काठमाडौं उपत्यकाका परम्परागत संगीतका भाकाहरुमा कतिपय यतिसम्म विवादित छन् कि मानिसहरु सुन्न लजाउँछन्। भक्तपुरमा फागुमा गाइने यो त्यस्तै गीत हो जुन धेरैले सुन्न लजाउँछन्। दाफामा गुञ्जिने ती गीतहरु अब लोप हुने बाटोतिर गइरहेका छन्।
काठमाडौं उपत्यकाभित्र नेवार समुदायको बाहुल्यता रहेको प्राचीन शहरहरुमा दाफाहरु रहेका हुन्छन्। दाफाहरुमा बिहान बेलुकी लोकगीत र भजनहरु गुञ्जिन्छन्। समय, परिस्थिति र ऋतु अनुसार दाफामा गाइने गीतहरुमा विविधता पाउन सकिन्छ।
मल्लकालीन लयहरुमा ती दाफाहरुमा आज पनि गीत गाउने र सुन्न पुग्ने छुट्टै जमात छ। धेरैजसो वृद्धवृद्धा। परम्परागत शास्त्रीय संगीतमा आधारित कतिपय गीतहरु लिच्छवीकालीन समेत छ। रागसहित सुरताल मिलाएर खिं बाजा, बबुचा (झ्याली), ता: बजाएर गीतहरु गाउने गरिन्छ भने ऋतु अनुसार बाँसुरी, पोङ्गाचा, डमुरु लगायतका लोकबाजाले समेत दाफाहरु गुञ्जिन्छन्।
यसरी दाफाहरुमा गाइने गीतहरुमा उपत्यकाको इतिहासदेखि मानवीय संस्कार र शिक्षाका कुराहरुलाई अनेकौं राग र तालहरुले प्रस्तुत गरिन्छ।
नेवार समुदायमा प्रचलित दाफा संगीतमा मिथिला क्षेत्रको प्रभाव रहेको छ। मिथिला क्षेत्रमा प्रचलित गीत संगीत, रसराग र तालहरु दाफाहरुमा सुन्न पाइन्छ।
त्यसैमध्ये एक हो मदनोत्सव गीत। मिथिलाञ्चल क्षेत्रमा फाल्गुणोत्सवलाई मदनोत्सवका रुपमा समेत मनाउने गरिन्छ। प्रेम र आत्मीयताका शब्दहरुसँग मृदंग, झांझ, मजीरा, सहनाई लगायतका बाजा बजाएर मिथिलामा मदनोत्सव मनाउने गरिन्छ।
भक्तपुरमा वसन्त ऋतुको आगमनसँगै गुञ्जिने, ‘भिसीं द्य: या लज: खङ लो वान ला ल्यासे बिस्यु वाने मायेक स्व: झाया ला’ पनि मदनोत्सव गीत नै हो। प्रेमको प्रतिकका रुपमा गाइने गीतको नेपाली अनुवाद हुन्छ: ‘भीमसेन देवताको लिङ्ग देखेर तिमी डरायौ कि, भाग्नु पर्ने गरिकन तिमी फागु हेर्न आयौ कि।’
फाल्गुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडि रहेको भीमसेन मन्दिरको पहिलो तल्लामा भीमसेनको लिङ्गको प्रतीकका रुपमा काठले बनेको लिङ्गो र दौपद्रीको योनी आकृति बनाई प्वाल बनाइएको रातो कपडाको पूजा गरी भक्तपुरमा फागु मनाउने परम्परा रहेको छ। त्यही समय भीमसेन गुठीका गायजूहरुले मन्दिरको पाटीमा बसेर प्रेमको प्रतीकको रुपमा यौनसँग सम्बन्धित यस्तो गीत गाउँथे। भक्तपुरको दाफाहरुमा अहिले यस्तो गीत नगुञ्जिएको धेरै भइसक्यो।
अष्टमीदेखि एक हप्तासम्म भक्तपुरमा रहेका दाफाहरुमा फागुका गीत गाउने परम्परा छ। फागुमा प्रदर्शनमा राखिएको लिङ्गलाई ब्रहमायणीमा स्नान गराइ फेरि भीमसेन मन्दिरमा फर्काएसँगै भक्तपुरमा बिस्का: का गीतहरु गुञ्जिन्छन्।
'थथिं जा:गु रसबस तोलताव
राम हं जि गन वने' हस्टे हाइस्टे…. (यस्तो रसबस छोडेर हे राम म कहाँ जाउ..)
पढ्नुस : भीमसेन र द्रौपदीको के देखाइयो यस्तो ! भक्तपुरमा मनाइने फागुको फरक स्वरुप जसबारे धेरैलाई थाहै छैन
+++
अरु गीतहरु भन्दा फागुको समयमा भीमसेन मन्दिरमा गाउने गीत विशेष र मौलिक थियो, जुन अहिले कथामा सीमित हुने अवस्थामा छ।
कारण – गीतमा यौनको कुरा छ।
संगीतकार रामकृष्ण दुवाल भने ती गीतहरुलाई यौनसँगमात्रै तुलना गरेर प्रस्तुत गर्न नहुने बताउँछन्।
यौन सबै प्राणीहरुको लागि आवश्यक कुरा रहेकोले तत्लकालीन समयमा गीतसंगीत मार्फत् यौन शिक्षा दिने चलन सुरु भएको उनी बताउँछन्। कृष्ण, महादेव र भीमसेनसँग जोडिएर आउने धेरै गीतहरुमा यौनका कुराहरु प्रस्तुत गरिएका हुन्छ।
दुवाल भन्छन्, 'नेपालमण्डलमा यौन शिक्षा पहिलादेखि नै दिन थालिएको हो। मन्दिरका टुँडालमा आकृति बनाएर होस् या गीत संगीतमार्फत् शिक्षा दिन थालिएको नयाँ होइन्। यौन शिक्षा भनेको विकृति शिक्षा होइन। यौन सबैलाई चाहिन्छ। त्यही आवश्यताका बारेमा शिक्षा दिएर त्यसलाई राम्रो सँग व्यवस्थित गरेर बुझाउनका लागि यी चलनहरु प्रचलनमा ल्याइएका हुन्।'
उनका अनुसार शिक्षा दिनका लागि बनाइएको गीत जथाभावी गाउन भने पाइँदैन। गीत गाउने निश्चित समय, ऋतु र विधि हुन्छ। भक्तपुरमा वसन्त ऋतुमा गाइने भीमसेनको गीत त्यसैको उदाहरण हो। तर, मानिसहरुले ती गीतहरुलाई हाल विकृतिका रुपमा व्याख्या गर्न थालेको उनले बताए। भने, 'यौनको महत्वलाई मध्यनजर गर्दै विकृति नहोस् भनेर नै त्यो शिक्षा दिइएको हो। तर, अचेल त्यसलाई नै विकृतिका रुपमा लिन थालेका छन्।'
यो पनि : भीमसेन लिङ्गलाई बोक्ने मान्छे भेट्नै धौ-धौ, यसरी जेनतेन जोगियो यस वर्ष भक्तपुरको मौलिक फागु
पहिले सार्वजनिक रुपमा मन्दिरको पाटीमा नै लिङ्ग र योनीको समागम भएको दृश्य देखाइने गरिन्थ्यो भक्तपुरमा। यौनको जानकारी दिने हेतुले गायजुहरुले लिङ्ग र योनी हल्लाएर समागमको गीत गाउँथे। तर समयसँगै लिङ्ग र योनी माथिल्लो तल्लामा सर्यो। भीमसेनका गीत गाउन बन्द भयो। फागु पूर्णिमाको दिन कोही कोहीले भीमसेनको गीत गाउँछन्। तर, त्यो पनि विस्तारै हराएको स्थानीय बताउँछन्।
अहिले भक्तपुरका दाफाहरुमा फागुका गीतहरु गुञ्जिरहेका छन्।
‘होलिया मेला, मयजु मस्युला अबिर भचाः नं तये मज्युला…’ गीतका शब्दहरुले भन्छ - 'होलीको मेला केटी, तिमीलाई थाहा छैन र? अलिकति अबिर दल्नु हुन्न र?'
‘झ्यालय् च्वंगु तुकं मा, वहे ल्यासे जितः मा, व ल्यासे मदयेकः जा हे मनया’ अर्थात् ‘झ्यालमा रहेको तोरीको माला, त्यही तरुनी मलाई चाहिन्छ, त्यो तरुनी नपाएसम्म भातै खाँदिन' लगायत पुरुष र महिलले एकअर्कालाई जिस्काउने र यौन भाव दर्शाउने खालका गीत अहिले पनि भक्तपुरका दाफा खलहरुमा गाउन भने रोकिएको छैन।
वसन्तको उमंगसँगै यौन शिक्षा
यस पर्वलाई 'उच्छृङ्खल' भन्नेहरु नभएका होइनन्। भक्तपुरकै कतिपयलाई भक्तपुरमा लिङ्ग र योनीको पूजा गरेर फागु खेलिन्छ भन्ने नै थाहा छैन। थाहा हुनेले पनि ‘लाजको घुम्टो’ ओडेका छन्। धेरैजना त्यही बाटो हिँड्छन् तर मन्दिरबारे जिज्ञासा राख्दैनन्। नयाँ पुस्तालाई थाहा हुने कुरै भएन। दुवालले भनेझैं यस पर्वलाई यौन शिक्षा दिने माध्यमका रुपमा व्याख्या गर्छन् वरिष्ठ संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः।
पढ्नुस : यो फागुमा तिम्रो अनुहारमा अलिकति अबिर दल्छु नि है !
उनी भन्छन्, 'वसन्त ऋतु उमंगको ऋतु हो। पालुवा, मुना, कोपिलाहरु सबै उम्रिसकेको अवस्था छ। वैसाख जेष्ठको घामले त्यसलाई हृष्टपुष्ट बनाउँछ। प्राकृतिक रुपमा वातावरण रमणीय हुँदा मानिसमा आफै भावनाहरु उच्च रहने गर्छ। जनावरहरुको पनि यही अवस्था हुन्छ। यसै समय मानिसको यौनिक भावहरु पनि उच्च हुने गर्छ। त्यसैले यो समयमा विकृति नफैलियोस् भनेर गीत मार्फत् यौन शिक्षा दिन सुरु गरिएको हो।'
वसन्त ऋतुमा मानिसमा आफै अनुराग जाग्ने भन्दै ग्वंगको दाबी छ। भीमसेनको मन्दिरमा गएर महिलाहरुले लिङ्गलाई छोयो भने उनीहरुको प्रजनन् शक्ति उच्च हुने कथन रहेको उनी बताउँछन्। सोही कुरा पुरुषहरुमा पनि लागू हुन्छ।
‘यो अस्वभाविक कुरा होइन। मान्छेहरु यस्तो पनि हुन्छ र भनेर सोध्छन्,’ ग्वंग भन्छन्, ‘किन हुँदैन र? मानिसहरुलाई केही कुराका लागि प्रेरित गर्दै उनीहरुमा यौनिक भावनाहरु विकास गर्ने काम यो पर्वले गरेको छ। अहिले गुगलमा यस्ता सबै कुरा छर्लंगै देखाइएको हुन्छ। हाम्रा पुर्खाहरुले यस्ता यौन चेतना पहिलादेखि नै प्रदान गर्दै आएका हुन्। मन्दिरका टुंडालहरुमा कुंदिएका यौनिक आकृति पनि यसैको उपज हो। यो पनि संस्कृतिको एउटा पक्ष हो।'
लिङ्ग ढोग्नुको पनि प्रतीकात्मक अर्थ रहेको बताउँछन् उनी। शिवलिङ्गको उदाहरण दिँदै समाजमा खुल्ला रुपमा देखिने र अदृश्य संस्कारहरु रहेको भन्दै लिङ्ग ढोग्नु सिष्ट तरिका भएको उनको तर्क छ।
यस प्रकारका संस्कृतिहरु मानिस आफैले गर्ने व्याख्यामा निर्भर गर्ने भन्दै उनी लिङ्ग र योनी ढोग्दा त्यसले मानिसमा रहेको चाहनालाई उच्च बनाउने काम गर्ने बताउँछन्।
‘मनमा उत्तेजना आएपछि शरीरमा आफै उत्तेजना आउँछ। तर हामीले बुझ्नु पर्ने भनेको यो पर्वले योनी र लिङ्गको संगम गर्ने प्रक्रियाको मानसिक चिन्तनको कुरा गर्छ। पूजा गर्नु वा ढोग्नु कुनै किसिमको अपराध वा अन्धविश्वास होइन। यो विश्वास हो। किनभने जब मानिसको मनले चिताएको कुरा फेला पार्छ, तब मानिसमा आफै विश्वास पैदा हुन्छ,’ उनले भने।
ग्वंग: थप प्रस्टाउँछन्, ‘अहिले पोर्नोग्राफीले अपराध बढायो भन्छन्। त्यो यौन शिक्षाको कमीले नै हो। यो परिवेशले निर्धारण गर्ने प्रक्रिया हो। त्यो बेला जनसंख्या कम थियो। मान्छेको जनसंख्या बढाउनुपर्ने अवस्था थियो। मानिसलाई यौन शिक्षा दिने हेतुले नै यस प्रकारका पर्वहरु सुरु भएका हुन्। सुरुवात आफैबाट गर्ने हो।’