PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सको कतार उडान स्थगित



पहिलोपोस्ट

नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सको कतार उडान स्थगित
फाइल फोटो

काठमाडौः कोरोना भाइरसको संक्रमणबाट बच्न कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएपछि नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले कतारको दोहा उडान स्थगित गरेका छन्।

कतारले सोमबारदेखि लागू हुने गरि नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका र थाइल्याण्डका नागरिकलाई तत्काललाई अस्थायी रुपमा प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो।

एनएसीका प्रवक्ता अर्चना खड्काले मंगलबारदेखि दोहा उडान स्थगित गरेको बताइन्।‘नेपालीलाई प्रवेशमै रोक लगाएपछि हामीले दोहा उडान स्थगित गरेका हौं,' उनले भनिन्, ‘टिकट काटेका सबै यात्रुको पैसा फिर्ता गर्नेछौं।’ उनले अर्को सूचना जारी नभएसम्म उडान स्थगित भएको बताइन्।

कतार एयरवेजले इटालीको सम्पूर्ण उडान रद्द गरेका बेला त्यहाँको सरकारले थप १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको हो। कोरोना भाइरसको रोकथामका लागि यो निर्णय लिइएको बताइएको छ। यसको असर पर्यटक, स्थायी बसोबास गर्ने प्रवासी र कामदार भिसामा आउनेहरुलाई पर्नेछ। कतार नेपाली कामदारको रोजगार गन्तव्य मुलुक हो। कतारको यो निर्णयले नेपाली कामदार पनि प्रभावित हुनेछन्।

कतारले आफ्ना नागरिकलाई अत्यावश्यकबाहेक विदेश यात्रा नगर्न अनुरोध समेत गरेको छ। कतारमा हालसम्म १५ जनामा कोरोना संक्रमण देखिएको छ। आइतबार मात्रै थप ३ जनामा संक्रमण देखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell