PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

वीरगंजमा पनि मास्क अभाव, चिकित्सक भन्छन्, ‘सर्जिकल मास्क नपाए कपडाको सिलाएर लगाउनु’



राधेश्याम पटेल

वीरगंजमा पनि मास्क अभाव, चिकित्सक भन्छन्, ‘सर्जिकल मास्क नपाए कपडाको सिलाएर लगाउनु’

वीरगंज : चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको त्रास अहिले विश्वभर छ। छिमेकी मुलुक भारतका विभिन्न राज्यमा पनि दुई दर्जन बढी बिरामीहरूमा कोरोना पोजिटिभ देखिएको अवस्थामा नेपालको मुख्य भन्सार नाका वीरगंजमा पनि यसको त्रास उत्तिकै छ।

नाकाबाट बिरामी भित्रिन सक्ने सम्भावना उच्च रहेका बेला वीरगंजमा अहिले मास्कको हाहाकार भएको छ। वीरगंजका विभिन्न पसलदेखि सर्जिकल स्टोर्स र अस्पतालमा समेत मास्कको कृत्रिम अभाव सृजना गरिएको सर्वसाधारणहरूको गुनासो छ। ५ रुपैयाँ पर्ने सर्जिकल मास्क र करिब ४ सय रुपैयाँ पर्ने ‘एन ९०’ तथा ‘एन९५’ मास्क पनि भेट्न गाह्रो भएको वीरगंज नारायणी अस्पतालका चिकित्सक डा उदयनारायण सिंहले बताए।

उनले बजारमा मात्रै नभई अस्पतालका लागि पनि खरिद गरी ल्याइने मास्कको अभाव भएको बताए। उनले १० दिन अगाडि चीनबाट मास्क खरिद गर्ने एजेन्टहरूको टोली वीरगंज आएको बताए। उनीहरुले भारतबाट आयातित मास्क खरिद गरी लगेका कारण वीरगंजमा अहिले मास्कको उच्च अभाव देखिएको उनले बताए।

मास्कको अभाव भइरहेको अवस्थामा कपडाको मास्क सिलाएर पनि प्रयोग गर्न सकिने चिकित्सकले बताएका छन्। मास्क नभएको अवस्थामा रूमालको अत्यधिक प्रयोग गर्ने, हाँच्छयु आउँदा रूमाल अथवा हातले मुख छोप्ने वा हातको कुहिनाको भागले नाक छोपेर खोख्दा मास्कको आवश्यकता नपर्ने डा सिंहले बताए।

कोरोना भाइरसको संक्रमणबाट बच्न सरसफाइमा विशेष ध्यान दिनुपर्ने, बाहिरबाट घर प्रवेश गर्दा साबुन पानी वा सेनेटाइजरले हात मुख धुनुपर्ने, भीडभाडमा नजाने, होली मिलन कार्यक्रम, सभा सम्मेलनलगायतको कार्यक्रमहरू बहिष्कार गर्नु पर्ने डा सिंहले सुझाव दिएका छन्।

नेपालमा अहिलेसम्म एकजना बिरामीमा मात्र कोरोना भाइरसको संक्रमण देखिएको थियो तर पछिल्लो समयमा भने एक जनामा पनि संक्रमण देखिएको छैन।

चीनबाट कच्चा पदार्थ रोकिएपछि मास्कको चरम अभाव

सर्जिकल सामान आयात गर्ने वीरगंजका व्यवसायीहरुले मास्क र सेनिटाइजर सम्बन्धी समानको चरम अभाव हुनुको कारण चीनबाट कच्चा पदार्थ रोकिनु रहेको बताएका छन्। भारतबाट माग गरिएको सामान नआउँदा पनि मास्कको अभाव सिर्जना भएको व्यवसायीहरुको तर्क छ।

पर्सा साइन्स इम्पोरियरका सञ्चालक शशि श्रीवास्तवले चीनबाट मास्क बनाउने कच्चा पद्धार्थ नआएर अन्य देशले उत्पादन गर्न नसकेको र बिक्री गर्ने विदेशी सप्लार्यसले पनि आफनो देशमा आवश्यकता पर्छ भनी निर्यात नगर्नाले नेपालमा अभाव भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell