PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा सहभागी चिकित्सकहरुको अनुभव यस्तो



कुञ्जरमणि भट्टराई

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा सहभागी चिकित्सकहरुको अनुभव यस्तो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको मंगलवार सातौं दिन। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले औपचारिक रुपमा प्रम ओलीको उपचारमा संलग्न चिकित्सकहरुलाई पत्रकारसँग भेट गरायो।

यसअघि नियमित रुपमा बेलुकी ४ बजे प्रमको अवस्थाबारे जानकारी गराउन अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गा र प्रमका प्रेस सल्लाहाकार सूर्य थापा उपस्थित हुँदै आएका थिए।

अघिल्ला दिनहरुमा थापाको आग्रहमा खड्गाले प्रमको स्वास्थ्यमा भइरहेको सुधारबारे विज्ञप्ति वाचन गर्थे। जसलाई नियमित प्रेस ब्रिफिङ भनियो। आज भने उनको उपचारमा संलग्न चिकित्सकहरुको टोली नै उभिए मिडियामाझ। र, आआफ्नै अनुभव सुनाए।

सक्रिय जीवनमा फर्कन छ महिना

मिर्गौला प्रत्यारोपणको एक हप्तामै आफू काममा फर्कने बताएका ओली कहिले डिस्चार्ड हुन्छन्? यसबारे चिकित्सकहरु पनि यकिन छैनन्। निजी चिकित्सक दिव्या सिंह भन्छिन्, ', हामी जबसम्म कम्फर्टेबल र कन्फिडेन्ट फिल गर्दैनौं, तबसम्म डिस्चार्ज गर्दैनौं।'

उनले प्रमका लागि निवासमा आवश्यक तयारी नभएको र परिवारले अझै केही दिन अस्पताल राख्न आग्रह गरेको पनि बताइन्।

उनका अनुसार प्रधानमन्त्री ओली सक्रिय र सामन्य मानिसजस्तो जीवनमा फर्कन छ महिना लाग्नेछ। महिना दिन हाइ डोजको औषधि चलाउने भएकाले एक महिना त आराम नै गर्नुपर्ने सिंहको भनाइ छ।

निजी चिकित्सक दिव्याका अनुसार प्रमको ल्याब रिपोर्टको सुचकांक नर्मल छन्। सुचकांकको मात्रा भने सार्वजनिक गरिएको छैन।

मंगलवारको पत्रकार सम्मेलनमा चिकित्सकहरुले मिडियासामु आफ्ना अनुभवहरु साटे। १२ वर्षअघि प्रम ओलीको मिर्गौला प्रत्यारोपणमा संलग्न थिए प्रा डा अनन्तकुमार शर्मा पनि। यसपटक पनि उनी ओलीलाई मिर्गौला प्रत्यारोपणकै लागि भारतबाट नेपाल आएका थिए। त्यसो त उनी भारत फर्किसकेका छन्।

हामीले आँट्यौ : उत्तमकुमार शर्मा, मिर्गौला प्रत्यारोपण विभाग प्रमुख

सुरुमा प्रधानमन्त्रीले नेपालमै मिर्गौला गराउने जानकारी पाउँदा हर्षित भएँ। यो चुनौति र अवसर हो भन्ने लाग्यो। वाहालवाला प्रधानमन्त्रीले देशमै यस्तो अप्रेसन गर्न राजी हुनु भएकोमा। हामीले पनि आँट गर्‍यौं। केही घटनाले गर्दा गिरेको डाक्टरको मनोवलमा उत्साह भयो जस्तो लाग्छ।

केही बिग्रेला कि भन्ने चिन्ता थियो : सुवास आचार्य, क्रिटिकल केयर कोअडिनेटर

प्रमकी निजी चिकत्सक डा दिव्याले एकमहिना अघि नै जानकारी दिनुभएको थियो - प्रिपियर गर्नु भनेर। हामी त्यति बेलादेखि नै तयारीमा नै लाग्यौं। देशको प्रधानमन्त्री उपचार गर्न आउँदा गौरवान्वित छौं। जति नै तयारी गरेपनि स्ट्रेस त हुन्छ। केही बिग्रेलाकी भन्ने चाँहि भइरह्यो। तर हामी सफल भयौं।

सन्देश राम्रो गयो : प्राडा प्रेमराज ज्ञवाली

मिर्गौला प्रत्यारोपण हाम्रो नियमित काम हो। अघिल्लो बुधवार पनि मिर्गौला प्रत्यारोपण गरेका थियौं। अबको बुधवार पनि गर्नुछ। प्रधानमन्त्रीलाई अप्रेसन गर्दा मानसिक प्रेसर पनि हुन्छ। मिर्गौला प्रत्यारोपणको टिम टिचिङमा छ भन्ने सन्देश गएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell