PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

भावनात्मक एकता हुन नसकेको नेकपा: संसदीय दलको कार्यालय अझै दुइटा, बल्ल मिल्यो लेबी



कुञ्जरमणि भट्टराई

भावनात्मक एकता हुन नसकेको नेकपा: संसदीय दलको कार्यालय अझै दुइटा, बल्ल मिल्यो लेबी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा भने, 'कहिले–कहिले बोल्दा मैले नेकपा नभनेर एमाले भनिराख्या हुन्छु। पृष्ठभूमिले तानेको। बोल्ने बानी परेको, बोल्दै जाँदाखेरि फ्याट्ट एमाले भनिन्छ, अनि सम्झिँदाखेरि त ए हामी त नेकपा भइसकियो।'

स्वयम प्रधानमन्त्री ओलीले माघ १५ देखि १९ गतेसम्म चलेको केन्द्रीय कमिटी बैठकमा दिएको उक्त अभिव्यक्तिले भावनात्मक रुपमा पार्टी एक भइनसेको संकेत गर्छ।

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेको पनि २१ महिना भइसक्यो। तर, नेकपाका नेताहरु भावनात्मक एकता हुन नसकेको स्वीकार गर्छन्। छुट्टाछुट्टै पार्टीहरु एक भए पनि भावनात्मक एकता हुन समय लाग्ने नेकपा सचिवालय सदस्य तथा रक्षामन्त्री ईश्वर पोखरेल बताउँछन्।

बाग्मती प्रदेशको कार्यकर्ता भेलामा उनले भने, 'भावनात्मक रुपमा पार्टी एकता हुन केही समय लाग्ला। फरक-फरक पृष्ठभूमिबाट आएका व्यक्तिहरुको मन मिल्न केही समय लाग्नु स्वाभाविक पनि हो।'

नेकपाले अझै एकता प्रक्रिया टुंग्याउन सकेको छैन। केन्द्रीय कमिटी बैठकले एकता प्रक्रियामा बाँकी रहेका काम १५ दिनिभत्र सक्ने निर्णय गरेको थियो। तर, निर्णय कार्यान्वयन हुन सकेन। नेकपामा केन्द्रीय सल्लाहकार परिषद्, जेष्ठ कम्युनिस्ट मञ्च, अनुशासन आयोग, लेखापरीक्षण आयोग, निर्वाचन आयोग र विभागहरुले पूर्णता पाउन सकेको छैन।

एकताको आन्तरिक तयारी भइसके पनि सचिवालय बैठकबाट निर्णय गर्न बाँकी छ भन्दै टार्ने गरेका छन नेताहरुले।

महासचिव विष्णु पौडेलले पनि पहिलोपोस्टसँग त्यही जवाफ दिए। तत्कालीन एमाले र माओवादीका नेताहरुबीच भावनात्मक एकता हुन केही समय लाग्ला।

भावनात्मक एकता एक ठाउँमा छ। अझै पनि पार्टीको कार्यालय नै एक भइसकेको छैन। सिंहदरबामा रहेको संसदीय दलको कार्यालय नै दुई वटा छ नेकपाको।

माओवादीको संसदीय दलको कार्यालय संसद् सचिवालयको भवन नम्बर २ मा  थियो। भने एमालेको सचिवालयको १ नम्बर भवनको छेउमा। अहिले पनि ती कार्यालय यथावत नै छन्।

पार्टी एकता भइसके पनि पूर्व माओवादी र एमालेका सांसदहरु पूर्व आ- आफ्ना संसदीय दलको कार्यालमा भेला हुँदै आएका थिए।

भवन नम्बर एकको छेउमा संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री ओलीको कार्यकक्ष छ। त्यस्तै संसदीय दलका उपनेता सुवास नेम्वाङ,  संसदीय दलकी सचेतक शान्ता चौधरीको कार्यकक्ष छ। त्यस्तै राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईको कार्यकक्ष छ।

सांसदहरुले पार्टी एक भएको फिल नगरेको भन्दै लामो समयदेखि कुरा उठेपछि राष्ट्रियसभा दलका नेता दीनानाथ शर्माले भने केही महिनाअघि मात्रै भवन नम्बर २ बाट १ नम्बर भवन छेउमा कार्यकक्ष सारेका छन्।

उनी भवन नम्बर १ मा आए पनि भवन नम्बर २ को चौथो तलमा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डको कार्यकक्ष छ। त्यस्तै संसदीय दलका प्रमुख सचेतक देव गुरुङको कार्यकक्ष पुरानै स्थानमा छ। जहाँ एउटा हल पनि छ। राष्ट्रियसभाका नेताहरु छलफल गर्नुपर्दा त्यही हलमा भेला हुने गर्दछन्।

नेताको दाबी ठाउँ पुगेन

संसदीय दलको कार्यालय किन एक हुन सकेन? राष्ट्रियसभाका दलका नेता शर्मा ठाउँको अभावले कार्यालय एउटै बनाउन नसकिएको बताउँछन। सबै एउटै कार्यालयमा बसेर घुलमिल गराउने परिस्थिति हुनुपर्ने हो तर एकै ठाउँमा बनाउने अवस्था छैन।

पार्टी संसदीय दलको कार्यलय एकै ठाउँमा सार्नका लागि देव गुरुङको कक्ष पनि पूर्व एमालेको भवनमा सार्ने कक्ष बनाइएको थियो। तर कार्यकारी अध्यक्ष प्रचण्डको कार्यकक्ष बनाउन एक नम्बर भवनमा ठाउँ नभएको शर्माले बताए।

उनी भन्छन, 'एकै ठाउँमा राख्न साँघुरो छ। म त १ नम्बर भवनमा सरिसकेको छु। अध्यक्ष प्रचण्डको कार्यकक्ष बनाउने पर्याप्त स्थान छैन। नेकपाको मिटिङ गर्न सबै अट्ने हल पनि छैन। नेकपाले मिटिङ वानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा गर्दै आएको छ।

'एकै स्थानमा कार्यालय बनाउने प्रयत्न नगरिएको भने होइन। स्पेसकै कारण हो', शर्मा भन्छन्, 'अब त नयाँ संसद् भवन बन्दैछ। त्यहाँ सहज हुन्छ।'

सिंहदरबारको पुतली बगैँचामा नयाँ संघीय संसद् भवन निर्माण भइरहेको छ।

बल्ल मिल्यो लेबी

यतिमात्र होइन नेकपाका सांसदहरुले पार्टीलाई बुझाउँदै आएको लेबी पनि पूर्ववत थियो। पूर्व एमालेका सांसदहरुले मासिक रुपमा १३ हजार बुझाउँदै आएका थिए भने माओवादीका सांसदहरुले १२ हजार बुझाउँदै आएका थिए।

पार्टी एक भएपछि पनि फरक-फरक लेबी भन्ने कुरा उठेपछि गत केन्द्रीय कमिटी बैठकले १२ हजार लेबी बनाएको छ। नेकपाकी सांसद आशा कुमारी विक पार्टी एकपछि लेबीलाई पनि एकरुपता दिएको बताउँछिन्। जसले पूर्व एमालेका सांसदहरुलाई भने लेबीमा एक हजार फाइदा भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell