PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

ओली अस्पतालमा हुँदा प्रचण्डको विरामी 'बाहना' : के हो निष्क्रियताको राजनीतिक अर्थ?



कुञ्जरमणि भट्टराई

ओली अस्पतालमा हुँदा प्रचण्डको विरामी 'बाहना' : के हो निष्क्रियताको राजनीतिक अर्थ?
फाइल फोटो

काठमाडौं : कोरना भाइरसको संक्रमणको जोखिम रहने भन्दै सार्वजनिक कार्यक्रम नगर्न सरकारले आग्रह गरेपछि पूर्व निर्धारित कतिपय कार्यक्रम रद्द भए। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले सार्वजनिक कार्यक्रम नगर्न पार्टीभित्र परिपत्र जारी गरे। त्यसपछि नेकपाको प्रदेशस्तरीय कार्यकर्ता भेलासँगै अन्य कार्यक्रम पनि स्थगनमा परे।

धेरैको संख्यामा भेला भएर कार्यक्रम नगर्न नेकपाको निर्देशनपछि स्थानीय तहमा समेत कार्यक्रम भएको छैन। त्यसो त नौ सदस्यीय नेकपाको सचिवालय बैठक पनि बस्न सकेको छैन। सत्तारुढ दलको आन्तरिक बैठक पनि नभएकाले चकमन्न छ पार्टी कार्यालय।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्यलाभ गरिरहेका छन्। गत साता मिर्गौला प्रत्यारोपण गराएका ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ। ओली एक साता अस्पताल बस्दा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड'ले पनि पार्टी बैठक बोलाएका छैनन्।

गत भदौ ५ गतेको सचिवालय बैठकले अध्यक्ष ओलीको अनुपस्थितिमा प्रचण्डले बैठक बोलाउन पाउने निर्णय गरेको थियो। त्यो निर्णयपछिमात्रै प्रचण्डले पार्टी अध्यक्षको अनुभूति गर्न पाएका थिए।

त्यसअघि प्रम ओलीको अनुपस्थितिमा पार्टी बैठक प्रभावित हुने गरेको थियो। त्यही बैठकको निर्णयपछि प्रम ओली स्वास्थ्योपचारका लागि सिंगापुर गएका थिए। ओली केही समय सिंगापुर रहनुपर्ने भएकाले त्यसखाले निर्णय भएको थियो। पार्टीको बैठक बोलाउने अधिकार पाएको ४ दिनपछि प्रचण्डको अध्यक्षतामा पहिलो बैठक भदौ ९ गते बसेको थियो। सिंगापुरबाट ओली फर्किएसँगै उनकै अध्यक्षतामा बैठक सञ्चालन हुन थाल्यो। प्रचण्ड पुन: खुम्चन पुगे।

त्यसो त वरिष्ठ नेता माधवकुमार नेपालले एकताको प्रकियामा 'एक व्यक्ति एक मुख्य जिम्मेवारी' को माग उठाउँदै आएका थिए। त्यही अनुसार प्रम र अध्यक्षको भूमिका बाँडफाँड हुनुपर्ने माग राख्दै पार्टीमा आवाज चर्को रुपमा उठेको थियो।

नेकपाले बल्ल गत मंसिरमा अध्यक्षद्वयको जिम्मेवारी बाँडफाँड गर्‍यो। मंसिर ४ गते कसेको सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अधिकारसहितको अध्यक्षको जिम्मेवारी दियो। जसअनुसार ओलीले सरकारको र प्रचण्डले पार्टीको नेतृत्व गर्ने तय भयो।

उक्त बैठकको निर्णय अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्ष नै सरकार सञ्चालन गर्ने र पार्टी ओलीसँगको छलफलमा प्रचण्डले चलाउने सहमति भएको थियो।

यतिखेर प्रचण्डले कार्यकारी अधिकार पाएको १०० दिन कटिसकेको छ। यसबीचमा प्रचण्डले कार्यकारी अध्यक्षको भूमिका कति निर्वाह गर्न पाए त?

कार्यकारी अध्यक्षको हैसियतले उनले पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा  मंसिर १८ गते पार्टी सचिवालयको बैठक डाके। बैठकमा प्रधानमन्त्री ओलीबाहेक उप प्रधानमन्त्री ईश्वर पोखरेल र वरिष्ठ नेता झलनाथ खनाल सहभागी भएनन्।

त्यतिबेला मंसिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गराएका प्रम ओली आराम गरिरहेका थिए भने पोखरेल र खनाल कार्यक्रमका लागि इलाम पुगेका थिए। कार्यकारी हैसियत पाएका प्रचण्डले अर्को बैठक मंसिर २३ गते डाके। त्यसपछि फेरि २७ गते डाकिएको बैठक स्थगित भयो।

मंसिर २९ गते प्रमको सरकारी निवास बालुवाटारमा नेकपा सचिवालय बैठक बस्यो। बैठकमा प्रधानमन्त्री ओली सहभागी थिए। बैठकले स्थायी कमिटी बैठकको एजेण्डा तय गरेको थियो।

एक साता चलेको स्थायी कमिटी बैठकमा प्रम ओली स्वास्थयका कारण सहभागी भएनन्। प्रम आराम गरिरहँदा प्रचण्डले एकल अध्यक्षतामा बैठक चलाए। आत्मालोचनासहित प्रस्तुत भएका अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उठेका प्रश्नहरुको जवाफ दिँदै बैठक समापन गरे।

त्यसपछिका सचिवालय बैठक दुवै अध्यक्षको अध्यक्षतामा हुँदै आएको छ। नेकपाको पछिल्लो सचिवालय बैठक गत आइतबार बसेको थियो। बैठकले प्रम ओली सोमबार अस्पताल भर्ना हुने र बुधबार मिर्गौला प्रत्यारोपण गर्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री अस्पतालमा रहेको एक साता बित्यो। यसबीचमा सचिवालय बैठक बसेको छैन। नेकपामा पार्टी एकताका केही काम टुंग्याउन बाँकी छ। नेताहरुले आन्तरिक तयारी समापन भइसकेको दावी गर्दै आएका छन्। यस्तोमा, प्रचण्डले कार्यकारी भूमिका निर्वाह गर्न सक्थे तर गरेनन्।

प्रचण्डको सचिवालयका अनुसार उनी आफैँ बिरामी छन्। रुघाखोकीले ग्रसित भएकाले पहिलेजस्तो भेटघाट गरेका छैनन्।

प्रचण्ड के गरिरहेका छन्? सचिवालयसँग एउटै जवाफ छ -आराम।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा 'जुगल'ले प्रचण्ड अस्वस्थ रहेको दाबी गरिरहँदा उनी आइतबार भने चितवन पुगेका थिए। बैवाहिक कार्यक्रममा सहभागी हुन चितवन पुगेका थिए उनी। त्यही क्रममा उनले नेकपा चितवनको सचिवालय बैठकमा सहभागिता पनि जनाए।

प्रचण्डको कुनै पनि 'मुभ'लाई ओली पक्षधरले शंकाको घेरामा राख्ने भएकाले देखिने गरी उनी कतै उपस्थित छैनन्।

त्यसो त पार्टीको सिंगो गतिविधि नै प्रचण्डले आराम गरेका कारण बन्द भएको होइन। प्रधानमन्त्री अस्वस्थ हुनु र कोरोना भाइरसप्रति सजगता अपनाउँदा पनि पार्टीका गतिविधि घटेको हो।

त्यसबाहेक अर्को कारण पनि हुनसक्ने तर्क छ। नेकपा केन्द्रीय सदस्य विष्णु रिजाल प्रमसँगै सल्लाह गरेर पार्टी बैठक डाक्नुपर्ने भएकाले पनि प्रचण्डले बैठक नबोलाएको हुनसक्ने तर्क अघि सार्छन्।

'पहिलेका बैठक दुई अध्यक्षबीच छलफल गरेरमात्र डाकिन्थ्यो। अहिले प्रमसँग चिकित्सकबाहेक अरुलाई भेट्न दिइएको छैन। अब केही दिनमा प्रधानमन्त्री डिस्चार्ज भएपछि बैठक बोलाउनुहोला,' रिजालले भने।

कारण वामदेव त होइनन्?

आफ्नै अध्यक्षतामा बसेको सचिवालय बैठकले गरेको निर्णय कार्यान्वयन नगर्ने प्रमको एकलौटी निर्णयका कारण पनि प्रचण्डले मौनता साँधेको बताउने पनि छन्। फागुन १४ गते दिउँसो ओली र प्रचण्डको संयुक्त अध्यक्षतामा बसेको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य सिफारिसका लागि सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो। त्यसको केही घण्‍टामा नै निर्णय कार्यान्वयन गर्न नसक्ने भन्दै ओलीले अडान लिएका थिए।

आफू संलग्न सचिवालय बैठकलाई नमान्ने ओलीको अडानले फेरि नेकपामा तरंग पैदा गर्‍यो। वामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने विषयले उब्जेको विवाद अझै सुल्टिएको छैन। बहुमत सचिवालय सदस्य ओलीको अडानप्रति रुष्ट छन्।

यता अध्यक्ष प्रचण्डले प्रम ओलीले सचिवालय बैठकको निर्णय मान्नैपर्ने बताउँदै आएका छन्। आइतबार पनि नेकपा चितवनको सचिवालय बैठकलाई सम्वोधन गर्दै प्रचण्डले प्रम अस्पतालबाट फर्किएपछि निर्णय कार्यान्वयन हुने दावी गरे।

'अर्का अध्यक्ष तथा प्रधानमन्त्री उपचारका लागि अस्पतालमा हुनुहुन्छ। त्यहाँबाट फर्केपछि निर्णय कार्यान्वयन हुन्छ। हामीले एकमत भएर उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेका हौं। त्यो कार्यान्वयन हुनेछ। त्यसमा दुइमत हुँदैन,' उनले भनेका छन्।

प्रधानमन्त्री ओली अस्पताल भर्ना भएको भोलिपल्ट उनलाई भेट्न प्रचण्ड अस्पताल पुगेका थिए। त्यसपछि भने उनी अस्पताल फर्किएका छैनन्। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले केही दिनमै बैठक बस्ने बताएका छन् जसको कुनै टुंगो छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell