काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनमा रहेका नेपालीहरुको सुरक्षाका लागि चिनियाँ सरकार, विदेश मन्त्रालय र स्थानीय सरकारसँग काठमाडौं स्थित चिनियाँ दूतावास निरन्तर सम्पर्कमा रहेको बताएकी छन्।
त्यस्तै, उनले चिनियाँ विदेश मन्त्रालय र त्यहाँको स्थानीय सरकारहरु नेपाली नागरिकहरुको सुरक्षाका लागि बेइजिङस्थित नेपाली दूतावाससँग निरन्तर सम्पर्कमा रहेको बताइन्। उनले नेपालमा संक्रमण फैलिन रोक्नका लागि चीनले नेपालका लागि हुने नियमित उडानलाई घटाएको बताइन्। समूहमा हुने भ्रमण तथा चिनियाँ कामदारहरुको फिर्तालाई रोक लगाएको पनि उनले जानकारी दिइन्।
बिहीवार दूतावासमा नेपाल टेलिभिजन र रेडियो नेपालसँग दिएको अन्तर्वार्ताका क्रममा राजदूत होउले नेपालमा संक्रमण फैलन नदिनका लागि चीनमा जारी भएको राष्ट्रिय अभियान, आपतकालीन जवाफदेही संयन्त्र लगायतका चिनियाँ अनुभव सहयोगी हुने भन्दै त्यसका लागि साझेदारी गरिने बताइन्।
'एउटा राम्रो आपतकालीन संयन्त्रले आवश्यक सामाग्री आपूर्ति र माहामारी रोकथाम तथा नियन्त्रणको काम प्रभावकारी हुनसक्छ,' उनले भनेकी छिन्, 'यस्तो संयुक्त राष्ट्रिय योजना सबै क्षेत्रको संलग्नतामा जवादेही तरिकाले हुनुपर्छ। सरकार, सामाजिक संघ संस्था र सर्वसाधारण जनताले आफ्नो ठाउँबाट जिम्मेवारी बहन गर्नुपर्दछ। खुला तथा पारदर्शी सूचनाले मानिसहरुको भावनालाई स्थिर राख्दै सरकारप्रतिको विश्वनीयता बढाउँछ। यसले नकरात्मक हल्लाहरुसँग लड्न पनि सहयोग पुर्याउँछ।'
महामारी रोकथामका लागि काठमाडौंस्थित चिनियाँ दूतावासले नेपालको संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयसहित सरोकारवाला निकायसँग नियमित सम्पर्क गरिरहेको राजदूत होउले बताइन्। त्यस्तै काठमाडौंस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधिसँग पनि दूतावास निरन्तर सम्पर्कमा रहेको उनले जानकारी दिइन्।
चिनियाँ दूतावासले सबै सरोकारवाला निकायसँग समन्वय गरी काम गर्नका लागि अधिकारी खटाएको उनको भनाइ छ।
राजदूत होउले नेपाल र नेपालीले चीनमा फैलिएको माहामारीबाट आक्रान्त चीन र चिनियाँ नागरिकहरु प्रति ऐक्यवद्धता र सद्भाव प्रकट गरेको भन्दै आभार प्रकट गरिन्।
'चिनियाँ जनताले यो सद्भाव र सहयोग भुल्ने छैनन्। नेपाल र नेपालीलाई आवश्यक पर्दा उनीहरुले यो सहयोग चुक्ता गर्ने छन्,' होउले भनिन्।
राजदूत होउल महामारीको असर चिनियाँ अर्थतन्त्रमा अल्पकालीन रुपमा पर्ने भए पनि चिनियाँ अर्थतन्त्र बलियो भएको र यस्ता चुनौतीको समना गर्न तयार रहेको बताइन्।
'महामारी नियन्त्रणपछि चिनियाँ अर्थतन्त्र छिट्टै नै स्थिर बन्ने छ र यसको भरपाइ गराउने छ,' उनले भनिन्, 'उदयीमान उद्योगहरु अनलाइन कार्यालय, दुर शिक्षा, अनलाइनको विकासले चिनियाँ अर्थतन्त्रलाई उच्च गुणस्तरको विकास दिलाएको छ।'
उनले महामारी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग र साझेदारी आवश्यक रहेको बताइन्। 'यो माहामारीले हामीलाई पुन: एकपटक बताएको छ कि भाइरसको कुनै सीमा हुँदैन् र यसबाट पीडित हुने भनेको मानव समाज नै हो,' उनले अगाडि भनिन्, 'देशहरुले विश्व स्वास्थ्य संगठनको छाताभित्र रहेर सहयोग साझेदारी र सहकार्यलाई थप बलियो बनाउँदै जानुपर्छ।'
विकसित देशहरुले वैज्ञानिक अनुसन्धानलाई अगाडि बढाउँदै विकासशील देशहरुलाई सहयोग प्रदान गर्नुपर्ने उनको भनाइ थियो। उनले चीनलाई अहिलेको अवस्थामा ६० बढी देश तथा ७ वट अन्तर्राष्ट्रिय संगठनहरुले सहयोग गरेको र चीनले पनि पाकिस्तान, जापान, दक्षिण कोरिया, इरान जस्ता प्रभावित देशहरुलाई सहयोग प्रदान गरेको बताइन्।
हाल चीनमा कोभिड-१९ विरुद्धको अभियान सकरात्मक देखिएको र वुहान, हुवेइ लगायतका अति प्रभावित स्थानमा नियन्त्रण तर्फ गएको भन्दै उनले अन्य क्षेत्रमा उद्योगहरु सञ्चालनमा आउन थालिसकेको बताइन्। 'अहिलेको महामारी नियन्त्रण तथा रोकथाम सजिलो छैन्, महामारीको अवस्थ अझै जटिल छ,' उनले भनिन्, 'महामारी अन्तर्राष्ट्रिय रुपमा फैलिँदै यसलाई नयाँ ढंगले अगाडि बढाउनुपर्ने छ।'
चीनमा राष्ट्रपति सि जिनपिङको नेतृत्वमा महामारी नियन्त्रणका लागि अगाडि बढाइएको उनको भनाइ थियो।