
भक्तपुर : सूर्यविनायक नगरपालिका-५ चुनदेवीस्थित सडकमा शुक्रवार सूर्यविनायकबाट सल्लाघारीतर्फ जाँदै गरेको प्रदेश नम्बर ३-०१-००३ प ४६४७ काठमाडौं वर्ल्ड स्कूलको भ्यानका कारण एकै पटक १० वटा सवारी साधन एकापसमा ठोक्किएका छन्। सो दुर्घटनामा १५ जना घाइते भएका छन्।
भ्यानले सडकमा अचानक ब्रेक लगाउँदा पछाडि आउँदै गरेको बा १६ च ४३६१ नम्बरको टाटा मोबाइल गाडीले ठक्कर दिई दुर्घटना हुँदा सो टाटा पछाडि आउँदै गरेको बा ४१ प ४४०९ नम्बरको मोटरसाइकल, बा ३ ख ३३४९ नम्बरको बस, प्रदेश ३ बा २८३६ नम्बरको कार, बा ७० प ४४४५ नम्बरको मोटरसाइकल, प्रदेश नम्बर ३-०२-००७ प ९६६४ नम्बरको स्कुटर, प्रदेश नम्बर ३-०१-००३ क ४६४४ नम्बरको भ्यान, प्रदेश नम्बर ३-०१-००३ क ४६४१ नम्बरको भ्यान, प्रदेश नम्बर ३-०२-०१० प ३७६३ नम्बरको मोटरसाइकलसमेत गरी १० वटा सवारीसाधन ठोक्किएका थिए।
सो दुर्घटनामा १५ जना घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। घाइतेहरुको भक्तपुरको सल्लाघारीस्थित डा इवामुरा अस्पतालमा उपचार भइरहेको र उनीहरु खतरामुक्त रहेको प्रहरीको भनाइ छ।