PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

व्यवसायी क्यालले तीन ट्रक सेनिटाइजर र पञ्जा लुकाएको आरोप, उनी भन्छन् : माग उच्च छ, सामान छैन



राधेश्याम पटेल

व्यवसायी क्यालले तीन ट्रक सेनिटाइजर र पञ्जा लुकाएको आरोप, उनी भन्छन् : माग उच्च छ, सामान छैन
होप्सीकेयरका सञ्चालक सुमित क्याल।

वीरगंज : विश्वको ८० भन्दा बढि देशमा फैलिएको कोरोना भाइरसको त्रास वीरगंजमा पनि बढेको छ। यस्तोमा भारतसँग खुल्ला सिमाना रहेको वीरगंजमा मास्क, सेनिटाइजर, साबुनलगायत समानको हाहाकार भएको छ।

केही व्यवसायीहरुले कृत्रिम अभाव सृजना गर्न बिक्री ठप्प पारेको उपभोक्ताको गुनासो छ। बिक्री गर्ने समान गोदाममा लुकाएको भन्दै एक सातापछि महँगो दाममा बेच्न उनीहरुले त्यसो गरेको उपभोक्ताले गुनासो गरेका छन्।

वीरगंज-६ रेशमकोठीमा रहेको होप्सीकेयरका सञ्चालक सुमित क्यालले आफनो रानीघाटमा रहेको गोदाममा तीन ट्रक सेनिटाइजर, लोशन र मास्क लुकाएर राखेको आरोप लागेको छ। बजारका रिटेलर पार्टीहरुले सामान खरिदको लागि पटकपटक अनुरोध गर्दा पनि उनले आफूसँग सेनिटाइजरलगायत सरसफाइजन्य समान नरहेको भन्दै आएका छन्।

होप्सीकेयर वीरगंज दिल्लीको नैन्ज फर्मा नेपालको आधिकारित विक्रेता हो। यसले भारतको दिल्लीबाट सामान मगाएर नेपालको विभिन्न मुख्य शहरमा बेच्दै आएको छ। तर, मास्क, सेनिटाइजर अभाव भइरहेको अवस्थामा स्टक सकिएको भन्दै महँगो दाममा बेच्ने रणनीति अनुसार समान गोदाममा लुकाएको एक जना रिटेलर व्यवसायीले बताए।

‘३ सय २५ रुपैयाँमा ५ सय मिलिलिटरको सेनिटाइजर ६ सय रुपैयाँमा बेच्ने होप्सीकेयरको रणनीति छ’, उनले भने, ‘त्यसैले पैसा एडभान्स दिँदा पनि समान बेचिरहेका छैनन्, लुकाएर राखेका छन्।’

सरकारले मास्क र सेनिटाइजरलगायत सामानको भाउ बढाएर कुनै व्यवसायीले बेचिरहेको पाए ११३७ फोन नम्बरमा जानकारी गराउन अपिल गरेको छ। वीरगंज-१२ मुर्लीका राजकिशोर प्रसाले शुक्रवार साँझ सो नम्बरमा फोन गर्दा फोन नउठेको र कुनै जवाफ पनि नआएको बताए। उनले स्थानीय प्रहरी प्रशासन र सरोकारवालाहरुले यस विषयमा बजार अनुगमन नगर्दा व्यवसायीहरुले चलखेल गरी बजारमा सस्तोमा भेटिने समानको भाउ बढाएर बिक्री गरिरहेको बताए।

यस विषयमा होप्सीकेयरका सञ्चालक क्यालसँग बुझ्दा उनले आफूले मास्कमा भारतको बिक्रेता कम्पनीले ३ सय प्रतिशतले दाम बढाएर सामान पठाउन थालेपछि आफूले मास्कको आयात बन्द गरेको बताए। सेनिटाइजर जुन दरमा पहिले बेचिन्थ्यो हाल पनि सोही दरमा बेचिरहेको उनले दावी गरे।

उनले भने, ‘तीन दिन पहिले दिल्लीबाट सडक मार्गबाट मेरा समान आइरहेका छन्, अहिले बाटोमा छन्। गौदाममा एउटा कार्टुन पनि छैन।’

तर, उनले आयातको विवरण आर्थत कुन महिनामा कति समान मगाएका छन् र स्टकको विवरण सहितको जानकारी दिन भने चाहेनन्। वीरगंज भन्सार स्रोतका अनुसार उनले अत्यधिक समान आयात गरेको देखिएको छ भने सुमित क्यालकै कार्यालय स्रोतका अनुसार उनले आयातको अनुपातमा कम बिक्री गरी समान लुकाएको बुझिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell