PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

आहा रारा गोल्डकप : साविक विजेता थ्रीस्टार क्लब सेमिफाइनलमा



रासस

आहा रारा गोल्डकप : साविक विजेता थ्रीस्टार क्लब सेमिफाइनलमा
PHOTO : RSS

पोखरा : अघिल्लो संस्करणको उपाधि विजेता थ्रीस्टार क्लब पोखरामा जारी १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा फुटबल रङ्गशालामा सोमबार भएको तेस्रो क्वाटरफाइनलको खेलमा पाहुना टोली गान्तोक सिटी फुटबल क्लब भारतलाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै थ्रीस्टार प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भएको हो।

नेपालमा आयोजना भएका प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको गान्तोकले पहिलो हाफमा थ्रीस्टारलाई गोलरहित बराबरीमा रोक्न सफल भए पनि दोस्रो हाफमा थ्रीस्टारले तीन गोल गर्न सफल भयो।

खेलको ७९औँ मिनेटमा थ्रीस्टारका सञ्जोक राईले मैदानको मध्यभागबाट एक्लै बल अघि बढाउँदै पेनाल्टी एरियामा गोल किपरलाई छलाउँदै गोल गर्न सफल भए। प्रतिस्पर्धात्मक खेलमा अग्रता बनाएपछि थ्रीस्टारले विपक्षी टोलीमाथि लगातार दबाब बनाइरहेको थियो। इन्जुरी समयमा उसले थप दुई गोल गर्न सफल भयो।

तीन मिनेटको इन्जुरी समयको दोस्रो र अन्तिम मिनेटमा थ्रीस्टारका सुशन श्रेष्ठले लगातार गोल गर्दै टोलीको जित सुनिश्चित गरेपछि पाहुना टोली गान्तोक आफ्नो पहिलो खेलबाटै बाहिरिन बाध्य भयो। खेलमा दुई गोल गरेका श्रेष्ठ ‘म्यान अफ दी म्याच’ घोषित हुँदै रु पाँच हजार नगद तथा ट्रफी पुरस्कार प्राप्त गरे।

खेलमा गान्तोकले गोल गर्ने केही सुन्दर अवसरको सदुपयोग गर्न सकेको थिएन। थ्रीस्टारले अब फाइनल प्रवेशका लागि बुधबार नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। खेलपछिको पत्रकार सम्मेलनमा थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले विपक्षी टोलीको खेलस्तरका बारेमा यसअघि जानकारी नभएकाले पहिलो हाफमा सर्तकतापूर्वक खेलेको बताउँदै प्रतिस्पर्धापूर्ण खेलमा जित हासिल भएकामा खुसी व्यक्त गरे।

आफ्नो टोलीमा राष्ट्रिय टोलीका तीन जना खेलाडीबाहेक अन्य सबै युवा खेलाडी रहेको बताउँदै उनले खेलाडीको प्रदर्शनबाट सन्तुष्ट रहेको उल्लेख गरे। पराजित टोलीका प्रशिक्षक मायाल डक लोप्चाले नेपालमा पहिलोपटक खेल्न आएको बताउँदै प्राप्त मौकालाई सदुपयोग गर्र्न नसकेको तथा विपक्षी टोलीको पहिलो गोल ‘अफसाइड’ रहेकामा रेफ्रीले मान्यता दिएकामा असन्तुष्टि व्यक्त गरे।

प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा मङ्गलबार नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लबकाबीचमा खेल हुने आयोजकले जनाएको छ। सहारा क्लब पोखराको आयोजनामा यही फागुन २२ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको विजेताले रु १० लाख एक हजार तथा उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको फाइनल खेल चैत १ गते सञ्चालन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell