
- गणेश सुवेदी-
काठमाडौं : गत महिना फेब्रुअरीमा भारतबाट माग भन्दा एक हजार टन बढी ग्यास आयात भएको आयल निगमको तथ्यांकमा देखिन्छ।
दुई वर्षदेखि जाडो महिनामा सरदर ४० हजार टन ग्यास आयात हुँदा छेलोखेलो हुने गरेको छ। तर फेब्रुअरीमा ४१ हजार टन ग्यास आयात भएको छ। जाडो पनि हट्दै गएको छ। चैत महिनापछि ३५ हजार टनको हाराहारीमा ग्यासले महिनाभरिको माग धान्न पुग्छ। मार्च महिनामा पनि भारतबाट ग्यास सहज रुपमा आइरहेको छ।
तर अहिले कोरोना भाइरसको संक्रमणको हल्लासँगै ग्यासको माग एकाएक बढेको छ। अहिले उपभोक्ता-उपभोक्ताबीच एउटा हल्लाले डेरा जमाइरहेको छ- ‘भारतमा पनि कोरोना संक्रमण देखिएकोले ग्यास आयात बन्द हुन्छ।’
आफैँले उब्जाएको यो हल्लाले घरमा भएका सबै सिलिण्डर भर्न उपभोक्ता दगुरेका छन्। त्यसको असरको रुपमा ग्यास डिपोमा लाइन शुरु भएको छ।
यो हल्लाले सबैभन्दा बढी फाइदामा ग्यास बिक्रेता र उद्योगी भएका छन्। बिजुलीको प्रर्याप्ततासँगै ग्यासको बिक्री नभएर सुस्ताएका व्यवसायीको चमक एकाएक बढेको छ। अझ नाकाबन्दीको जस्तै नयाँ सिलिण्डर बेचेर उद्योगी मालामाल हुने बाटो खुलेको छ।
‘नाकाबन्दीपछि ग्यास बिक्री नभएर समस्यामा नै थियौँ। खाली सिलिण्डर १६ सय रुपैयाँमा बिक्री गर्नुपरेको थियो। अब केही महँगोमा बेच्न बाटो खुलेको छ’, एक उद्योगीले भने, ‘भारतबाट ग्यास सहज रुपमा आइरहेको छ। तर उपभोक्ताले नै बढी ग्यास राख्न चाहन्छन् भने हामीले केही मुनाफा राख्नु के उचित भो र?’
उनका अनुसार दुई वर्षको अवधिमा धेरै उद्योगीले घाटा खाएर नयाँ सिलिण्डर बिक्री गरेका थिए।
‘सबैले परेको मूल्य भन्दा कममा सिलिण्डर बेचेका थिए। कोरोनाले परेको मूल्यमा बिक्री गर्ने बाटो खुलेको छ,’ ती उद्योगीले भने।
उद्योगीको यो भनाइले पनि उपभोक्ता आफ्नै कारणले बढी मूल्यमा ग्यास थुपारिरहेका छन्। आयल निगमकै अधिकारीहरुको भनाइ मान्ने हो भने पनि ग्यास अभाव हुने कुनै कारण छैन।
निगम प्रवक्ता वीरेन्द्र गोइतले भने, ‘अभाव हुँदैन। आत्तिएर चाहिनेभन्दा धेरै सिलिण्डर जम्मा पार्नु मुर्खता हो।’
उनका अनुसार जनवरी महिनामा ३९ हजार १ सय २७ टन मात्रै ग्यास आउँदा पनि अभाव भएको थिएन।
‘त्यो बेलामा भारतका रिफाइनरी सफा गरेका कारण ग्यास आयात कम भएको थियो। तर, पनि अभाव भएन। तर अहिले माग भन्दा बढी ग्यास आउँदा पनि उपभोक्ता लाइनमा बसिरहेका छन्’, गोइतले भने, ‘हामी चाहिने भन्दा बढी त्रसित भएर आफैँ भड्खालोमा परिरहेका छौं।’
उनले अहिले बढी ग्यास किन्न खोज्दा कालोबजारीलाई हौसला मिलेको बताए।
‘त्रासका कारण खाली सिलिण्डर एकैपटक भर्न लागेका छन् त्यसैले लाइन लागेको हो’, गोइतले भने, ‘बजारमा आपूर्ति बढेको अवस्था हो भन्ने बुझ्नुपर्छ। चाहिनेभन्दा धेरै पेट्रोलियम पदार्थ घरमा राख्नु आर्थिक भार त हुँदै हो, जोखिम पनि हो।’
उपभोक्ता किन आतिए?
नाकाबन्दीका समयमा उपभोक्ताले पेट्रोलियम पदार्थको चरम अभाव खेपे। नेपाललाई पेट्रोलियम पदार्थ बिक्री गर्ने एउटा मात्रै कम्पनी इन्डियन आयल कर्पोरेसन (आइओसी)ले मागको एक चौथाइ मात्रै पेट्रोलियम पदार्थ दियो।
एक लिटर पेट्रोल र डिजल लिन घण्टौँ लाममा बस्नुपर्यो भने कतिपयले ग्यास नपाउँदा राजधानीमै दाउराबाट भात पकाए। त्यो बेलाको मनोवैज्ञानिक त्रास अहिलेसम्म पनि हटेको छैन। कुनै एउटा पेट्रोल पम्पमा तेल नदेख्ने बित्तिकै उपभोक्ताले चाहिने भन्दा बढी पेट्रोल भण्डारण गरिहाल्ने प्रवृति देखिएको छ। अहिले ग्यासको अभाव पनि त्यही मनोविज्ञानको उपज हो।
ग्यास नभए बिजुली
नाकाबन्दीको बेलामा जस्तो ग्यासनै नआउँदा पनि उपभोक्ता आतिनुपर्दैन। नाकाबन्दीका बेलामा नेपालमा प्रर्याप्त बिजुली थिएन। तर दुई वर्षको अवधिमा बिजुलीको प्रर्याप्तता छ। ग्यास नै नआएपनि बिजुलीबाट खाना पकाउन सकिन्छ।
‘ग्यास आएन भने पनि पहाड नै खस्दैन। हामीले बिजुलीबाट खाना पकाउन सकिन्छ। अहिले आत्तिनु पर्ने कुनै कारण छैन’, विद्युत प्राधिकरणका एक कर्मचारीले भने, ‘खाना नै पकाउन नपाएर भौकै बस्नुपर्ने अवस्था रहँदैन।’
धेरै सिलिण्डर राख्नु बम बराबर
घरमा आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर राख्नु बम राख्नु बराबर हुने निगमका प्राविधिक बताउँछन। त्यसले सिलिण्डर बिस्फोटका घटना निम्त्याउँछन्।
धेरै जसो आगलागीका घटनाहरु ग्यास सिलिण्डरको बिस्फोटबाट हुनुका साथै धनजनको क्षतिसमेत हुने गरेको छ।
‘सानो असावधानीले पनि दुर्घटाना हुन सक्छ, बढी संख्यामा सिलिण्डर घरमा राख्ने चलन जोखिमपूर्ण हो, यसले क्षति निम्त्याउँछ’, प्रवक्ता गोइतले भने, ‘ग्यास अभाव हुँदैन, धेरै सिलिण्डर घरमा राख्नु पर्दैन।’
मुलुकमा हाल ५५ ग्यास उद्योग छन्। सबैजसो उद्योगले बजारमा नियमित सिलिण्डर पठाइरहेका छन्।