PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

पुस्तान्तरणको पर्खाइमा सुदूरको मौलिक ‘होरी’



एम बम

पुस्तान्तरणको पर्खाइमा सुदूरको मौलिक ‘होरी’

कैलाली :
ॐ शिव ॐ भज ॐ कारा...
ए... आफू त जोगी कैलाश वासी,

घुम्दा छन् तीनै लोक सारा 
ॐ शिव ...
ए... कानै झोली हात खप्परु, 

भीक्षा लिइ घर सारा 
ॐ शिव...

उमेरले ६५ पुगिसकेका नरबहादुर खड्का ‘होरी’मा गाइने यी देउडाका बान्कीहरू अझै पनि सुरिलो स्वरमा गाउन सक्छन्। फागु, धमारी, पौपट आदी ‘होरी’मा गाइने तथा लोक जीवन झल्काउने कयौँ मौलिक गीतहरू उनलाई कण्ठै छन्।

रङहरूको पर्व भनेर व्याख्या गरिएको होलीलाई त्यतिमा मात्रै संकुचित पार्न नसकिने उनको भनाइ छ। उनका अनुसार ‘होरी’मा शिव/पार्वती–राधा/कृष्णका धार्मिक गाथा तथा गीतहरूसमेत गाइने भएकाले यसको महत्त्व संस्कृतिसँग बढी जोडिएको छ।

होलीमा भन्दा ‘होरी’मा लोक लय र लोक साहित्य बढी झल्किने पनि उनको तर्क छ। सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा रङ दलेर, लोला हानेर भन्दा पवित्रताको प्रतीक मानिने सेता लुगा लगाएर विभिन्न लयमा ‘होरी’का गीतहरू गाउँदै देउडामार्फत रमाइलो गर्ने प्रचलन तीन शताब्दीअघिबाटै चलिआएको छ।

तर, पछिल्ला पुस्ताका युवाहरूमा यस प्रतिको मोह र आकर्षण देख्न नपाउँदा भने उनी चिन्तित छन्।

‘त्यसैले सकेसम्म सबैतिरबाट लोक साहित्य र संस्कृतिको जर्गेनाका लागि पहल हुन आवश्यक छ,’ उनले भने।

अछामको साँफेबगर नगरपालिका वडा नम्बर १० मा जन्मिएका खड्का हाल धनगढी उपमहानगरपालिका वडा नम्बर १ शिवनगरमा बस्दै आएका छन्।

भारतको कुमाउ गढका राजाले १७५० साल तिर अछामको कालीमाटी गढीका शाहवंशी राजालाई छोरी दिँदा ‘होरी’को सुरुवात भएको उनी बताउँछन्। शुरुमा ‘होरी’का गीतहरू नेपाली भन्दा बढी हिन्दी भाषामा गाइन्थे। तर, केवलानन्द डण्डी स्वामीले नेपाली भाषामा उल्था गरेपछि नेपालीमै ‘होरी’का गीतहरू गाउने प्रचलन शुरु भएको उनी बताउँछन्।

अहिले सुदूरपश्चिमका ९ वटै जिल्लामा होरीको प्रचलन पुगेको छ। तराईमा पहाडबाट बसाइसराइ गरेकाहरूले सार्दै आएका छन् भने पहाडतिर संस्कृति फैलिँदै गएको छ।

खड्काभन्दा एक दशकपछि जन्मिएका अछामको बान्नीगढी जयगढ गाउँपालिका ३ पुर्ख्यौली घर भएका कृष्ण राज जोशीले पनि नयाँ पुस्तामा यसको मौलिकता प्रतिको चासो घट्दै गएको बताए। उनी २०५३ सालदेखि धनगढीमा क्रियाशील अछाम सेवा समितिका अध्यक्ष समेत हुन्।

कुनै निश्चित संघसंस्थाको एक प्रयासबाट सुदूरपश्चिमको लोक साहित्य झल्काउने होरीको मौलिक पन बचाउन कठिन रहेको भन्दै तीनै तहका सरकारले नै यसमा चासो दिनुपर्ने उनको भनाइ छ।

सुदूरपश्चिम प्रदेशमा शुक्ल अष्टमीदेखि फागु पूर्णिमासम्म ‘होरी’ मनाइँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell