PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

विद्यालय टाढा हुँदा पढाइ छाड्दै बाढी पीडित बस्तीका बालबालिका, पढ्ने समयमा मजदुरी



पी बी खड्का

विद्यालय टाढा हुँदा पढाइ छाड्दै बाढी पीडित बस्तीका बालबालिका, पढ्ने समयमा मजदुरी

सुर्खेत : २०७१ सालको साउन अन्तिम साता आएको बाढी पहिरोबाट प्रभावित डेढ सय बढी परिवारलाई बराहताल गाउँपालिका-२ गिरीघाटमा सारियो। बाढी पहिरोले नेपाल राष्ट्रिय प्राथमिक विद्यालयसमेत विस्थापित भएपछि बालबालिका काठले बारिएको तथा माटोले लिपिएको छाप्रोमा अध्ययन गर्ने गरेका छन्।

करिब एक सय बढी बालबालिका अध्ययनरत विद्यालयमा कक्षा ५ सम्ममात्रै अध्ययन अध्यापन हुन्छ। उक्त विद्यालयमा ५ कक्षासम्मको पढाइ सकिएपछि अस्थायी शिविरबाट बराहतालकै रानीघाटस्थित पुग्नुपर्दछ। बालबालिकालाई रानीघाटसम्म पुग्न घण्टौँ पैदल हिँडेर ओहोरदोहोर गर्नुपर्ने हुन्छ।

विस्थापित समुदायका बालबालिका कतिपय घण्टौँ लगाएर विद्यालय जान्छन् भने कतिपय बालबालिकाले पढाइ बीचमै छोडिसकेका छन्।

‘मेरो तीन छोराछोरी छन्। पाँच कक्षासम्म यही स्कुल भएकाले सबैले पढे’, अभिभावक लिला सारु भन्छिन्, ‘६ कक्षा पढ्न यहाँबाट रानीघाट जानपर्ने भयो। डेढ दुई घण्टा लाग्छ त्यसैले छोरोले टाढा भयो भनेर स्कुल जान छोडिसक्यो।’

विस्थापित समुदायमा १२/१५ वर्ष उमेरका बालबालिका ६ कक्षादेखि माथिल्लो कक्षा पढ्न घरबाट निस्केपनि टाढा भएकै कारण बीच बाटोबाटै फर्किने गरेको अभिभावक बताउँछन्।

गिरीघाटमा अस्थायी बसोवास गर्दै आएका बाढि पीडितका बालबालिकाहरु पढाइ छोडेर मजदुरी गर्दै आएका छन्। अहिले अधिकांश बालबालिका पैसा कमाउनकै लागि मजदुरी गर्न भारत जान्छन् भने कसैले गाउँमै ट्र्याक्टरमा काम गर्छन्। त्यत्तिमात्रै होइन उनीहरु ढुंगा, गिट्टी कुट्ने लगायतको काममा संलग्न छन्।

‘पढ्ने बेलामा कोही पैसा कमाउन इन्डिया छन्। कोही ट्याक्टरमा बालुवा, गिट्टी लोड अनलोड गर्ने काम गर्छन्,’ अभिभावक सारु भन्छिन्।

पाँच कक्षाभन्दा माथि पढ्नका लागि रानीघाटमा रहेको विद्यालय पुग्न घण्टौँ छिचोल्नुपर्ने भएपछि विस्थापित समुदायका करिब ४५ देखि ५० जना बालबालिकाले बीचमै पढाइ छोडेको अभिभावकको भनाइ छ।

‘अहिले विस्थापित समुदायका ४५/५० जना बालबालिकाले पढाइ छोडिसकेका छन्’, अभिभावक इन्द्रबहादुर नेपाली भन्छन्, ‘कक्षा ५ सम्म भएको विद्यालयमा पनि पढाइ हुँदैन। न विद्यालय राम्रो छ न शिक्षकहरु छन्।’

विद्यालयमा न्यूनतम पूर्वाधार नहुँदा अध्ययन अध्ययापनमा समस्या भएको विद्यालयका प्रधानाध्यापक तारा पोखरेलेको भनाइ छ।

‘विद्यालयमा दरबन्दी तीन जनाको मात्रै छ। विद्यार्थी ७६ जना बढी छन्’, प्रअ पोखरेलले भन्छिन्, ‘विद्यालयको न भवन राम्रो छ। न शौचालय छ। पानी पनि गाग्रीमा बोकेर ल्याउनुपर्छ। विद्यालयको स्तरोन्नतीका लागि विभिन्न संघसंस्थासँग हारगुहार गरिरहेका छौँ।’

अस्थायी बसोवासका लागि भएपनि न्यूनतम पूर्वाधार तयार हुनुपर्ने उनले बताइन्।

‘अस्थायी भएपनि कक्षा ५ सम्म अध्ययन अध्यापन हुन्छ। यो सँगै बालबालिकाको भविष्य जोडिएको हुन्छ’, उनले भनिन्, ‘विद्यालयको पूर्वाधार खानेपानी, शौचालय, भवन जस्ता कुरामा सम्बन्धित निकायले ध्यानदिनुपर्छ।’

भौतिक पूर्वाधार र विद्यार्थीलाई न्यूनतम शैक्षिक सामग्री अभावमा गुज्रिएको प्राविस्तरको यो विद्यालय आर्थिक अभावले स्तरोन्नती हुन नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर सुनार बताउँछन्।

‘विद्यालयमा ठूलो समस्या छ। सरकारले दरबन्दी पनि दिँदैन’, अध्यक्ष सुनार भन्छन्, ‘अब हामीले कसरी शिक्षक राख्ने अनि तलव खुवाउने? हामी आफैँ कसले देला र खाऔँला भन्ने अवस्थामा छौँ।’

विद्यालयका लागि आवश्यक पहल गर्न लागि परेपनि कोही कसैले सुनुवाई नगरेको उनको गुनासो छ। विस्थापित समुदायको पुनर्स्थापनासँगै विद्यालयको स्तरोन्नती गर्न माग गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell