PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

निजी चिकित्सक दिव्या सिंह भन्छिन् : प्रधानमन्त्री ओलीलाई एक सातामा डिस्चार्ज, एक महिना आराम



कुञ्जरमणि भट्टराई

निजी चिकित्सक दिव्या सिंह भन्छिन् : प्रधानमन्त्री ओलीलाई एक सातामा डिस्चार्ज, एक महिना आराम

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको यतिबेला त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ। बुधवार मिर्गौला प्रत्यारोण गराएका प्रमको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आइरहेको अस्पतालले जनाएको छ। उनलाई तरल पदार्थ तथा नरम खानेकुरा खुवाउन थालिएको अस्पतालका कार्यकारी निर्देशक प्रेम कृष्ण खड्गाले जानकारी गराएका छन्। उनको स्वास्थ्यबारे जानकारी लिन नेता, मन्त्रीहरु आज दिनभर अस्पताल पुगिरहे।

प्रधानमन्त्री ओली खतरामुक्त

कस्तो छ प्रधानमन्त्रीलाई?

अहिले अस्पतालमा पुगेकाहरुले सोध्ने साझा प्रश्न हो यो। प्रमको स्वास्थ्यलाई नजिकबाट नियालिरहेकी निजी चिकित्सक डाक्टर दिव्या सिंह अहिले प्रधानमन्त्री खतरामुक्त रहेको बताउँछिन्। प्रधानमन्त्रीले हिजैबाट बोल्न पनि थालेका छन्।

भन्छिन्, 'प्रधानमन्त्रीको अवस्था खतरामुक्त छ। उहँको अवस्थामा समान्य विरामी जसरी नै सुधार आइरहेको छ। सेड्युल अनुसार नै उहाँको अवस्था सुधारोन्मुख छ। आजसम्म उहाँको अवस्था राम्रो छ। आगामी दिनमा पनि रहनुपर्छ।'

प्रधानमन्त्री ओलीको केही समय अघि एपेन्डिसाइटिसको अप्रेशन गरिएको थियो। त्यही अप्रेशनका कारण उनको किड्नी ट्रान्स्प्लान्ट दुई महिना ढिलाई भएको हो।

'केही समय अघि नै मिर्गौला प्रत्यारोपण गर्ने तयारी थियो। एपेन्डिसाइटिसको अप्रेशनका कारण मिर्गौला प्रत्यारोपणको दुई महिना ढिलाई भयो,' उनले सुनाइन्।

एक सातमा डिस्चार्ज

प्रधानमन्त्रीको जस्तैगरी अवस्थामा सुधार भएका सामान्य विरामीहरु पाँच दिनामै डिस्चार्ज हुने सिंहको भनाइ छ। तर, प्रमलाई भने एक सातापछि मात्र अस्पतालबाट पठाइने छ।

'प्रमको अवस्था जसरी इम्प्रुभ भइरहेको छ, सामान्य रुपमा हामीले पाँच दिनमा डिस्चार्ज गर्ने गरेका छौं। तर, प्रम यहाँबाट निस्किएपछि व्यस्त हुनुपर्ने भएकाले एक हप्ता हस्पिटल राख्ने विचार गरेका छौं,' उनले भनिन्।

अहिले प्रधानमन्त्रीलाई चिकित्सकहरुले उच्च निगरानीमा राखिरहेका छन्। प्रधानमन्त्रीलाई चिकित्सक बाहेक अरुलाई भेट्न दिइएको छैन। डिस्चार्ज भएपछि पनि उनलाई टाढैबाट मात्र अरुले भेट्न सक्ने सिंह बताउँछिन्। प्रधानमन्त्रीलाई एक महिना हाइ डोजको औषधी दिइने उनको भनाइ छ।

देशमा नै प्रत्यारोपण गर्ने प्रमको 'डिसिजन'

प्रधानमन्त्री ओलीले देशमा नै मृर्गौला प्रत्यारोपण गरेकोमा प्रसंशा पनि बटुलिरहेका छन्। भिभिआइपी उपचारका लागि बाहिर जाने परम्परामा यो ब्रेक पनि हो। प्रमको मृर्गौला प्रत्यारोपणका लागि सिंगापुर, अमेरिका जाने विषयमा पनि छलफल चलेको थियो। तर, दिव्या भने प्रमको प्रत्यारोपण अन्य ठाउँमा जाने कुरा सही नभएको बताउँछिन्।

प्रधानमन्त्रीलाई इण्डियामा आएर उपचार गराउनुस् भनेका थिए। त्यो दिब्याले पनि सुनेकी थिइन्।

प्रधानमन्त्रीले नेपालमा नै प्रत्यारोपण गर्ने निर्णयको उनले प्रशंसा गरिन्। प्रधानमन्त्री आफैँले नेपालमा गर्ने डिसिजन गरेको उनको भनाइ थियो।

'नेपालमा नै प्रत्यारोपण गराउन सक्ने सुझाव भने दिएका हौं। तर, यही गर्ने भन्ने डिसिजन उहाँले नै गर्नुभएको हो। पहिले ग्राण्डीमा गराउने कि भन्ने कुरा पनि भएको थियो। तर यहीँ गर्दा पनि सहज होस् भन्ने सुझाव दिएँ,' उनले भनिन्।

मिर्गौला दिने केही दिन अघि नै डिस्चार्ज

प्रमलाई मिर्गौला दिने उनकी भान्जी समीक्षा संग्रौलाको स्वास्थ्य अवस्था पनि राम्रो रहेको सिंहले सुनाइन्। डाक्टर दिव्याका अनुसार प्रमभन्दा केही दिन अघि नै समीक्षाको डिस्चार्ज गरिने छ। अहिले समीक्षा र प्रमलाई छुट्टाछुट्टै कक्षमा राखिएको छ। प्रम र उनले एक आपसमा भेट्न अझै केही दिन कुर्नुपर्ने हुन्छ। समीक्षालाई केही सहज भएपछि प्रमसँग भेट गराइनेछ।

डाक्टर दिव्याका अनुसार प्रधानमन्त्री ओलीले सामान्य मिटिङ भने डिस्चार्ज भएको एक हप्तापछि गर्न सक्ने छन्। बाहिर निस्कन उनलाई एक महिना बढी नै कुर्नुपर्ने सिंहको भनाइ छ। इन्फेक्सनको खतरा रहने भएकाले पनि प्रधानमन्त्रीले केही समय आराम गर्नुपर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell