PahiloPost

Nov 27, 2020 | १२ मंसिर २०७७

अस्पतालमा प्रधानमन्त्री, उपचार अभावमा 'संक्रमित' देश



ऋषिकेश दाहाल

अस्पतालमा प्रधानमन्त्री, उपचार अभावमा 'संक्रमित' देश

प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया सफल भएको छ। उनलाई शीघ्र स्वास्थ्य लाभको कामना। उनको स्वास्थ्यप्रति सम्पूर्ण मुलुकवासीको एकै स्वर छ। मुलुकको राजनीतिक गतिविधि नै ठप्प भएको छ, प्रधानमन्त्रीको स्वास्थ्यकै कारण।

नेकपाभित्र चर्किएको किचलोले पनि विश्राम पाएको छ। प्रधानमन्त्रीको किड्नी फेरिएको छ। उनको घाउ बिसेक हुन केही समय लाग्ला। किड्नीले कुन तहको काम गरिरहेको छ उपचारमा संलग्न चिकित्सकहरुले क्रिटिनाको लेबल पक्कै परीक्षण गरिरहेकै छन्। त्यसको जानकारी पनि जनताले पक्कै पाउलान्।

प्रधानमन्त्रीलाई किड्नी दिने उनकी 'भान्जी'को पनि स्वास्थ्य लाभको कामनामात्र गरेका छैनन् जनताले, अनुग्रहित पनि छन् उनीप्रति। उनी नभएको भए प्रधानमन्त्रीको काम गर्न छाडेको किड्नी हटाउन थप असहज अवस्था आउन सक्थ्यो। त्यसैले उनलाई पनि धन्यवाद।

विरामी प्रधानमन्त्रीको देशभित्रै उपचार हुनुले नेपालीलाई गर्ववान्वित पनि बनाएको छ। चिकित्सकहरु सक्षम छन् भन्ने स्थापित भएको छ। नेपालमा उपचार हुँदाहुँदै पनि विदेशमा उपचार गराउने राजनीतिक शीर्ष तहको मोह भङ्ग गरेकाले प्रधानमन्त्रीलाई धन्यवाद। त्यसो त प्रधानमन्त्री ओलीको भन्दा अगाडि पनि नेपालभित्रै किड्नी ट्रान्सप्लान्ट भएकै हो। चिकित्सकहरुले सफलता पाएकै हुन्। तर, त्यही सफलताको मापकमा प्रधानमन्त्री पदको व्यक्ति जोडिएपछि उनीहरुको 'खुवी'मा लालमोहर लाग्ने रहेछ। त्यो लाग्यो नै, यसपाला।

प्रधानमन्त्री ओली विरामी छन्। अझै केही समय उनी उपचारमा सजग भएर रहनुपर्छ। सानातिना त्रुटिले जोखिम ल्याउने खतरा सधैं हुने भएकाले सावधान रहनुपर्छ नै। प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिरबाट सुधारतिर लागिरहँदा देशको स्वास्थ्य भने क्रमश: ओरालोतिरतीब्र गतिमा दौडिरहेको छ।

विश्वव्यापिकरणको प्रभावले पुँजीवादमात्र फस्टाउने होइन रहेछ, रोगका जिवाणुसमेत त्यसैको प्रतिफलका रुपमा फैलिँदा रहेछन्। चीनबाट उब्जिएको एउटा त्यस्तै जिवाणुले आज विश्वभर आतंक फैलाइसकेको छ। त्यसको चपेटामा नेपाल बाहिर रहने कुरा भएन।

प्रधानमन्त्री उपचार गराउन हात हल्लाउँदै अस्पताल छिर्दा काठमाडौंका मेडिकल स्टोरहरुबाट धमाधम मास्क र स्यानिटाइजर रित्तिसकेका थिए। जति बाँकी थिए तिनको भाऊ जनताले थेग्ने हैसियतभन्दा धेरै माथितिर लागिसकेका थिए। सबैले प्रधानमन्त्रीको स्वास्थ्यको कामना गर्दै मैनबत्ती बालेर प्रार्थना गरिरहँदा उनका नाममा दियो जलाउनेहरुको स्वास्थ्य अवस्था कता जाँदैछ? उनीहरुको भविष्य के त? यतिखेर मुल प्रश्न यही हो।

प्रधानमन्त्री विरामी हुनुको अर्थ देश रोगी हुनु होइन। वुहानबाट सरकारले मेहनत गरेर भित्र्याएका नेपालीहरुमा कोरोना भाइरसको नेगेटिभ रिजल्ट आउनुको अर्थ पनि हामी सुरक्षित छौं भन्ने हो भने बेग्लै। अन्यथा, यतिखेर सिंगो मुलुक कोरना आतंकबाट भयभित छ।

भयको श्रृङ्खला सधैं डरलाग्दो हुन्छ। यही भय देखाउँदै कालो बजारी सुरु हुन्छ। भयकै कारण आवश्यकताभन्दा धेरै स्टोर गर्न चाहनेहरु पनि निस्किन्छन्। औषधि होस् कि ग्यास यतिखेर बजारबाट छिटो उठाउन चाहनेको भिड छ। यही मौकामा कारोबारमा गुलजार हुने बुझेका व्यापारीहरुले सामान लुकाउन सुरु गरेका छन्।

सामाजिक सञ्जाल तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय संचार माध्यमले दिएका खबर हेरेर नआत्तिने सायदै कोही होला यतिखेर। अमेरिका, जापान, अस्ट्रेलिया जस्ता देशमा ट्वाइलेट पेपरसमेत हाहाकार भएका समाचार छरपस्ट भएर आइरहँदा भान्सामा चामल कति बाँकी छ भन्दै हेर्नेहरु बढेका छन्। जनतामा संशय यही छ - प्रधानमन्त्री विरामी भएको देशमा कुनै पनि समय अभाव हुन सक्छ।

प्रधानमन्त्री विरामी हुँदा देश कसरी विरामी? प्रश्नको जवाफ कुर्न टाढा जानु पर्दैन। दुई साता अघिसम्म पर्यटन मन्त्री योगेश भट्टराई भन्दै थिए - नेपाल कोरोना फ्री मुलुक हो, अब चीनमा गएर नेपालको प्रचार गर्नुपर्छ। उनको भनाइ एक साता नबित्दै ठहरै भयो - सुरु भइसकेको भिजिट नेपाल २०२० स्थगित। विभागीय मन्त्रीले बोलेको एक साता पनि टिक्न नसक्ने मुलुकका नागरिक अनि निश्चित कसरी होउन? अनि कसरी नभनुन् प्रधानमन्त्रीजस्तै देश पनि विरामी छ। विरामी पनि होइन, रोगी छ देश। विरामी र रोगीबीच अन्तर के छ जनताले सजिलै भेउ पाएका छन्।

शिक्षा मन्त्रालयले गजबले एउटा निर्देशन दिएको छ - चैत ५ गतेभित्र ९ कक्षाभन्दा तल पढ्ने सबै विद्यार्थीको परीक्षा सकाउ। निर्देशनको कारण हो - कोरोना।

शिक्षा मन्त्रालयले दिएको निर्देशनको सोझो बुझाइमा ५ गतेसम्म कोरोना आउँदैन। त्यसपछि भने नेपालमा कोरोनाले 'भिसा' पाउन सक्छ। त्यसैले बालबालिकालाई घरमै राख्नुपर्छ। शिक्षा मन्त्रालयको निर्देशनले देश कति रोगी/विरामी छ अन्दाज भइहाल्छ। त्यसबाहेक उच्च शिक्षातिर भने कुनै निर्देशन दिइसकेको छैन, विभागीय मन्त्रालयले। त्यसको कारण पनि उसैले जानोस्।

यता स्वास्थ्य मन्त्रीले गजब टिप्पणी गरेका छन् - चीन र भारतले कोरोनाविरुद्ध मेहनतपूर्वक काम गरेकाले नेपालमा यो सजिलै छिर्दैन। उनकै भनाइलाई मान्ने हो भने हामी निश्चिन्त भए हुने भयो। उनकै मन्त्रालयलाई टाउको दुखाउने अर्को निर्णय पनि भएको छ - भारतले केही औषधि निर्यातमा रोक लगाएर। भारतले रोक लगाएको औषधिमा सिटामोलसमेत पर्छ।

भारतमा उत्पादन हुने औषधिको कच्चा पदार्थ सबैभन्दा धेरै चीनबाट आउने गर्छ। चीनबाट यतिखेर आयात ठप्प छ। त्यसलै बजारमा औषधि अभाव हुने निश्चित भएको छ।

चीन कोरोनाविरुद्ध युद्धमा होमिए झै लागिरहेको छ। तर, चीनमा झै भारतमा कोरोनाको असर देखियो भने त्यसले कुन रुप लिन्छ? पक्कै पनि त्यतिखेर चीनमा झै औषधि उत्पादन गर्ने कम्पनीहरु नै ठप्प हुन सक्छन्। त्यतिखेर चाहिने औषधि भारत स्टक राख्न चाहन्छ, आफ्ना जनताको स्वास्थ्यका लागि। त्यसको सोझो अर्थ हो - नेपालको औषधिमा रहेको परनिर्भरताले फेरि पनि आतंकित बनाउन सक्छ।

यतिखेर नेपालले गर्न सक्ने भनेको - याचनामात्र हो, भारतलाई औषधि पठाइदेउ भनेर। चीनले कोरोनाविरुद्ध जसरी काम गर्न सक्यो हामीले जतिसुकै चाहे पनि भारतमा त्यो सम्भव छैन। त्यसको अर्थ हो हामी थप जोखिमको बाटोमा छौं। रोगी देशमाथि थपिँदै गरेको यो अर्को विमारी हो।

सम्भावित विमारीबाट बच्न अहिलेसम्म सरकारले गतिलो तयारी गर्न सकेको छैन। रामभरोसे सरकार आफैँ विरामी छ। सरकार चलाउने दल अझ धेरै संक्रमित भइसकेको छ। वामदेव गौतमदेखि डाक्टर युवराज खतिवडासम्मको विषयले सत्तारुढ दलमा फैलिएको संक्रमण कार्यकर्ता तहसम्म उत्रिएको छ। त्यसैले सरकार आफैँमा असमन्जस्यमा छ। सत्तारुढ दलले सभा सम्मेलन बन्द गरेको छ। त्यही सिको गर्दै प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि कार्यक्रमहरु स्थगित गरेको छ। सत्ता र प्रतिपक्षले गरेका निर्णय ठीकै होलान्। उप राष्ट्रपतिले त सार्वजनिक समारोहमा नजाने निर्णय नै गरिसकेका छन्।

उनी नजान सक्छन्। तर, लाखौं जनता नाममात्रको सार्वजनिक यातायातमा कोच्चिँदै यात्रा गर्न बाध्य छन्। उप राष्ट्रपतिको सार्वजनिक कार्यक्रममा नजाने निर्णय कोरनाको कहरकै बीच बसमा कोच्चिँदै यात्रा गर्नेका लागि व्यङ्ग्यभन्दा बढी के हुनसक्छ?

शिक्षा मन्त्रालयको निर्देशनदेखि पार्टीका निर्णय हुँदै जिल्ला प्रशासन कार्यालयहरुबाट जारी भएका निर्णयहरुले पनि सडकमा निजी सवारीको चाप केही घटाएको छ। तर, चाहेर पनि मानिसहरु घरमा रोकिन सक्दैनन्। जुन दिन रोकिन्छन्, चुलो बल्दैन। यद्यपि, मिलेसम्म मानिसहरु बाहिर निस्किन डराएका छन्। नडराउन पनि किन एउटा बस दुर्घटना भयो भने मात्रै पनि अस्पतालका इमर्जेन्सी कक्षका भुईँमा सुताएर उपचार गर्नुपर्ने देश हो यो। उपचार गर्ने ठाउँमा एउटै शैयामा तीन जनासम्म सुत्नुपर्ने देश हो यो। किनकि उपचार गर्ने सरकारी अस्पतालहरु नै दीर्घरोगी छन् यहाँ। अब त्यसमाथि कोरोनाको कहर थपिँदा ती अस्पतालको हालत कल्पना गर्नुस् कस्तो होला?

भाइरसको संक्रमण हुनुअघि सरकारले त्यसलाई निषेध गर्न के तयारी गरिरहेको छ? प्रश्न छ, जवाफ छैन। अर्थतन्त्रमा यसले कसरी असर पार्दैछ पक्कै पनि दोस्रो इनिङमा अर्थमन्त्री बनेका डाक्टर खतिवडालाई अन्दाज होला। अरु बाँकी त उही हो - देशमा पशुपतिनाथ छन्। तिनैको कृपाले जोगियौं भने एउटा भव्य मन्दिर बनाउनुपर्ला - 'कोरोनादेवी'को। किनभने देशमा यस्तै मन्दिरका लागि महायज्ञ गराउन र रकम संकलन गर्न सबैलाई छुट छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell