PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

वीरगंज नाकामा कोरोनाको सतर्कता कमजोर, दैनिक ३ अहेबले पालैपालो हेर्छन् ‘हेल्थ डेस्क’



राधेश्याम पटेल

वीरगंज नाकामा कोरोनाको सतर्कता कमजोर, दैनिक ३ अहेबले पालैपालो हेर्छन् ‘हेल्थ डेस्क’

वीरगंज : नेपाल-भारतको मुख्य नाकाको रूपमा रहेको वीरगंज भन्सार नाकामा कोरोना भाइरस परीक्षणको निगरानी कमजोर देखिएको छ। वीरगंज महानगरको स्वास्थ्य महाशाखाले कोरोना भाइरस निगरानीको लागि एक जना स्वास्थ्यकर्मीको भरमा हजारौँ यात्रु ओहोरदोहार गर्ने नाकामा ‘हेल्थ डेस्क’ राखेको छ।

भारतबाट नेपालमा यो रोगका बिरामी भित्रिन सक्ने जोखिम उच्च रहेको छ। भारतमा २९ जनामा यो रोगको संक्रमण देखा परेको छ। यस्तो अवस्थामा भारत भएर नेपाल आउने तेस्रो मुलुकका पर्यटकलाई मात्र वीरगंज नाकामा तापक्रम, रुघाखोकी, ज्वरोलगायतको लक्षण जाँच गरी छोडिने गरेको छ। बाँकी नेपाल भारतका हजारौँलाई कुनै जाँच नगर्ने गरिएको वीरगंज महानगरका स्वास्थ्य महाशाखा प्रमुख अरुणकुमार महतोले बताए।

‘अहिले नेपाली र भारतीयमा यो रोग लागेका संख्या धेरै छैन, त्यसकारण विमान मार्गबाट तेस्रो मुलुकबाट आएका विदेशीहरुलाई मात्र लक्षित गरिएको छ’, उनले भने, ‘सीमा वारपार गर्ने सबैको स्वास्थ्य परीक्षण गर्नु पर्ने अहिले नै अवस्था आएको छैन।’

२४ घण्टामध्ये ८/८ घण्टा खटिने गरी तीन जना अहेबलाई स्वास्थ्य महाशाखाले ‘हेल्थ डेस्क’मा राखेको छ। वीरगंज नाकाको शंकराचार्य गेटमा सबैको स्वास्थ्य परीक्षण गरेर मात्र नेपाल भित्रिने व्यवस्था मिलाइएको छ।

जनस्वास्थ्य कार्यालय पर्साको पहल र नारायणी अस्पतालको चिकित्सकहरूको सहयोगमा स्थापना गरिएको ‘हेल्थ डेस्क’ले गत डिसेम्बरदेखि हालसम्म तेस्रो मुलुकका करिब १४२ जना पर्यटकहरूको स्वास्थ्य परीक्षण गरिएको र एक पनि संक्रमण फेला नपरेको बताइएको छ।

चीनको वुहानबाट विश्वको ७० बढी देशमा फैलिएको कोरोनाको प्रभाव भारतमा पनि देखिएको छ। भारतका विभिन्न राज्यबाट रेल यात्रामार्फत गर्ने यात्रुहरूमा पनि संक्रमणको उच्च सम्भावना भएकाले वीरगंज नाकाबाट भित्रिने सबै पर्यटकहरूमा कडाइ गर्नु पर्ने चिकित्सकहरुको तर्क छ।

नेपाल चिकित्सक संघ नारायणी वीरगंजका अध्यक्ष डा अरूणकुमार सिंहका अनुसार विश्व त्रासमा बाँचिरहेको अवस्थामा वीरगंज नाकामा यसको उच्च सतर्कता तथा कडाइ गर्नु पर्ने बताए। उनले भारतमा तीव्र गतिमा फैलिरहेको यो संक्रमण नेपालमा पनि फैलिन सक्ने सम्भावना प्रबल रहेकोले दुवै देशका स्वास्थ्य सरोकारवालाहरु मिलेर स्वास्थ्य परीक्षणलगायतको काममा खटिनु पर्ने उनको भनाइ थियो। कोरोना भाइरसको परीक्षणको लागि मुख्यतः शरीरको तापक्रम र इन्फ्लुएन्जा (नाकबाट पानी बग्ने, रूघा, खोकी, ज्वरो)का लक्षणहरू देखिएमा त्यस्ता बिरामीहरूलाई नारायणी अस्पतालको आइसोलेसन वार्डमा निगरानीमा राख्न आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell