PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

अब्दुलाह ‘हत्या’ प्रकरणमा एसपी पन्तको चासो, घटनास्थलमा पुगेर परिवारजनसँग छलफल



राधेश्याम पटेल

अब्दुलाह ‘हत्या’ प्रकरणमा एसपी पन्तको चासो, घटनास्थलमा पुगेर परिवारजनसँग छलफल

वीरगंज : पर्साको पोखरिया-५ सतवरियाका १४ वर्षीय बालक मेराज भन्ने अब्दुलाह अन्सारीको ५ महिना पहिले  शंकास्पद मृत्यु भएको घटनामा पर्साकी प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तले चासो देखाएकी छन्। उनले बिहीवार घटनास्थलमा पुगरे मृतक बालकका परिवारजनसँग भेटघाट गर्दै घटनाको चुरो कुरा पत्ता लगाउन आफूले मातहतको अनुसन्धान टोली र अस्पतालका चिकित्सकसँग परमर्श गरेको बताइएकी छिन्।

गत असोज १९ गते अब्दुलाह दिउँसो १ बजेपछि बेपत्ता भएका थिए भने २० गते उनको शव गाउँको एक पोखरीमा फेला परेको थियो। सामान्य पोखरीमा बालक नडुब्ने भएकाले उक्त घटना शंकास्पद रहेको परिवारले बताएका छन्। अब्दुलाहका बुबा गनी अन्सारीले छोराको अपहरण गरी बेपत्ता पारेको र राति बालकको हत्या गरी पोखरीमा फालेको आरोप लगाएका छन्।

घटना भएको ५ महिना बितिसक्दा पनि प्रहरीले अपराधिलाई पक्राउ गर्न नसकेको भन्दै सर्वत्र आलोचना बढ्दै गएपछि प्रहरी उपरीक्षक पन्तले सो घटनाको सुक्ष्म रुपमा अनुसन्धान शुरु गरेको परिवारजनलाई आश्वासन दिएकी हुन्। तत्कालिन अवस्थामा हत्यामा संलग्न हुन सक्ने व्यक्तिहरुलाई समेत प्रहरीले सामान्य सोधपुछ समेत नगरेको भन्दै पीडित परिवारले स्थानीय प्रहरी प्रशासन तथा प्रदेश सरकारसमक्ष गुनासो गरेको थियो।

तर हालै प्रहरी उपरीक्षक पन्तले घटनाका बारेमा चासो देखाएपछि आफूलाई न्याय पाउने आस पलाएको मृतकका बुवा गनी अन्सारीले बताए।

घटनाको टुंगो लगाउन एक सातापछि बालकको फोक्सोमा फेला परेको पानी र पोखरीको पानीको स्याम्पल काठमाडौं ल्याबमा पठाइएको छ। उक्त पानीको रिपोर्ट आएपछि घटनाको वास्तविकता बाहिर आउने प्रहरी स्रोतले बताएको छ। घटनामा नारायणी अस्पतालका चिकित्सक डा अजित साहको पोस्टमार्टम रिपोर्टमा परिवारजनले असन्तुष्टि जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell