
काठमाडौं : उपत्यकाको सवारी आवागमनलाई सहज बनाउने उद्देश्यले कोटेश्वर-कलंकी ८ लेन सडक खण्डमा लेन प्रयोगको नयाँ नियम लागू गरिने भएको छ।
सो नियम अनुसार यात्रुवाहक तथा मालवाहक र कम गतिमा गुड्ने सवारी साधनहरू बायाँ सर्भिस लेनबाट र निजी तथा साना सवारी साधनहरू सधैँ दायाँ मुख्य (द्रुत) लेनबाट मात्र चलाउनु पर्नेछ। उक्त नियम आगमी चैत २ गतेदेखि लागू गरिने भएको छ।
पछिल्लो समय उपत्यकाको सडक दुर्घटना न्यूनीकरणसँगै सडकमा रहेको लेनलाई अनुशासित एवं व्यवस्थित रुपमा पालना गराउन उक्त नियम लागू गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए। उनले सवारी आवागमनलाई सहजता ल्याउन र ट्राफिक नियम पालनाको प्रवृत्ति बसाउने समेत उद्देश्य रहेको बताए।
एसएसपी ढकालले भने, ‘यो सडक व्यवस्थित र सुविधायुक्त छ, यात्रुवाहक, मालवाहक र विस्तारै गुड्ने गाडीहरु बाँया लेनबाट र साना हलुका र द्रुत गतिमा गुड्ने सवारी साधन दाहिने लेनबाट चल्ने अन्तर्राष्ट्रिय अभ्यास समेत रहेकोले यसलाई कार्यान्वयन गर्दा सडक अनुशासन कायम हुने र दुर्घटना न्यूनीकरण हुने अपेक्षा गरिएकोछ।’
उक्त सडक खण्डलाई व्यवस्थित गर्न ट्राफिक नियमको पालना, सडक अनुशासन र सडक सभ्यता अभिवृद्धि हुने र ट्राफिक नियमको पालन गर्ने प्रवृत्तिको समेत विकास हुने बताइएको छ। नियमको प्रभावकारी कार्यान्वयन गर्नका लागि सम्बन्धित सरोकारवाला निकाय/संघसंस्था, यातायात सञ्चालक/व्यवसायीहरू, नागरिक समाज आदिसँग छलफल गरिएको उनले बताए।
सो नियम कार्यान्वयनको लागि अनुगमन गर्न सम्बन्धित सम्पूर्णबाट प्रतिनिधित्व हुने गरी समिति समेत गठन गरिएको उनको भनाइ छ।
प्रतिमहिना ८५ को हाराहारीमा सवारी दुर्घटना
देशकै पहिलो १० किमी लम्बाई भएको ८ लेन सडकमा लेन अनुशासन पालना नहुँदा मासिक ८५ को हाराहारीमा सडक दुर्घटना हुने तथ्यांक छ। महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले सवारी साधनहरूले जथाभावी लेनको प्रयोग गरी सवारी चलाउने तथा लेन परिवर्तन गर्ने, लुकिङ ग्लास र साइड लाइटको प्रयोग नगरी जथाभावी ओभरटेक गर्ने, तोकिएको गतिभन्दा तीव्र गतिमा सवारी चलाउने लगायतका असावधानीले दुर्घटनाको जोखिम बढेको बताए।
त्यस्ता सडकमा गुड्ने सवारी र सडकको अवस्था हेरी सुरक्षित तरिकाले निर्धारित लेनमा तोकिएको गतिमा मात्र सवारी चलाइ सुरक्षित आवागमन हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो।
महाशाखाले उक्त सडकखण्डमा मुख्य लेनमा ५० किमी प्रतिघण्टा र सर्भिस लेनमा २० किमी प्रतिघण्टाको दरले गति निर्धारण गरेको छ।
यस खाले नियम यसअघि नै महाशाखाले जडिवुटी-सुर्यविनायक सडक खण्डमा पूर्ण रूपमा कार्यान्वयन गरिसकेको छ।