
काठमाडौं : जातीय छुवाछुतको कसुरमा नेपाल सरकारका एक अधिकृत पक्राउ परेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हालै सरुवा भएका अधिकृत श्रीकृष्ण बिडारी मंगलवार पक्राउ परेका हुन्। बिडारीकी श्रीमती तीन दिनअघि नै पक्राउ परिसकेकी छन्।
बालाजु नेपालटारस्थित बिडारीको घरमा भाडामा बस्ने महिलाको उजुरीपछि उनी पक्राउ परेका हुन्। बिडारीमाथि घरमा बस्ने दलित महिलालाई पानी छोएको निहुँमा भेदभाव गरेको आरोप लगाइएको छ। विभेद गरेको, डेराबाट निकाल्न खोजेको आरोप बिडारीमाथि लगाइएको छ।
बिडारीकी श्रीमती तीन दिनअघि पक्राउ परे पनि उनी समातिएका थिएनन्। मंगलवार बिडारी स्वयं प्रहरीमा हाजिर भएका थिए। सोही क्रममा उनी नियन्त्रणमा परेका हुन्।
मंगलवार नै दलित समुदायबाट प्रतिनिधित्व गर्ने सांसदहरुले गृहमन्त्री रामबहादुर थापालाई घटनाबारे जानकारी गराएका थिए। बिडारीलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाउन पनि उनीहरुले माग गरेका थिए।