PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

क्रिकेट, फुटबलदेखि बक्सिङसम्म कोरोनाको राज, रोकिए महत्वपूर्ण खेलहरु



मुकुन्द घिमिरे

क्रिकेट, फुटबलदेखि बक्सिङसम्म कोरोनाको राज, रोकिए महत्वपूर्ण खेलहरु

काठमाडौं : कोरोना भाइरसको प्रभावले सामाजिक, आर्थिक तथा राजनीति क्षेत्रमा जति प्रभाव पारिरहेको छ, खेलकुदमा पनि त्यतिकै प्रभाव पारिरहेको छ।

नेपाली खेलकुदमा कोरोनाको पहिलो प्रत्यक्ष प्रभाव बक्सिङमा परेको थियो। चीनको बुहानमा हुने प्रतियोगिता एक महिना पछि सरेसँगै टोकियो ओलम्पिकका लागि तयारीमा रहेका नेपाली खेलाडीको खेल तालिका समेत पछि सरेको थियो। अहिले नेपाली खेलाडी बक्सिङ छनोटका मिनु गुरुङ र सनिल शाही टोकियो ओलम्पिक छनोटका लागि जोर्डनको अम्मान पुगेका छन्।

त्यस्तै नेपाली क्रिकेट पनि अप्रत्यक्ष रुपले कोरोनाको प्रकोपबाट प्रभावित रह्यो। एसिया कप खेल्न थाइल्यान्ड जाने भए पनि चीन, म्यानमार र भुटानले अन्तिम समयमा कोरोनाकै कारण हात पछि सारेपछि पाँच राष्ट्रमात्र प्रतियोगितामा सहभागी भए।

त्यस्तै क्रिकेटका क्रिस गेल जस्ता ठूला हस्तीहरुको नाम उद्घोष गर्दै नेपाली खेल क्षेत्रमा सबैको ध्यान तान्न सफल भएको इपिएल पनि पछि सर्‍यो। र, यसको पनि कारण थियो कोरोना भाइरस। चैत १ देखि १५ गतेसम्म निर्धारण गरिएको यो प्रतियोगिता अन्तिम समयमा आएर अनिश्चित समयका लागि पछि सरेको छ। इपिएल आयोजना गर्दा धेरै संख्यामा दर्शकहरु उपस्थित हुने र भाइरसको संक्रमण फैलिन सक्ने विषयलाई बुझ्दै सरकार र सरोकारवालासँग छलफल गरेर यसपटकको इपिएल स्थगित गरिएको इपिएलका कार्यकारी निर्देशक अमिर अख्तरले बताए।

त्यस्तै अवस्था छ फुटबलको पनि। लामो समयपछि नेपाली टिमले घरेलु मैदानमा खेल्ने अवसर जुट्दै थियो। अस्ट्रेलिया जस्तो विश्वकप खेलिसकेको टिमलाई घरेलु मैदानमा भित्र्याउने तयारीमा थियो नेपाल। त्यस्तै चाइनिज ताइपेइसँग पनि यही चैतमै नेपालले खेल्ने तालिका थियो। यी सबै खेल गतिविधिहरु कोरोना भाइरसका कारण पछि सरेका छन्। अरु त अरु बिहीवार मात्र खेलतालिका निस्किएको उपमेयर कप महिला राष्ट्रिय लिग पनि पछि सरेको छ। एन्फाले बिहीवारमात्र चैत ३ गतेबाट शुरु हुनेगरी महिला लिगको तालिका प्रकासित गरेको थियो।

कोरोनाबाट हुनसक्ने सम्भावित खतरालाई मध्यनजर गर्दै एन्फाले नेपाली फुटबल टोलीको तालिमसमेत अहिलेलाई स्थगित गरेको छ।

त्यस्तै गणेशमान सिंहको स्मृतिमा सञ्चालन भइरहेको राष्ट्रिय बक्सिङ प्रतियोगिताका गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगिता र काठमाडौंमा आगामी चैत १८ देखि २२गतेसम्म तय भएको राष्ट्रिय प्रतियोगिता पनि अर्को सुचना जारी नभएसम्मका लागि भन्दै आयोजकले स्थगित गरेको छ।

यस्तै राष्ट्रिय खेलकुद परिषदको निर्देशन पछि मोफसलमा हुने भनिएको फुटबल लिगहरु पनि प्रभावित बन्ने देखिएको छ। यद्यपि जारी लिगहरु भने सम्वन्धित निकायहरुसँगको समन्वयमा सम्पन्न हुने एन्फाले जनाएको छ।

राखेपको निर्देशन

कोरोना भाइरसको प्रकोपको सम्भावित क्षतिलाई मुल्याङक गर्दै युवा तथा खेलकुद मन्त्रालयले खेल गतिविधि नगर्न भन्दै विज्ञप्ती निकालिसकेको छ। बिहीबार युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले तत्काललाई ठूला खेल गतिविधि नगर्न सुचित गरेको थियो।

बिहीवारको बैठकमा अहिलेको अवस्थामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगिताहरु सम्बन्धमा पनि छलफल भएको थियो। राखेपको प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले परिषद्ले सम्पूर्ण खेल संघ, संस्थाहरु तथा सरोकारवालालाई समन्वय गराउन आवश्यक व्यवस्था मिलाउने सम्बन्धमा निर्णय भएको जनाए।

‘हालको अवस्थामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगिताहरु सञ्चालन गर्ने सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीतिगत निर्णयको सीमाभित्र रही युवा तथा खेलकुद मन्त्रालयसँग समन्वय गरी परिषद्ले सम्पूर्ण खेल संघ, संस्थाहरु तथा सरोकारवालाहरुलाई सोही अनुरुप गर्न गराउन आवश्यक व्यवस्था मिलाउने सम्बन्धमा समेत निर्णय भएको व्यहोरा अनुरोध गर्दछु,’ बिहीवार राखेपले जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

त्यस्तै, राष्ट्रिय खेलकुद परिषद्ले कोरोना भाइरसको संक्रमण हुन सक्ने संवेदनशीलतालाई ध्यानमा राखेर गोष्ठी, सेमिनार लगायत कुनै पनि खेलकुद वा मनोरञ्जनका कार्यक्रमहरु लगायतका भिडभाड हुने कार्यक्रम रोक्न समेत निर्देशन दिइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell