
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राप्रपा संयुक्तसँगको एकीकरणपछि पार्टी फुट्न नदिने प्रतिवद्धता जनाएका छन्।
पार्टी एकताको पूर्वसन्ध्यामा मंगलवार बसेको केन्द्रीय कार्यसमितिको विशेष बैठकमा अध्यक्ष थापाले यस्तो प्रतिवद्धता जनाएका हुन्। बुधवार राप्रपा र राप्रपा संयुक्तबीच पार्टी एकता घोषणा हुँदैछ। पार्टी एकताको पूर्वसन्ध्यामा अध्यक्ष थापाले एकतापछि पार्टी फुट्छ की भन्ने नकारात्मक सोच र आशंका नलिन आग्रह गरे। थापाले पार्टी फुट्दैन र फुट्न दिन्नौँ भन्ने मानसिकताका साथ अगाडी बढ्नुपर्ने बताए।
उनले भने, ‘पार्टी फुट्छ की भन्ने नकारात्मक सोच र आशंका लिएर नजाऔँ। सतर्क रहनुपर्छ, सचेत रहनुपर्छ तर शुरुमै नकारात्मक सोच लिएर अगाडी बढ्न खोज्यौँ भने सिथिल भइन्छ र गति लिन सकिँदैन। अब पार्टी फुट्दैन, फुट्न दिँदैनौँ भन्ने मानसिकताका साथ पार्टी अगाडी बढ्नुपर्छ।’
अध्यक्ष थापाले पार्टी एकताले पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र, राजासहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन र उदार अर्थतन्त्रको धरालतलाई सबल बनाउन थप शक्ति प्रदान हुने विश्वास व्यक्त गरे।
थापाले कम्युनिस्ट र कांग्रेसको बैकल्पिक शक्ति जनताले खोजिरहेको उल्लेख गर्दै राप्रपाले आफूलाई बैकल्पिक शक्तिको रुपमा उभ्याउनुपर्ने बताए। अन्य कुनै पनि पार्टीले आफूलाई कांग्रेस, कम्युनिस्टको विकल्पका रुपमा प्रस्तुत गर्न नसक्ने उल्लेख गर्दै थापाले उनीहरुले लिएको नीति र अवधारणाको विकल्पमा राप्रपाले मात्रै फरक विचार र मार्गचित्र दिन सक्ने बताए।