PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

जब बेनीका युवाले नगरपालिकामै संसद बैठक सञ्चालन गरे...



रासस

जब बेनीका युवाले नगरपालिकामै संसद बैठक सञ्चालन गरे...
म्याग्दीको बेनीमा आयोजना गरिएको नमुना युवा संसदको अभ्यास कार्यक्रममा सहभागीहरु। फोटो : सन्तोष गौतम/रासस।

म्याग्दी : बेनी नगरपालिका-८ कालीपुलकी सोनीया पुनको अगाडि सभामुख लेखिएको ‘नेम प्लेट’ थियो। सोफामा बसेकी उनको पछाडि दौरा सुरुवाल लगाएका मर्यादापालक संयमित भएर उभिएका थिए।

पुन हलभित्र पस्दा र बाहिरिँदा उनको सम्मानमा लहरै बसेका सहभागीले उठेर सम्मान गर्थे। सहभागीले सत्तारुढ दलका र प्रतिपक्षी दलका सांसद्को रुपमा मञ्चमा गएर प्रश्न गर्थे। अनि त्यसैगरी उत्तर पनि दिन्थे।

शुक्रवार बेनीमा भएको नमूना युवा संसद्को अभ्यासको दृश्य संघीय, प्रदेश संसद र स्थानीय तहका सभा बैठककै जस्तो झल्को दिने खालको थियो। बेनी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा युवायुवतीको क्षमता तथा नेतृत्व विकास गर्ने उद्देश्यले नमूना संसद्को अभ्यास गरिएको हो।

नगरपालिकाको दश वटै वडाबाट २७ युवायुवतीको कार्यक्रममा सहभागिता थियो। उनीहरुले व्यवस्थापिका संसद् सञ्चालनको अभ्यास गरेका थिए। सभामुख, प्रधानमन्त्री, मन्त्री, सत्ता, प्रतिपक्ष दलको सांसदको रुपमा सदनमा बोल्ने र जवाफ दिने प्रक्रियाको बारेमा उनीहरुले निकै रोचकरुपमा अभ्यास गरेका हुन्।

संसद् बैठक सञ्चालनको झल्को दिने गरी अभ्यास गरेका थिए। उदय सुन्दास प्रधानमन्त्रीको भूमिकामा प्रस्तुत भएका थिए। वरपर दर्शकदीर्घामा बसेर बैठक सञ्चालन गरेको अवलोकन गर्ने व्यवस्था मिलाइएको थियो। क्याम्पस र विद्यालयका विद्यार्थी नमूना संसद्को अभ्यास अवलोकनका लागि आएका थिए।

उनीहरुले शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार विकाससम्बन्धी विषयमा संसद्मा प्रस्ताव पेश गर्ने, सम्बद्ध मन्त्री र प्रधानमन्त्रीको जवाफ माग्ने, विधेयक दर्ता, छलफल र निर्णयार्थ प्रस्तुत गर्ने अभ्यास गरेका थिए। कूल १३ युवती र १५ युवा नमूना युवा संसद्को अभ्यासमा सहभागी भएका थिए। उनीहरुलाई तीन दिनसम्म संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा तालीम दिइएको नगरपालिकाका अधिकृत युवराज थापाले बताए।

युवाको क्षमता र नेतृत्व विकास गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताए। संविधानसभाका सदस्य नवराज शर्माले युवायुवतीको नमूना अभ्यासले वास्तविक संसद् हलभित्रै बसेकोजस्तो अनुभव व्यक्त गरे।

शर्मा र प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले तथ्य र सैद्धान्तिक विषयमा तथ्याङ्कसहित प्रस्तुत भएमा तर्क गर्न सकिने सुझाव दिए। बेनी नगरपालिकाको शिक्षा अधिकृत अर्जुन पौडेल, स्रोत व्यक्ति जयराम सुवेदी, समिर रोका र दर्पण रोकाले सहभागीलाई सहजीकरण गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell