काठमाडौं : कोरोना भाइरस संक्रमणको त्रासले काठमाडौं उपत्यकामा यसपटक फागु (होली) को रौनक घटेको देखियो। ठूलो जमघट गर्दै साथीभाइहरुसँग मिलेर खेलिने फागु यसपटक भने परिवारमा नै सिमित भयो।
कलाकारहरु एवं रङ्ग पत्रकारहरु मिलेर हरेक वर्ष अभिनेत्री करिश्मा मानन्धरको घरमा होली मनाउँदै आएका थिए। तर यस वर्ष कोरोना भाइरसकै डरका कारण करिश्माले होली आयोजना गरिनन्। त्यसैले कलाकारहरुले सामूहिक होली मनाएनन्।
केही कलाकारहरुले होली मनाएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। यही फागुनमा विवाह बन्धनमा बाँधिएकी अभिनेत्री प्रियंका कार्कीले पति आयुष्मान देशराज जोशीसँगको तस्विर पोस्ट गर्दै लेखेकी छिन् 'हाम्रो पहिलो होली।'
त्यस्तै ए मेरो हजुरको चौथो संस्करणको छायांकनस्थलमा पनि होलीको रौनक देखियो। कलाकारहरु अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत र झरना थापाले सेटबाटै फोटो सार्वजनिक गरेका छन्। त्यस्तै अभिनेत्री पूजा शर्मा, दीपाश्री निरौला लगायतले होलीको तस्विर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।
निरौलाले त क्याप्सनमा 'घरभित्रै खेलौं होली' भन्ने सुझाव समेत दिएकी छिन्।