PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

टिचिङ बाहिर चटपटे र महानगरको ब्यानर : प्रधानमन्त्रीको 'हेल्थ अपडेट'मा कोमल वली पनि



प्रकाश भण्डारी

टिचिङ बाहिर चटपटे र महानगरको ब्यानर : प्रधानमन्त्रीको 'हेल्थ अपडेट'मा कोमल वली पनि

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ लाभ गरिरहेका छन्। शनिवार उनको मिर्गौला प्रत्यारोपणको चौथो दिन। उनको स्वास्थ्य अपेक्षाकृत रुपमै सुधार भइरहेको छ।

प्रमको स्वास्थ्य अपडेट उनको सचिवालयले हरेक दिन सार्वजनिक गरिरहेको छ। ओलीको मिर्गौलाको शल्यक्रिया गर्ने दिन शुभेच्छा प्रकट गर्न अस्पताल बाहिर देखिएको भिड भने पातलिन थालेको छ। प्रधानमन्त्री उपचार गराइरहेको मनमोहन सेन्टरको महोल शनिवार सुनसान देखिन्थ्यो।

गेटमा चटपटे र भित्तामा स्वास्थ्य लाभको ब्यानर

टिचिङ पुग्ने बाटो भएर चल्ने सार्वजनिक सवारी पनि शनिवार पातालो नै देखियो। बसमा यात्रुको चाप देखिँदैन।

रत्नपार्क नारायण थान चल्ने बस टिचिङ अस्पतालको गेट पुगेपछि बाया तिरको झ्यालमा बसेका यात्रुले चिहाएर हेर्दा प्रस्टै थाहा पाउन सकिन्छ प्रधानमन्त्रीको उपचार हुँदैछ भनेर।

किनकि - शिक्षण अस्पतलको गेटको दायातिर छ ठेलामा चटपटे पसल। दायातिरकै भित्तामा प्रधानमन्त्रीको तस्विरसहितको ब्यानर झुन्डाइएको छ, काठमाडौं महानगरपालिकाले। ब्यानरमा स्वास्थ लाभको कामना गरिएको छ।

गेटबाट अलिभित्र छिरेपछि भने सुनसान। गेटदेखि मोनमोहन सेण्टर जाने बाटो। जहाँ ओलीको मिर्गौलाको शल्यक्रिया गरिएको दिन भिड थियो। प्लेकार्ड बोक्नेको लाइन थियो बाटोमा।

अखिलको ब्यानरमात्रै

गेटबाट पसेर मनमोहन सेन्टरको दायातिर मोडिँदा केही सरकारी नम्बर प्लेटका र केही सुरक्षाकर्मी र मिडियाका गाडी। दायातिरको बगैंचासँगै जोडिएको खाली ठाउँमा पाल टाँगिएको छ।

वायातिरको भवनको माथिल्लो तलको वाहिर भित्तामा प्रधानमन्त्री ओलीको फोटोसहितको ब्यानर छ। अनेरास्ववियुले राखेको ब्यानरमा ओलीको स्वास्थ लाभको कामना गरिएको छ।

बोल्न पाइनन् कोमल वलीले

दिउँसो साढे दुई बजेतिर नै लेखेका थिए प्रधानमन्त्री ओलीका प्रेस सल्लाकार सूर्य थापाले फेसबुकमा स्टाटस। स्टाटसमा दिउँसो ४ बजे प्रधानमन्त्री ओली र उनलाई मिर्गौला दिने भान्जी समिक्षा संग्रौलाको स्वास्थ्यको जानकारी दिइने सुचना छ। दिउँसो साढे ३ बजेपछि विभिन्न सञ्चार माध्यमका पत्रकार आइपुगे। शुक्रवारदेखि पर्न थालेको पानी रोकिएर आकाश खुलेपछि टिचिङ मनमोहन सेन्टरमा घाम लाग्छ। अस्पतालको वाहिरको खाली ठाउँमा पत्रकार सम्मेलन गर्नका लागि टेबुल राखिएको छ। टेबलमा भिडियो क्यामेराको माइक राख्छन् पत्रकार र सूर्यतिरै हेर्दैछन्।

ठीक ४ बजे झुल्किए प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार थापा र उनीसँगै छन् गायिका तथा सांसद कोमल वली। थापा प्रधानमन्त्रीको स्वास्थ सुधार हुदै गएको जानकारी दिन्छन् र उनको साथमै छन् त्रिवि शिक्षण अस्पतलाका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गा। थापाले उनलाई विज्ञप्ति पढ्न आग्रह गर्छन। विज्ञप्तिमा प्रधानमन्त्रीलाइ समान्य खान दिन थालिएको, हिडडुल र फिजियोथेरापी गराउन थालिएका जानकारी पढेर सुनाउँछन् खड्गा।

ओलीलाई मिर्गौला दिने उनकी भान्जीको स्थास्थ पनि सुधार भइरहेको जानकारी छ विज्ञप्तिमा। विज्ञप्ति पढेपछिपछि ओलीका प्रेस सल्लाहाकार थापा त्रिविका उपकुलपनि डा धर्मकान्त बाँस्तोलाको शुभकामना प्रधानमन्त्रीलाइ आएको बताउछन्।

थापा प्रधानमन्त्री आफैले नेतृत्व गरेको अस्पतालमा उपचार गराइरहेको भन्न पनि भ्याउछन् पत्रकार सम्मेलनमा। अघि सल्लाहाकार थापा र निर्देशक खड्गा सँगै आएकी गायिका तथा सांसद वली भने उनीहरु बोलिरहँदा छेउमा उभिरहन्छिन्। थापाले उपकुलपति बाँस्तोलाको शुभकामना आएको जानकारी दिएपछि 'हस् धन्यवाद' भन्दै अस्पताल भित्र पस्न थाल्छन् र उनीसँगै जान्छन वली र खडगा। एक जना सञ्चारकर्मी भन्दै थिए, 'प्रश्न गर्न पाएको भए राम्रो हुनी।'  

कुरुवा र बिरामीलाई हेल्थ अपडेटमा देखिएन चासो

पत्रकार सम्मेलन हुनथालेपछि केही बेर मिडियाको भिड हुन्छ। सुरक्षाकर्मी पनि सम्मेलनकै वरपर चनाखो भएर सुनिरहेका छन् प्रधानमन्त्रीको स्वास्थ्यबारे। तर सम्मेलनकै वरपर दिउँसो बेडमा बसेर दिक्क बनेपछि बाहिर हावा खाना आएका बिरामी र तिनका कुरुवाहरु आफ्नै धुनमा छन्। कोही मोबाइलमा व्यस्त, कोही खानेकुरा खाइरहेका।

सामाजिक सन्जालमा प्रधानमन्त्रीको स्वास्थ लाभको कामना सहितको सन्देश सम्प्रेषण गर्ने थुप्रो देखिए पनि अस्पतालमा भने सर्वसाधारणलाई प्रधानमन्त्रीको स्वास्थ्यबारे चासो देखिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell