अग्लो कद, ३१ वर्ष। भलिबल खेल्ने जोश गजबकै छ। तर, पछिल्लो समय चोटले करियर अघि बढाउन कठिन भइरहेको छ, कुल थापालाई।
नेपाली भलिबलमा थापाको नाम नयाँ होइन। राष्ट्रिय टिममा उनले लामो समय यता खेल्दै आएका छन्। एकातिर उत्साह अर्कोतिर चोटले गाह्रो पारेको छ, उनलाई। नसा च्यापिएर ढाड दुख्ने गरेकाले उनको खेल करियर अनिश्चित जस्तै बनेको छ। उनको ढाडको दुखाइले खेलमा फर्कन गाह्रो भइरहेको छ।
उनको करियरमा ढाड दुख्ने समस्याको चाहिँ छुट्टै कथा छ। खासमा भलिबलमा उनको उदयको कारण पनि त्यही नै थियो।
+++
उनी सानैदेखि भलिबल राम्रो खेल्थे। उनी खेलमा त राम्रा थिए नै, टिम म्यानेज पनि राम्रै गर्थे।
कुरा १५ वर्ष अघिको। लुम्बिनीमा अञ्चलस्तरीय खेल थियो। ढाड दुखेर खेल्न नसक्ने भए पनि उनी 'टिम म्यानेज गर्छु' भनेरै बसे। खेल्ने उनको अवस्थै थिएन। उनलाई के भएर दुखेको भन्ने पनि थाहा भएन। अहिले जसरी नसा च्यापिँदा दुख्छ त्यसरी नै दुख्थ्यो उनलाई।
तर, खेलाडीका रुपमा राम्रो तयारी समेत गर्न नसकेका उनले भोलिपल्टको खेल खेले। जिते पनि। उनी यही घटनालाई जीवनको टर्निङ प्वाइन्ट मान्छन्।
'त्यतिबेला मैले कसरी खेलेँ थाहा छैन। त्यस्तो गाह्रो भएको थियो अघिल्लो दिनसम्म। भोलिपल्ट हल्का महसुस गरेर खेलेँ। त्यसपछि बीचमा कहिल्यै त्यतिसारे दुखेन।'
त्यही दुखाई सहेर संघर्ष गरेका उनी निरन्तर १५ वर्ष देखि खेलिरहेका छन्। बीचमा समस्या दोहोरिएन। र, खेल करियर मस्तसँग चल्यो।
तर, पछिल्लो समय उनलाई त्यही पुरानो समस्याले झक्झकाउन थालेको छ। फेरि खेल्न नसक्ने पो हुँ कि भन्ने पनि डर पलाउन थालेको छ।
'चोटमा छु। भलिबलमा फर्कन पनि सक्छु नफर्किन पनि,' उनको बोलीमा संशय सुनियो।
+++
क्रिकेटका अलराउन्डर सोमपाल कामी र हरि थापाको गाउँ एउटै। जिल्ला गुल्मी।
सोमपाल क्रिकेटमा चम्किए, हरि भलिबलमा। सानैदेखि भलिबल खेल्न थालेका उनलाई पहिलोपटक भलिबल कोर्टमा उत्रेको याद छैन। अग्ला कद भएकाले गाउँमा उनलाई भलिबल खेल्न निम्तो आइरहन्थ्यो।
घरका माइला छोरा हुन् उनी। बुबा भारतीय सैनिक। खेलकुदमा चासो राख्ने पनि। उनी खेलतिर तानिनुमा उनका बाबु नै कारक बने।
'सानैदेखि मलाई दाइहरुले भलिबल खेलाई हाल्थे। हाइट अग्लो थियो। सानासँग त अरु उठेर म बसेर पनि खेल्थ्यौं। स्कुलबाट आएपछि ढुक्कै भलिबल खेल्थ्यौं,' नेपाली भलिबल टिमका उपकप्तान समेत रहेका थापाले विगत सम्झिए, 'वडास्तरीय खेलहरु खेलिन्थ्यो। पछि माओवादी द्वन्द्व बढेपछि त्यो हुन छाड्यो।'
त्यसभन्दा पनि अघि झुम्राको बल बनाएर भलिबल खेलको थापाको मानसपटलमा धमिलो तस्बिर जिवितै छ।
त्यसताका उनी गाउँमै रमाइलोका लागि खेल्ने गर्थे। उनले भलिबलबाटै आफ्नो करियर बन्न सक्छ भन्ने चाहिँ धेरै पछिमात्र सोच्न थालेका हुन्।
'गाउँमा वडास्तरीय या खसी कपहरुमा खेलिन्थ्यो। भलिबलबाटै जीवन अघि बढ्ला भनेर त धेरै पछि मात्र सोचेको हुँ,' उनले भने।
इन्डियन आर्मीको लहड
बुबा इन्डियन आर्मीमा भएकाले लाहुर जाने रहर पनि उनमा गढ्यो। अरु युवाजस्तै लाहुरे बन्ने होडमा मिसिए पनि। माध्यमिक तहसम्म पढ्दा कक्षाको अब्बल विद्यार्थी उनी त्यसपछि भने पढाइमा अगाडि धेरै बढेनन्।
'एसएलसीपछि प्लस टु गरियो। त्यसपछि ब्याचलरमा भर्ना भएर पनि खेलकै व्यस्तताका कारण पढाइलाई अगाडि बढाउन चाहिँ सकिन,' उनले सुनाए।
पढाइ छुटेपछि उनको ध्यान सबै भलिबलमै केन्द्रित भयो। अर्कोतर्फ लाहुरे बन्न फेसन जस्तै बनेको थियो, त्यतिबेला। उनी पनि कस्सिए इन्डियन आर्मी बन्नलाई।
इन्डियन आर्मीका लागि अभ्यासमा सहभागी हुन थाले। भिड्न पनि गए। तर, पछि आमा बिरामी परेपछि फर्किए। र, इन्डियन आर्मीमा जाने कुरा पनि सेलायो। भलिबल खेल्न फेरि शुरु गरे।
गाउँ फर्कनुको अर्को पनि कारण थियो, सिल्ड पचाउने। गाउँको भलिबल प्रतियोगितामा त्यस अघिका लगातार दुई संस्करण आफ्नो टिमलाई जिताएका उनलाई गाउँ फर्किएर तेस्रो संस्करण पनि जितेर रनिङ सिल्ड जित्ने रहर थियो। र, भयो पनि त्यस्तै।
+++
गाउँमा ७५/७५ रुपैयाँ उठाएर भलिबल खेलेको सम्झन्छन् उनी। त्यतिबेलाको भूमिस्थान क्लबबाट खेल्थे। जनयुद्ध सकिँदै गर्दा उनले शहीद स्मृति मजदुर क्लबबाट खेल्दै हेटौंडामा उदयीमान खेलाडीको अवार्ड पाए। उनको टिमले २ लाखसँगै प्रथम गणतान्त्रिक कप जित्यो।
'त्यस बेला २ लाख भनेको भलिबलमा धेरै ठूलो पुरस्कार थियो। हामी त खसी कपमा पनि खेल्ने गरेका थियौं,' उनले हाँस्दै सुनाए।
भलिबलमा उनी प्रतिवद्ध भएर लागेको २०६३ साल पछि हो। १० वर्षे माओवादी जनयुद्ध सकिएसँग गाउँमा अवस्था सहज हुँदै आयो। उनी गाउँबाट बुटवल झरे, जिल्लास्तरीय र क्षेत्रीय भलिबल खेल्ने लक्ष्यका साथ। पाँचौं राष्ट्रिय खेलकुदमा सहभागी हुन उनी तनहुँ पनि गएका थिए। तर, छानिएनन्। सुरुमा भलिबलमा 'एडजस्ट' हुन गाह्रो भयो। गाउँमा हुँदा एउटै स्थानमा खेल्ने बानी। बाहिर गएर रोटेसनमा खेल्नु पर्यो। एकदमै गाह्रो भयो उनलाई। तर, विस्तारै बानी पर्दै गयो।
उनी भलिबलको व्यवसायिक यात्रामा अघि बढेको भने त्रिभुवन विश्वविद्यालयले गराएको कलेजस्तरीय भलिबल प्रतियोगिताबाट हो। त्यतिबेला पृथ्बीनारायण क्याम्पसबाट खेलेका उनी बेस्ट स्पाइकर बनेका थिए।
भलिबलमा उनी व्यवसायिक हिसाबले अघि बढ्दै गए। बीचमा क्यासिनोमा काम पनि गरे। तर, पछि फेरि भलिबलमै 'फुलटाइमर' बने।
२०६७ सालमा उनी नेपाल पुलिस क्लब पुगे। विभागीय टिममा सेक्युर भइन्छ भन्ने पनि उनलाई लागेको थियो। पुलिसमा त्यतिबेला पश्चिम नेपालका धेरै खेलाडी थिए। उनी पनि पश्चिमकै। टिममा सेट हुन समय लागेन।
+++
पहिलाको तुलनामा भलिबल खेल फेरिएको जस्तो लाग्छ थापालाई। नयाँ तरिका र स्किलले पुरानो खेल नमिलेको लाग्न थालेको छ उनलाई। त्यसैले भलिबलको बदलिँदो ट्रेन्डसँग घुलमिल हुन भलिबलको आधारभूत तहमा जोड दिनुपर्ने सुझाउँछन उनी।
'अहिले भनेको गाउँमा आँफै खेलेर, आँफै सिकेर आएका खेलाडी नै हुन्छन् टिममा। तर, ग्रास रुटदेखि नै भलिबल बुझेर एकेडेमीबाट सिकेर खेलाडी आउने हो भने भलिबल अझै अर्को स्तरमा पुग्छ जस्तो लाग्छ,' उनले भने।
पहिला जस्तो भलिबल खेलेर बाँच्न नसकिने अवस्था अहिले नरहेको उनी बताउँछन्।
नेपाली भलिबलबाट पलायन भएका दुई खेलाडीलाई उनी धेरै सम्झन्छन्, सन्जय अर्याल र नरेन्द्र शाही।
'दुवैजना एकदमै राम्रा खेलाडी थिए। एकजना विदेश गए। एकजना इन्ज्युर्ड भए। उनीहरुलाई चाहिँ रोक्न सक्नुपर्थ्यो जस्तो लाग्छ,' उनले भने।
खेल करियरको करिब अन्तिम तिर रहेको ठान्छन् उनी। तर पनि भविष्यमा भलिबलकै क्षेत्रमा रहने सोचमा छन्।
यस वर्ष भलिबलतर्फ वर्षको उत्कृष्ट खेलाडी भए उनी। नेपाल भलिबल संघका तर्फबाट उनले पुरस्कार पाए। भलिबल प्रतियोगितामा कुनै न कुनै पुरस्कार जितिरहने कुल (हरि) लाई भलिबल संघबाट आधिकारिक अवार्ड पाउँदा खुशी लागिरहेको थियो।
'धेरै खुशी लागि रहेको थियो। खेल जीवनको लगभग अन्त्यतिर वर्ष खेलाडी बन्न पाउँदा,' उनले सुनाउँदै गए, 'त्यतिबेला मलाई लाग्यो फेरि पनि राम्रो खेलेर अर्को वर्ष पनि उत्कृष्ट खेलाडी बनुम्।'
अहिले उनीसँग खेलिरहेका भलिबल खेलाडी उनी भन्दा निकै कम उमेरका छन्। उनले खेल जीवन सुरु गर्दा जन्मेकाहरु उनीसँगै भलिबल खेल्छन्।
कहिलेकाही गाउँ पुग्दा उनका साथीहरु जिस्किँदै उनलाई 'तिमी कहिल्यै बुढो हुँदैनौं?' भनेर जिस्काइरहन्छन्। गाउँघरकाले उनीसँग अझै आश राखेको उनको बुझाइ छ। तर, साथीभाइको आशामा खरो उत्रन सक्ने बारेमा उनलाई अहिले चिन्ताले पलेको छ। कारण त्यही ढाडको दुखाइ।
भन्छन्, 'ढाडको दुखाई कम भए म फेरि मैदानमा उत्रनेछु।'