PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

बैतडीका लेकाली क्षेत्रमा पुनः हिमपात, जनजीवन कष्टकर



रासस

बैतडीका लेकाली क्षेत्रमा पुनः हिमपात, जनजीवन कष्टकर
फोटो : रासस (फाइल)।

बैतडी : बैतडीका उच्च लेकाली क्षेत्रमा फेरि हिमपात भएको छ। बिहीवारदेखि मौसममा आएको परिवर्तनसँगै आज बिहान उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो। खोड्पे, श्रीभावर, गर्जेलगायतका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन्।

यो वर्ष लगातारको वर्षा र हिमपातले अझै पनि चिसो कम हुन नसकेको पाटन नगरपालिका-८ खोड्पेका मोहनसिंह ऐरले बताए। लगातारको वर्षा र हिमपातले चिसो बढेको उनले बताए।

यो वर्ष फागुन अन्तिम सातासम्म हिमपात नरोकिएपछि उच्च लेकाली क्षेत्रमा चिसोले जनजीवन कष्टकर भएको सिगास-९ चौखामकी लक्ष्मीचन्द शाहले जानकारी दिए। वर्षा र हिमपातले अत्यधिक चिसो बढ्दा बाहिर निस्कनसमेत मुस्किल भएको उनले बताए।

चिसोको समयमा स्वासप्रस्वास र निमोनियाजस्ता रोग लाग्न सक्ने भएकाले यो बेला वृद्धवृद्धा र बालबालिकाको स्वास्थ्यमा ध्यान दिन स्वास्थ्यकर्मीले बताएका छन्। यो वर्ष हिमपात र वर्षा नरोकिएपछि बेँसी क्षेत्रमा गहुँबालीमा समेत असर परेको छ।

बेँसी क्षेत्रमा वर्षाका कारण गहुँबालीमा क्षति पुगेको किसानले बताएका छन्। लगातारको वर्षाको कारण गहुँमा विभिन्न रोग देखा परेका कृषि प्राविधिकले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell