बन वरदान सावित बन्दै गएको छ।
संरक्षणका माध्येमबाट नाङ्गा पहाड र डाँडालाई हरियालीमा परिणत गर्न सफल मुलुकका २२ हजारभन्दा बढी सामुदायिक बन समूहले पछिल्लो समय सम्भाव्यता अध्ययनका आधारमा सञ्चालन गरिने बनमा आधारित उद्योग जीविकोपार्जनसँगै मुलुकको समृद्धिसँग जोड्नु अपरिहार्य बनेको छ।