PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भुईंमान्छेको कथा भन्ने 'फुर्लुङ'



पहिलोपोस्ट

भुईंमान्छेको कथा भन्ने 'फुर्लुङ'

काठमाडौं :  पहिचान नहुनुको अर्थ के हो?

- बतासे जस्तै हुनु हो।

बतासेको समाजमा निश्चित पहिचान छैन। त्यसैले आम मानिसको भिडबाट पर रहन्छ। सामाजिक संरचनाको चेपमा पर्छ उ। आर्थिक हिसाबले पनि ग्राफमा सबैभन्दा तल छ उसको अवस्था।

त्यसैले उसको अस्तित्वमा प्रश्न उठ्छ। गरिबीमाथि राजनीति हुन्छ। सत्ता र शक्तिको स्वार्थको रापमा पनि बतासेजस्तै पात्रहरु पर्छन्। उनीहरु अरुले बाढ्ने सपनामा रमाउँछन्। त्यही सपनाले उसको यथार्थमा असर गर्छ। उ जहाँबाट उठ्न खोज्छ त्यहाँ पनि रहन पाउँदैन। विस्थापित हुन्छ।

महेश्वर पन्तले ‘फुर्लुङ’मार्फत् माथि समेटिएको विषयमा कथा भन्छन्। किनारकृतको कथा। बतासे त्यही कथाको पात्र हो। जसको बुबाको पहिचान कहिल्यै भएन। आमाले सार्वजनिक गर्न चाहिनन्। आमा भएर के गर्नु? बुबाबिना उसको पहिचान स्वीकार्य भएन। त्यही पहिचान बेगरको बतासे र उसको जीवनको कथा हो। कथा मोदीखोला र कालीगण्डकीको दोभानमा डुंगा खियाएर र माछा मारेर जीवन निर्वाह गर्ने परिवारको। जो गरिबी र दु:खको चपेटामा हुन्छ।

‘दलित वा सिमान्तकृत साहित्य अध्ययनका लागि छुटाउन नहुने किताब हो फुर्लुङ’, किताबको टिप्पणी गर्छिन् ज्ञानु पाण्डे। शनिबार उक्त पुस्तक विमोचन समारोहमा उनले भनिन्,’सल्वार्टनको विषयलाई उठाउने विषयमा सचेत भएर यो उपन्यास लेखिएको छ।‘

उनले माछा मारेर, बगेर आएको दाउरा बेचेर, घोडचढी गरेर जीवन गुजारा गरिरहेकाहरुको जीवनलाई लेखकले दुरुस्त उतारेको तर्क राखिन्। भनिन्,’अभाव र राजनीतिको चपेटामा परेका पात्रहरु दु:खमा रुन समेत बिर्सन्छन्। त्यसैले यो धेरै हदमा मनोवैज्ञानिक उपन्यास पनि हो।‘ 

आञ्चलिक उपन्यास ‘फुर्लुङ’ स्थान, भाषा, परम्परा संस्कार विशेष भएको लेखक पन्तको दावी छ। भने,’हाम्रो समाजको भुईंमान्छेको कथा भनेको हुँ जसको कथा भनिनु आवश्यक छ।‘  

त्यस्तै समीक्षक राजकुमार बानियाँले पनि कथाका पात्रहरु जिवन्त लाग्ने बताए।

महेश्वर पन्तको यो तेस्रो कृति हो। यसअघि उनका कथा संग्रहहरु ‘मुन्द्री’ र ‘नबोल्नेहरु’ सार्वजनिक छन्। पन्त संगीतकर्मी समेत हुन्।

सांग्रिला प्रकाशनले प्रकाशित गरेको पुस्तकको बजार मूल्य २९५ रहेको छ। पुस्तक १४० पृष्ठको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell