PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

कोरोना त्रासपछि नेपाली फिल्म क्षेत्र : हल सञ्चालकहरुको दाबी, 'दर्शक त आइरहेकै छन्', निर्माता संघले भने लगायो छायाँकनमा रोक



मन्दिरा खत्री

कोरोना त्रासपछि नेपाली फिल्म क्षेत्र : हल सञ्चालकहरुको दाबी, 'दर्शक त आइरहेकै छन्', निर्माता संघले भने लगायो छायाँकनमा रोक

काठमाडौं : नोवेल कोरोना भाइरस(कोभिड-१९) आउटब्रेक भएको मुलुक चीन फिल्ममा अमेरिका र क्यानडापछिको ठुलो बजार हो। कोरोना फैलिएपछि चीनको फिल्म उद्योग ठप्प छ।

दश अर्ब डलरभन्दा बढी घाटा फिल्म उद्योगबाट मात्र व्योहरी सक्यो चीनले। चीनसँगै बलिउड, हलिउड र नेपाली फिल्म उद्योगमा केही असर परेको छ।

त्यसो त कोरोना भाइरसका कारण नेपाली फिल्म हलहरुमा पनि सतर्कता अपनाउन सुरु गरिएको छ। दर्शकहरुको भीडभाड धेरै हुने भएकोले गर्दा सिनेमा हलमा स्यानिटाइजरदेखि ह्यान्ड वाससम्मको व्यवस्था गरिएको दरबारमार्गमा रहेको राइजिङ मलस्थित क्यूज सिनेमाका व्यवस्थापक राकेश श्रेष्ठले बताए। 'हामीले दर्शकको लागि ह्यान्ड वास, स्यानिटाइजर र हाम्रो स्टाफहरुको लागि पञ्जालगायतको व्यवस्था गरिसकेका छौं। तर बजारमा मास्क अभावको कारण हामीले दर्शकलाई मास्कको सुविधा भने दिन सकेका छैनौं।'

नेपालमा हालसम्म कोहीमा पनि कोरोना भाइरस नदेखिएकोले गर्दा सिनेमा हल जाँदा डराइहाल्नु पर्ने स्थिति नरहेको राकेशको दाबी छ।

गोपी कृष्ण हल प्राय भरिभराउ देखिन्छ। कोरोना भाइरसको त्रास फैलिँदा पनि गोपी कृष्णमा दर्शकको उपस्थितिमा कुनै कम नआएको सञ्चालक निरक पौडेलले दाबी गरे।

निरक भन्छन्, 'कोरोनाको हल्ला सुनिन्छ। तर, हाम्रो हलमा दर्शकको उपस्थिति उत्तिकै छ।' बरु दर्शकको सुरक्षामा ध्यान दिँदै हलको सफाइमा जोड दिएको उनले बताए। भने, 'हामीले दर्शको सुरक्षाको लागि हाइजिन मेन्टेन गर्दै हलको सरसफाइमा विशेष ध्यान दिइरहेका छौं। मास्क र सेनिटाइजर खोज्ने दर्शकहरुलाई उपलब्ध गराइरहेका छौं। तर फिल्म हेर्न आउने अधिकांश दर्शकहरु आफै कोरोनाबारे सचेत हुनुहुन्छ।'

केही महिनादेखि कमजोर बक्सअफिस कलेक्सन गरिरहेको नेपाली फिल्म क्षेत्रमा कोरोनाले कस्तो असर पारेको छ त?

यसबारेमा हाल प्रदर्शन फिल्म 'सेन्टी भाइरस'का वितरक गोविन्द शाहीले नेपाली बक्स अफिसमा खासै प्रभाव नपरेको तर्क राखे। 'दर्शकहरु त आइरहनु भएको छ हलमा। त्यस्तो असर त खासै पारेको छैन,' उनले भने 'सेन्टी भाइरसले राम्रै सोहरु पाइरहेको छ। फिल्मले चार करोड बढी व्यापार गरिसकेको छ।'

भोलिदेखि बलिउड फिल्म 'बागी ३' रिलिज हुँदैछ। त्यसमा चाहि कस्तो प्रभाव पार्छ त्यो हेर्न बाँकी रहेको शाहीले बताए।

त्यसो त शाही नेपालमा हालसम्म कोरोना नदेखिए पनि सचेत रहनुपर्नेमा जोड दिन्छन्। उनी भन्छन्, 'नेपालमा कोरोना देखिएको अवस्था छैन। तर पनि हामी सबैजना सचेत रहनुपर्छ। विशेष त सरकारले चीनको नाका सिमानाहरुको अवात जावतमा र अन्तर्राष्ट्रिय उडानहरुमा कढाइ गर्‍यो भने कोरोनाको संक्रमणबाट बच्न सकिन्छ कि जस्तो लाग्छ।'

***

यसैबीच नेपाल सरकारले सभा सम्मेलन तथा भिडभाडका कार्यक्रमहरु नगर्न आग्रह गरिरहदा नेपाली सिनेमा हलहरु पनि बन्द हुने चर्चा चलिरहेको छ। त्यसैले हल सञ्चालन गर्ने वा नगर्ने भन्ने विषयमा हलवालाहरु दोधारमा छन्। सिनेमा हलहरु बन्द भएको खण्डमा प्रदर्शनको तयारीमा रहेका फिल्महरुलाई असर गर्ने देखिन्छ।

त्यसो त कोरोनाकै कारण बलिउड तथा हलिउड फिल्मकर्मीहरुले आफ्नो फिल्मको प्रदर्शन मिति धमाधम परिवर्तन गर्न थालेका छन्। हलिउडमा हेर्ने हो भने अप्रिलमा प्रदर्शन हुने भनिएको फिल्म 'नो टाइम टु डाइ'ले फिल्मको प्रदर्शन मिति सारेर सात महिनापछि पुर्‍याएको छ। त्यस्तै बलिउडमा पनि कोरोनाको जोखिमले गर्दा सलमान खान अभिनित फिल्म 'राधे'को थाइल्याण्ड सुटिङ रद्द गरिएको छ। नेपालमा भने हालसम्म कोरोनाको संक्रमण नदेखिएको कारण फिल्मको प्रदर्शन मितिहरु खासै परिवर्तन भने भएको छन्।

फिल्मको छायांकनमा पनि रोक

नेपाली मल्टिप्लेक्स क्यूएफएक्समा दर्शकको सुरक्षाको लागि स्यानिटाइजरदेखि मास्कसम्मको व्यवस्था गरिएको छ। यसैबीच बिहिबार नेपाल चलचित्र निर्माता संघले एउटा विज्ञप्ती जारी गर्दै नेपाली फिल्महरुको सम्पूर्ण छायांकन रोक्न लगाएको छ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाको जोखिमलाई मध्ये नजर गर्दै संघले सम्पूर्ण फिल्मकर्मीलाई छायांकन स्थगित गर्न अग्रह गरेको हो। नेपाल सरकारबाट कोरोनाको संक्रमणबाट बच्नको लागि पारिवारिक जमघट, मेला महोत्सव, जात्रा, पर्वजस्ता कार्यक्रममा सरिक नहुन र त्यस्ता कार्यक्रम स्थगित गर्न अनुरोध गरेसँगै निर्माता संघले फिल्मकर्मीका लागि फिल्मको छायांकनमा रोक लगाएको हो।

भाइरसको संक्रमणबाट बच्न र आम जनतामा यसबारे जागृत गराउन छायांकन भइरहेका फिल्महरुको हकमा नेपाल सरकारबाट अर्को सूचना जारी नभएसम्म सम्पूर्ण फिल्मको छायांकन कार्य स्थगित गर्न संघले अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell