PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चिनियाँ राष्ट्रपति सिको वुहान भ्रमणको संकेत : के संक्रमण नियन्त्रणतिर पुगेको हो?



विधुर ढकाल

चिनियाँ राष्ट्रपति सिको वुहान भ्रमणको संकेत : के संक्रमण नियन्त्रणतिर पुगेको हो?

काठमाडौं : नोवेल कोरोना भाइरस (कोभिड-१९) को आउटब्रेक इपिसेन्टर वुहान र हुवेइ प्रान्त लकडाउन भएको मंगलवार ४७ औं दिन।

जनवरी २३ मा चीनको केन्द्र सरकारले वुहान र हुवेइका अन्य शहरमा लकडाउन गर्ने निर्णय गर्दै पूरै शहरलाई नै क्वारेन्टाइनमा विकसित गरेको थियो। लकडाउन घोषणा भएको केही घण्टामा नै वुहान यात्रामा प्रतिबन्ध लागू भइसकेको थियो। हुवेइका १५ शहरमा लगाइएको लकडाउनले ५ करोड ७० लाख जनसंख्या प्रभावित भए।

लकडाउनको ४७ औं दिन आइपुग्दा आउटब्रेक इपिसेन्टर वुहानमा चिनियाँ राष्ट्रपति सि जिनपिङ पुगेका छन्। यसलाई चिनियाँ सञ्चार माध्यमहरुले कोभिड-१९ विरुद्धको युद्ध जित नजिक पुगेको भन्दै समाचार तथा विश्लेषण गरिरहेका छन्।

वुहान यात्राका क्रममा राष्ट्रपति सि चिनियाँ जनमुक्ति सेनाले सञ्चालन गरिरहेको होउसनसान अस्पतालमा पुगे। कोरोना आउटब्रेक भएसँगै वुहानमा निर्माण भएका दुई अस्पताल मध्ये एक हो यो।

त्यहाँ उनले अस्पताल सञ्चालन, स्वास्थ्यकर्मीको सुरक्षा, विरामीहरुको अवस्था, उपचार पद्धती लगायतका विषयमा जानकारी लिए। त्यतिमात्र होइन, उनले त्यहाँका डाक्टर, नर्स र विरामी सबैको हौसला बढाए - 'हामी जित्ने छौं। महामारी अन्त्य हुनेछ।'

राष्ट्रपतिको यो भ्रमणलाई विश्वका सञ्चार माध्यमले नजिकबाट नियालिरहेका छन्। चिनियाँ सञ्चार माध्यममा भ्रमण अघि र पछिका अनेकौं समाचार आए।

सिन्ह्वाले राष्ट्रपतिको यो भ्रमणलाई कोरोना भाइरस विरुद्धको अभियान सफलतातर्फ पुगेको संज्ञा दिएको छ।

'वुहानको जित हुवेइको जित हो। हुवेइको जित भनेको चीनका लागि जित हो,' सिन्ह्वाले लेखेको छ।

मंगलवार त्यस्तै अर्को एक आलेखमा सिन्ह्वाले 'युद्ध जारी छ, तर जित नजिक छ' लेखेको छ। वुहानमा कोभिड-१९ आउटब्रेक भएसँग वुहानमा राष्ट्रपति सिको ध्यान केन्द्रित भएको हो। सि आफ्नै अग्रसरतामा महामारी नियन्त्रणका लागि विभिन्न बैठकहरुमा सहभागी भइरहेका छन्।

यही क्रममा मंगलवार बिहान सि वुहान पुगे। राष्ट्रपति सिको भ्रमणले धेरैखाले संकेत गरेको छ। वुहानको अवस्था सुधार भएको छ। वुहानमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या पनि घटेको छ।

चीनको स्वास्थ्य आयोगका अनुसार चीनमा देखिको पछिल्लो १९ संक्रमण मध्ये १९ जना हुवेइमा छन्। बाँकी दुई केसहरु 'इम्पोर्टेड' भएको बताइएको छ। यो संख्या जनवरी २० मा चीनले दैनिक संक्रमितहरुको अवस्था सार्वजनिक गर्न थालेदेखिको सबैभन्दा न्युन हो।

सोमवारमात्र कोरोना भाइरसको उपचारका लागि भनेर बनाइएको एक अस्थायी अस्पताल बन्द गरिएको छ। जियाङकानमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बनाइएको एक हजार ५ सय ६४ शैयाको अस्थायी अस्पताल सोमवार बन्द गरिएको हो। फेब्रुअरी ५ राति ९ बजे पहिलो विरामी भर्ना गरेर उपचार थालेको उक्त अस्पतालमा ३४ दिनमा एक हजार ८ सय ४८ जनाको उपचार भयो। तीमध्ये एक हजार ३ सय २७ संक्रमित उपचार पछि निको भएर फर्किए। ५ सय २१ विरामीको अन्य अस्पतालमा उपचार भइरहेको छ। यससँगै वुहानमा तयार पारिएका १४ अस्थायी अस्पताल बन्द भइसकेको छ।

कोरोना भाइरसको संक्रमण फैलिएसँगै वुहानमा सार्वजनिक रंगशाला तथा सम्मेलन केन्द्रहरुलाई अस्पतालमा परिणत गरिएको थियो। यस्तो समयमा भएको सिको भ्रमणले कोभिड-१९ विरुद्धको अभियानमा सफलता हात परेको संकेत गरेको बताइएको छ।

'राष्ट्रपति सिको वुहान भ्रमण कोरोना भाइरसविरुद्धको लडाइले सफलता हात पारेको चिनियाँ नेतृत्वको बुझाइ हो,' चाइनिज एकेडमी अफ गभर्नेन्सका प्राध्यापक चु लिजियाले भने। उनले अब नेतृत्वसामु चुनौती भनेको आर्थिक सन्तुलनलाई कायम राख्नु भएको बताएका छन्।

'अब हामीले यसलाई कसरी अगाडि बढाउँछौँ। चिनियाँ नागरिक र अन्य देशका नागरिकलाई यात्रामा कस्तो छुट दिन्छौँ? बाहिरबाट आउने केसहरु समस्या हुन सक्छन्,' उनले भने।

बेइजिङले महामारी विरुद्धको अभियानमा विश्वासको संकेत दिएको छ। यो भ्रमण अगाडि चिनियाँ राष्ट्रपति सिलाई कोभिड-१९ को त्रासले सार्वजनिक कार्यक्रममा नदेखिएको आरोप पनि लाग्ने गरेको थियो। प्रधानमन्त्री लि ख्छ्याङ जनवरीमै वुहानको भ्रमण गरेका थिए। त्यस्तै उप प्रधानमन्त्री सन चुनलानले हुवेइमा भाइरस विरुद्ध अभियानको नेतृत्व गरिरहेकी छन्। राष्ट्रपति सि भने फेब्रुअरी १० सम्म सार्वजनिक रुपमा देखिएनन्।

सिनोसिजम न्यूज लेटरका प्रकाशक विल विसोपले सीको भ्रमणले उनीहरुको हातमा जित रहेको विश्वास भएको बताएका छन्। त्यस्तै उनले चिनियाँ राजनीतिक सम्मेलनको नयाँ मितिको घोषणा र विद्यालयहरु खुल्ने संकेतको रुपमा भ्रमण भएको हुनसक्ने बताएका छन्।

राष्ट्रपति सीको वुहान भ्रमणले चीनको स्टक मार्केटमा सुधार आउने र चिनियाँ कम्युनिस्ट पार्टीले कोरोना भाइरस विरुद्धको अभियानमा जित हासिल गरेको छिट्टै घोषणा गर्ने संकेत हुन सक्ने चीनको रनमिन विश्वविद्यालयका प्रध्यापक झाङ मिङले बताएका छन्।

'राष्ट्रपति सिले यसअघि नै वुहानको भ्रमण नगर्नु सामान्य हो किनकी यसले उनको स्वास्थ्यमा जोखिम ल्याउन सक्थ्यो,' उनले भने, 'उनी त्यहाँ उपलब्धीहरुलाई देखाउन पुगेका छन्।'

वुहान पुगेका सिले पनि कोभिड-१९ विरुद्धको अभियान सफल बनेको बताएका छन्। 'कठोर मिहिनतपछि हुवेइ र वुहानमा सकरात्मक परिवर्तन भएका छन्। महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ। यो नियन्त्रण अभियान अझै कठिन छ,' राष्ट्रपति सिले भनेका छन्।

कोभिड-१९ बाट ११५ देश तथा क्षेत्रहरु प्रभावित भएका छन्। भने यसबाट प्रभावित हुने डाइमन्ड प्रिन्सेस पनि छ।

पछिल्लो तथ्यांकमा हालसम्म विश्वभर एक लाख १४ हजार बढी मानिसमा संक्रमण देखिएको छ। जसमध्ये ४ हजार २८ जनाको मृत्यु भएको छ। चीनमा मात्र मृत्यु हुनेको संख्या तीन हजार १ सय ३६ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell