PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

सीताराम हाछेथुलाई ट्राफिक महिलाप्रति यूटर्न गराउने त्यो घटना...



फूलमाया पुरी

सीताराम हाछेथुलाई ट्राफिक महिलाप्रति यूटर्न गराउने त्यो घटना...

कोटेश्वरस्थित ट्राफिक प्रहरीको सम्पर्क कार्यालयमा थिए सीताराम हाछेथु। त्यसदिन आफ्नो नेतृत्वमा रहेका सबै ट्राफिक प्रहरीलाई सडकमा खटिन निर्देशन दिइसकेका थिए उनले।

मध्याह्नतिर एक पूर्व आइजिपीको फोन आयो।

'ए हाछेथु बानेश्वरमा ट्राफिक छैन किन हो?,' कुराकानीको सुरुवात नै प्रश्नबाट गरे। 

हाछेथु अलमलमा परे। केहीबेर अघिमात्र आफ्नो क्षेत्रमा खट्न सम्बन्धित ट्राफिकहरूलाई निर्देशन दिएका थिए। उनले जवाफ दिए, 'खटाएको थिएँ त।'

पुनः प्रश्न गरे आयो, 'खोइ कहाँ? यहाँ त कोही पनि छैनन् त।'

पूर्व आइजिपी त बानेश्वर चोकमै रहेछन्। त्यहाँको अस्तव्यस्त देखेर फोन गरेका रहेछन्। 

त्यसपछि तत्काल बानेश्वर पुगे सीताराम।

पूर्व आइजिपीले भनेजस्तै, आफूले खटाएको प्रहरी देखेनन् त्यहाँ। रिस उठ्यो उनलाई। पुनः कार्यालय हान्निए। आफूले खटाएको ट्राफिक क्वाटरमा सुतिरहेको थाहा पाए।

उनले सोधे, 'किन ड्युटीमा नगएको?'

'सर मिन्स भएर सहनै नसक्ने गरी पेट दुख्यो। जान सकिनँ', ती प्रहरी कर्मचारीले भनिन्।

हाछेथुले यस विषयमा त्यसअघि कहिल्यै सोचेकै रहेनछन्। घटनापछि मनन गरे, 'निकै ठूलो समस्या पो रहेछ।'

त्यस समय अर्थात् २०६१ सालमा कोटेश्वर क्षेत्रमा २९ जना महिला र ११ जना पुरुष ट्राफिक प्रहरी सीतारामको नेतृत्वमा खटिएका थिए। त्योबेला उनले महिला ट्राफिक प्रहरीका समस्यालाई नजिकबाट जाने।

एउटै घटनाले उनलाई महिला ट्राफिक प्रहरीका समस्याबारे सोच्न बाध्य बनायो। त्यसपछि उनले महिला ट्राफिकहरूका लागि विशेष व्यवस्था गरिदिए। महिनावारी हुँदा ड्युटी खटाउन छाडे। धेरै पेट दुखेको अवस्थामा दुईदेखि चार दिनसम्म आराम गर्न दिए।  

उनले थाहा पाए पुरुष ट्राफिकको तुलनामा महिला कर्मचारीलाई सडकमा खटिन कठिन रहेछ। पेशागतसँगै अन्य जिम्मेवारी पनि छन् भन्ने बल्ल सोचे उनले।

'हामीले लामो समयदेखि लैङ्गिक समानताको कुरा गर्‍यौँ। पुरुष सरह महिला ट्राफिक खटिए पनि। तर, हामी समान त कहिल्यै हुन सकेकै रहेनछौँ,' हाछेथुले आफ्नो बुझाइ अघि सारे, 'मैले त ती महिलालाई कर्मचारीको रूपमा मात्र हेरेँ। तर, त्यस घटनापछि उनीहरूको काँधमा घर सम्हाल्नु पर्ने जिम्मेवारी पनि छ। आमा हुनुको दायित्व पनि छ भन्नेबारे पनि सोच्नुपर्छ भन्ने भयो।'

२०५१ सालतिरको कुरा हो। पाटन चोकमा एक जना महिला ट्राफिक प्रहरी देखे। सडकको बीचमा उभिएकी उनी सबै गाडी पास भइसकेपछि पनि निर्देशन दिँदै हात हल्लाउँदै थिइन्। दृश्यले सीतारामलाई अचम्मित तुल्यायो। ती महिला छेउ गएर सोधे - 'गाडी त अघिनै गइसके त। तिमी त अझै हात हल्लाइरहेकी छौ नि?'

'सर मेरो बच्चाको दूध खाने समय भयो। उ घरमा एक्लै छ,' ती महिलाले मलिन स्वरमा भनिन्, 'पालो दिन आउने साथी आइपुग्नु भएन।'

आफ्नो बच्चा घरबेटीलाई छाडेर आएकी ती कर्मचारीको चिन्ताले हाछेथुलाई थकथकी लाग्यो। भने, 'महिला शिक्षित भए। काम गर्न थाले। ट्राफिक बनेर पुरुष सरह सडकमा खटिए। तर सामाजिक संरचना उस्तै छ। अझै पनि वातावरण सहज बनिसकेको छैन। काम गर्न मात्र होइन कहीँ जान, खान, हिँड्न छुट छैन।'

समाजले महिला र पुरुषका लागि फरक मान्यता स्थापित गरे पनि महिला र पुरुष दुवै ट्राफिक प्रहरीको जिम्मेवारी भने उस्तै रहेको बताउँछन् उनी।

घाम, पानी, हावाहुरी केही नभनी सडकमा खटिन्छन् उनीहरू। यसरी खटिँदा थाक्छन्। तर पनि थकाइ लाग्यो, एकछिन कतै बसौँ भन्न पाउँदैनन्। हुर्काइ र संस्कारमा भिन्नता छ तर काम भने बराबर।

महिला ट्राफिक प्रहरी मादक पदार्थ सेवन गर्ने सवारी चालकलाई कारबाहीका लागि खट्दाका कठिनाइ पनि उस्तै।

'अहिलेजस्तो मेसिनको व्यवस्था थिएन। त्यस्तोमा महिला कर्मचारीले दूर्व्यवहार सहनुपर्थ्यो। कति चालक हेपाहा शैलीमा मुख नै जोडौँला झैँ गरी सास सुँघाउन तम्सन्थे। कति जिस्क्याउँथे,' उनले सुनाए।

कतिले जिस्क्याउनकै लागि महिला ट्राफिकको छेउमा मोटरसाइकल रोक्ने अनि बिग्रिएको बहाना गरेर बोल्न आउने गरेको पनि देखेका छन् उनले।

'पुरुष सहकर्मीले वातावरण सहज बनाउन सघाउनुपर्छ भन्ने पनि त्यस्तै अवस्थामा बुझेको हुँ,' उनले भने।

यस्ता समस्या सम्बोधन गर्नकै लागि हो उनले रातको ड्युटीमा डेरा वा घरबाट टाढाको चोकमा महिला कर्मचारीलाई खटाउने 'सिस्टम' हटाएको।

पछिल्लो समय भने ट्राफिक प्रहरीलाई ड्युटीमा खटिन केही सहज भएको बुझाइ छ उनको। 'पहिले सडकको बीचमा उभिएर घाम पानी छेक्न कुनै व्यवस्था थिएन। तर, अहिले उनीहरूका लागि आइल्याण्डको (ट्राफिक पोस्ट) व्यवस्था छ, छानासहित।'

हाछेथुले प्रहरी सेवाबाट त अवकाश पाए। तर, ट्राफिक व्यवस्थापन, नियम, सडक अनुशासनबारे तालिम दिन सक्रिय छन्।

काठमाडौँ उपत्यकामा २०७३ वैशाख १ गतेदेखि आकस्मिक अवस्थाबाहेक अन्य समय हर्न निषेध गर्ने निर्णय भयो। निर्णय लागू हुन थप केही समय लाग्यो। अहिले उपत्यकाभित्र चर्को हर्न जहीँ त्यहीँ सुनिँदैन। यस्तो वातावरण बन्नुले पनि ट्राफिक प्रहरीलाई केही सहज बनाएको बताउँछन् उनी।

निर्णयअघि त ट्राफिक प्रहरीले हर्नको चर्का आवाज सुन्नै पर्थ्यो। सिट्ठी फुक्नु पर्ने अवस्था त अझै बाँकी नै छ।

'ध्वनि प्रदूषणकै कारण ८० प्रतिशत कान नसुन्ने समस्यासँग जुधिरहेको छु। श्वासप्रश्वासमा पनि समस्या देखिएको छ', उनले भने, 'सपना पनि ट्राफिक व्यवस्थापन गरेकै देख्थेँ। अहिले नतिजा भोग्दै छु।'

सीतारामकी श्रीमती, बिजु प्रधान सरकारी कर्मचारी हुन्। उपसचिव तहमा। श्रीमतीकै कारण पनि आफूलाई महिला कर्मचारीको मर्म बुझ्न धेरै सहयोग भएको भनाई छ उनको।

उनी कार्यालयको कामसँगै घरधन्दा पनि सम्हाल्थिन्। छोराछोरीको ख्याल राख्ने जिम्मेवारी पनि उनकै पोल्टोमा हुन्थ्यो। उनले सबै कुरा सम्हालिन् र आफूले सडकमा समय दिन पाएँ भन्ने बुझाइ राख्छन् हाछेथु।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell