PahiloPost

May 3, 2025 | २० बैशाख २०८२

टिपरको ठक्करबाट एक बालकको मृत्यु



रासस

टिपरको ठक्करबाट एक बालकको मृत्यु

कञ्चनपुर : टिपरको ठक्करबाट शनिवार कञ्चनपुरमा एक नौ वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका-८ रिछाहाका आकाश राना रहेको प्रहरीले जनाएको छ।

बेलौरी नगरपालिका-४ बुटावरीबाट बेलौरी बजारतर्फ आउँदै गरेको म १ ख ८४९ नम्बरको टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको कैलालीको धनगढीस्थित प्रदेशिक सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताए।

ठक्करबाट पैदल हिँड्दै गरेका बालक रानाको टाउकोमा गम्भीर चोट लागेको अस्पतालले जनाएको छ। बालकको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ। ठक्कर दिने टिपर र चालक प्रहरी नियन्त्रणमा छन्।

यसैगरी पुर्नवास नगरपालिका-३ स्थित पशुपतिटोलबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१००१ ह ३०८१ नम्बरको अटो पल्टिँदा ३५ वर्षीय अर्जुन धामीको मृत्यु भएको छ। धामीको उपचारका क्रममा प्रदेशिक सेती अस्पतालमा मृत्यु भएको हो।

कुकुरलाई बचाउन खोज्दा अटो अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक पौडेलले बताए। मृतक धामी सोही नगरपालिका–४ का बासिन्दा रहेको बताइएको छ। अटो रिक्सामा सवार ६४ वर्षीय लक्ष्मी ढकाललगायत दुई जना घाइते भएका छन्। दुवैको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell