
चिप्लेढुङ्गा : पोखरा हरेक उत्सवमा रमाउने शहर, पर्यटकीय शहर भएकाले पनि हरेक पर्वमा उस्तै रौनक थपिन्छ यहाँ। विशेष गरी फागु पूर्णिमामा लेकसाइडमा विदेशी पर्यटक होलीको रङसँग रमाएको दृश्य निकै हेर्न लायक हुन्थ्यो।
पर्यटन व्यवसायीले आयोजना गर्ने होली कार्यक्रमले विशेष उत्सव थप्ने गर्दथ्यो। पोखरेली विभिन्न ठाउँबाट लेकसाइडको होलीमा मिसिन्थे र झनै रमाइलो वातावरण सिर्जना गर्थे। यसपाली पोखराको फेवाताल किनार लगायतका पर्यटकीय क्षेत्र रङविहीन बन्यो। पोखरा मात्रै होइन देशका कुनै पनि स्थानमा होलीको रौनक विगत वर्ष जस्तो हुन सकेन।
विश्वभरि फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन पूर्वतयारी सतर्कताअनुसार सरकारले होलीमा पानीमा नभिज्ने, रङबाट जोगिन भीडभाडबाट टाढा रहन सतर्क गराएकाले पनि यस वर्षको होलीबाट धेरै टाढा नै बसे। विगत वर्षमा प्रहरी प्रशासनलाई नै निकै हम्मे पर्थ्यो होलीमा लेकसाइडको भीडलाई शान्त पार्न। शान्ति सुरक्षाका लागि प्रहरीको सतर्कता उत्तिकै रहन्थ्यो। यस वर्ष भने युवाको जमातमा होलीका रङ र लोला सडकमा देखिएनन्। सवारी साधनको चाप पनि थिएन। कास्कीका ट्राफिक प्रहरी प्रमुख सन्तोष रोकाले यो वर्ष उच्छृखङ्ल रुपमा सवारी साधन चलाउने त्यति नभएको बताउँछन्।
उनले भने, ‘अघिल्ला वर्ष ट्राफिक नियमविपरीत साधन चलाउने, हल्ला बढी गर्ने, बाइकको मोडिफाइ, चर्को हर्न बजाउने बढी हुन्थे अहिले त्यस्तो भएन, मापसे गरेका २०/२२ जनालाई नियन्त्रणमा लिएका छौँ।’
अहिले कोरोनाको त्रास र प्रशासनको निर्देशनले पनि पोखरामा होलीको प्रभाव कम भएको उनको भनाइ थियो। लेकसाइडका बाटामा सदावहार देखिने विदेशी पर्यटक अहिले देखिँदैनन्। टान पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेल विदेशी पर्यटकले निकै रुचाउने नेपाली पर्वमध्ये होली पनि एक भएको बताउँछन्।
‘भाइटीका, असार पन्ध्र र होलीमा पोखरा आएका विदेशी पर्यटक विशेष रमाउने गर्थे तर यो वर्ष होली उत्सवमय बनेन,’ उनले भने।
पोखराको पर्यटन क्षेत्रमा अहिलेको जस्तो संक्रमणको अवस्था यसअघि भोग्नु नपरेको उनको भनाइ थियो। पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले स्वास्थ्य सर्तकतालाई ध्यान दिएर विगत वर्षमा जस्तो होली विशेष कार्यक्रम नगरेको बताए।
‘यो वर्ष होली कार्यक्रम गरेनौँ। वर्तमान अवस्थालाई मध्यनजर गर्दै र प्रशासनले होली नमनाउन भनेकाले पनि यो वर्ष होली विशेष कार्यक्रम भएन। पोखरामा विगत वर्षजस्तो विदेशी पर्यटक नभएकाले पनि रौनकता देखिएन,’ उनले भने।
उनले सुनसान लेकसाइड अहिले रङहीन बनेको र पर्यटन क्षेत्रले निकै सङ्क्रमणकालको अवस्था सामना गरिरहेको बताए। इथिकल ट्रेकिङ नेपाल सञ्चालन गर्दै आएका पर्यटन व्यवसायी कृष्ण आचार्य यसअघि लेकसाइडमा यस्तो सुनसान कहिल्यै नदेखेको बताउँछन्।
‘दुई दशक बढी भयो म व्यवसायमा लागेको तर होली मा यहाँ यस्तो सुनसान कहिल्यै देखेको थिइनँ,’ होली विदेशी पर्यटक र स्थानीयबीच निकै आत्मीय वातावरण मनाउँदै आएका उनी स्मरण गर्छन्।
स्वास्थ्य सतर्कता एउटा पक्ष हो अर्को अहिले यहाँ पर्यटक नै छैनन्। फेवाताल किनारतिर फाट्टफुट्ट देखिएका विदेशी पर्यटक भने एकआपसमा रङ दलेको दृश्य देखिन्थ्यो भने केही स्थानीय पनि देखिएका थिए।