भक्तपुर : तचपालस्थित दत्तात्रय मन्दिर अगाडि रहेको भीमसेन मन्दिरमा भीमसेनको लिङ्गको प्रतिकका रुपमा राखिएको काठको लिङ्गलाई ब्रह्मायणीमा स्नान गराएसँगै भक्तपुरमा फागु सम्पन्न भएको छ।
फाल्गुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडि रहेको भीमसेन मन्दिरको पहिलो तल्लामा भीमसेनको लिङ्गको प्रतीकका रुपमा काठले बनेको लिङ्गो र दौपद्रीको योनी आकृति बनाई प्वाल बनाइएको रातो कपडाको पूजा गरी भक्तपुरमा फागु मनाउने परम्परा रहेको छ।
फागु पूर्णिमाको साँझ भने त्यहाँ राखिएको काठको लिङ्गलाई मन्दिरबाट निकालेर ब्रह्मायणी लगिएको थियो। फागु गीत गाउँदै लिङ्गलाई काँधमा बोकेर ब्रह्मायणी नदीमा स्नान गराएपछि त्यसलाई छोपेर फेरि मन्दिरमा नै राखिएको छ।
लिङ्ग बोकी खोलामा लगेर स्नान गरेर ल्याउने व्यक्तिलाई सुख अनुभूति हुने र छोरा प्राप्त हुने कथन छ।
लिङ्गलाई स्नान गराएपछि फागुका गीत बन्द हुन्छन्। आजबाट भक्तपुरका दाफाहरुमा बिस्का: सम्बन्धी रसबसका घातु लगायतका गीतहरु गुञ्जिन्छ ।