PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कोरोनाको कहर : अन्योलमा आइपिएल, बन्द स्टेडियमदेखि खेल सर्नेसम्मको चर्चा



पहिलोपोस्ट

कोरोनाको कहर : अन्योलमा आइपिएल, बन्द स्टेडियमदेखि खेल सर्नेसम्मको चर्चा

कोरोना भाइरसको बढ्दो प्रभावबाट खेलकुद क्षेत्र अछुतो छैन। विश्वभरको खेलकुद कोरोनाकै कारण प्रभावित छ। त्यसमा पनि इटाली र चीनमा खेलकुद बढी प्रभावित देखिन्छन्। नेपालमै पनि एभरेस्ट प्रिमियर लिग, विश्वकप फुटबलको छनोट लगायतका ठूला खेल गतिविधि कोरोनाकै कारण प्रभावित भइसकेका छन् भने राष्ट्रिय खेलकुद परिषद्ले नयाँ खेल गतिविधि आयोजना नगर्न समेत भनिसकेको छ।

विश्वभर खेल प्रभावित भइरहँदा क्रिकेट क्षेत्रको ठूलो फ्रेन्चाइज मानिने इन्डियन प्रिमियर लिग (आइपिएल) नजिकिँदै छ। भारतमा कोरोना संक्रमण पुष्टि भइसकेको अवस्थामा आइपिएलको मिति नजिकिँदै छ।

आइपिएलको खेल तालिका पछि सार्ने तयारी भइरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। आइपिएल यही २९ मार्चबाट सुरु हुने तालिका छ।

महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले आइपिएल लगायतका खेलका सबै ठूला गतिविधि रोकिने संकेत गरेका छन्।

‘मानिसको जीवन अनमोल छ। भीडभाडको क्षेत्रमा भाइरस फैलन सम्भावना अझ धेरै हुन्छ। त्यसैले आइपिएल लगायतका खेल गतिविधिहरूलाई पछि सार्ने बारेमा हामीले छलफल अघि बढाएका छौँ’ उनले भनेका छन्।

यद्यपि बिसिसिआईका अध्यक्ष सौरभ गांगुली भने आइपिएल गराउनु पर्ने पक्षमा देखिएका छन्। उनले मन्त्री टोपेको अभिव्यक्तिलाई संकेत गर्दै कोरोनाबाट बच्न आवश्यक सबै सावधानी अपनाउने बताएका छन्।

बिसिसिआईले कोरोनालाई नजिकबाट नियालिरहेकाले आइपिएल पछि सरेको खण्डमा पनि थप समय बाँकी रहने भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

बिजनेस स्टान्डर्डले बिसिसिआई आइपिएल रोक्ने पक्षमा नभई सुरक्षामा जोड दिने प्रयासमा रहेको दाबी गरेको छ। बिसिसिआईको स्रोतको हवाला दिँदै लेखेको छ, ‘बिसिसिआईले अतिरिक्त मेडिकल टिमहरू स्टेडियममा राख्ने छ। दर्शकलाई स्क्रिन्ड गरेर मात्र स्टेडियम प्रवेश गर्ने व्यवस्था गरिनेछ।’

त्यस्तै बन्द स्टेडियममा आइपिएल गराउने चर्चा पनि भारतीय मिडियामा व्याप्त छ। इन्डिया टुडेले आइपिएल बन्द स्टेडियममा खेलाएर टेलिभिजन वा डिजिटल प्लेटफर्ममा लाइभ स्ट्रिम गराउने भन्ने बहससमेत अघि रहेको दाबी गरेको छ।

यद्यपि बिसिसिआईका उच्च अधिकारीहरूले भने यो तर्क अस्वीकार गर्दै आएका छन्।

भारतमा कोरोना

पछिल्लो रिपोर्ट अनुसार कोरोनाबाट विश्वभर एक लाख १३ हजारभन्दा बढीमा संक्रमण भेटिएको छ। यसमध्ये चीनमा ८० हजारको हाराहारीमा संक्रमित छन्। भारतमा मात्र पछिल्लो समय ४४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। तर, कोरोनाका कारण भारतमा मृत्यु भएको घटना भने बाहिर आएको छैन। यसले आइपिएल के होला भन्ने बहस अघि बढाएको छ। कोरोनाकै कारण एक दिवसीय सिरिजका लागि भारत आउने साउथ अफ्रिकन टिमलाई पनि सावधानी अपनाउन भनिएको छ। यस क्रममा समर्थकहरूसँग सेल्फी लिने तथा भेट्ने लगायतका क्रियाकलाप नगर्न खेलाडीहरूलाई ब्रिफिङ गरिएको बताइएको छ।

त्यस्तै सिरिजको क्रममा खेलाडीहरूलाई हातसमेत सकेसम्म नमिलाउन भनिएको छ। भर्खरै मात्र इङ्ल्याण्डको टिमले श्रीलंका भ्रमणको क्रममा हात नमिलाउने निर्णय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell